नेकपा एसले परपुरुष तथा परस्त्रीसँग लहसिनेलाई नछोड्ने

नेकपा एसले परपुरुष तथा परस्त्रीसँग लहसिनेलाई नछोड्ने
सुन्नुहोस्

नेकपा (एकीकृत समाजवादी)ले नेता-कार्यकर्ताका लागि १३ बुँदे आचारसंहिता तय गरेको छ । आजदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले आचारसंहित प्रस्ताव गर्नुभएको हो । 

पार्टीले अंगालेको बिचार, नीति र सिद्धान्त अनुसारको आचरण र व्यवहारका लागि भन्दै अघि सारिएको आचारसंहितामा नेता-कार्यकर्ताको आर्थिक र नैतिक आचरण शुद्ध हुनुपर्नेमा जोड दिइएको छ । त्यस्तै, नेता तथा कार्यकर्ताको खानपान, रहनसहन, उठबस सरल र सामान्य हुनुपर्ने उल्लेख गरिएको छ ।

परपुरुष तथा परस्त्रीसँग शारीरिक सम्बन्ध राख्ने पार्टीको जो कोही नेता-कार्यकर्तालाई तत्काल कारवाही गरिने प्रस्तावित आचारसंहितामा छ । ‘परपुरुष-परस्त्रीसँग शारीरिक सम्बन्ध राख्ने र विवाहपूर्व तथा वैवाहिक सम्बन्धबाहिर शारीरिक सम्बन्ध राख्ने कार्य अनैतिक मानिन्छ’, भनिएको छ, ‘कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताले यस्तो हर्कत गर्नु हुँदैन, महिलाप्रति एकनिष्ठताको व्यवहार गर्नुपर्छ ।’

पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले प्रस्ताव गरेको आचारसंहितामा नेता तथा कार्यकर्ताले कहिँकतै बोल्दा शब्द चयनमा ध्यान दिनुपर्ने उल्लेख छ । ‘बोल्दा अश्लील र अपशब्द प्रयोग गर्नु हुँदैन । कुनै वर्ग, जाती, समुदाय, लिंग, क्षेत्र, धर्म र संस्कृतिको मर्यादा र गरिमामा आँच पुग्नेगरी अभिव्यक्ति दिनु हुँदैन’, भनिएको छ । 

कम्युनिष्ट पार्टीमा फरक मत राख्ने अधिकार भए पनि पार्टीको आन्तरिक छलफलमा राख्नुपर्ने कुरा आचारसंहितामा समावेश गरिएको छ । 

पार्टीको निर्णयविरुद्ध बोल्नेलाई कारवाही गरिने बताउँदै प्रस्तावित आचारसंहितामा लेखिएको छ, ‘आफ्नो फरक मत वा धारणा भए पनि पार्टीको निर्णयलाई अवज्ञा गर्न पाइँदैन । पार्टीको निर्णय मान्नुपर्छ र लागु गर्नुपर्छ । यही हो जनवाद र अनुशासनको सन्तुलन वा सीमा । यसको सीमाभित्र रहनु सबैको कर्तव्य हो, सीमा नाघ्नु दण्डनीय हुन्छ ।’

 

टिप्पणीहरू