एकाएक किन लखेटिए अर्थ सचिव ?

एकाएक किन लखेटिए अर्थ सचिव ?
सुन्नुहोस्

आगामी आर्थिक वर्षको बजेट तयारी शुरु हुनै लाग्दा एकाएक अर्थ सचिव हेरफेर गरिएपछि जनार्दन शर्माको पालामा जस्तै हुने हो कि भन्ने आशंका बढेको छ । 

गत मंगलबार बसेको क्याबिनेट बैठकले अर्थसचिव डाक्टर रामप्रसाद घिमिरेलाई राष्ट्रपति कार्यालय पठाएर उनको ठाउँमा घनश्याम उपाध्यायलाई ल्याउने निर्णय गरेको थियो । गत साउनमा अर्थ सचिवको जिम्मेवारी पाएका उनलाई ६ महिना नपुग्दै त्यहाँबाट धपाइनुमा सरकारसँग मिलेर करमा चलखेल गर्ने व्यापारिक घरानाको खेलोफड्को मुख्य कारण ठानिएको छ । 

उच्च जानकार स्रोतको दावीअनुसार सरुवाको केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर छुटका लागि घिमिरेलाई घुमाउरो दबाब दिएका थिए । प्रधानमन्त्री र अर्थमन्त्रीको दबाबका बाबजुद उनले कर छुटको निर्णय गरेनन् । सार्वभौम संसदमा आफूजस्तै सांसदले सोधेको प्रश्नको जवाफ नदिने तहमा इगो पाल्ने प्रधानमन्त्री ओलीका लागि कर्मचारीले अटेर गरेको विषय सह्य भएन । र, लगत्तैको क्याबिनेट बैठकबाट अर्थ सचिव हेरफेरको निर्णय गरियो । 

'विदेशबाट पिएचडी गरेका अर्थतन्त्रका ज्ञातालाई राष्ट्रपति कार्यालयमा थन्क्याएर अर्थबाहिरका व्यक्तिलाई ढुकुटीको साँचो जिम्मा लगाउनुका पछाडि ठूलै चलखेल छ ।'

यसबारे थप खुलाउन नचाहेको स्रोत भन्छ, 'विदेशबाट पिएचडी गरेका अर्थतन्त्रका ज्ञातालाई राष्ट्रपति कार्यालयमा थन्क्याएर अर्थबाहिरका व्यक्तिलाई ढुकुटीको साँचो जिम्मा लगाउनुका पछाडि ठूलै चलखेल छ ।'

एमाले निकट नभए पनि प्रधानमन्त्रीको रोजाइमा अर्थ सचिव बनाइएका उपाध्याय अर्थतन्त्रका ठूला जानकार होइनन् । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिव रहेका उनी त्यसअघि श्रम मन्त्रालयमा थिए । बागमती प्रदेशको प्रमुख सचिवका रूपमा समेत काम गरेका उपाध्याय गृह मन्त्रालयअन्तर्गत काठमाडौँ र ललितपुरको सिडिओ भए  । 

घिमिरे भने साउनमा अर्थ सचिव हुनुअघि अर्थ मन्त्रालयमै राजस्व सचिव थिए । आन्तरिक राजस्वको सचिव भएर काम गरेको अनुभव पनि उनीसँग छ ।

टिप्पणीहरू