पैसा नपाएपछि राप्ती प्रतिष्ठानमा उपचार ठप्प
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतका विरामीहरुको उपचार रोक्ने निर्णय गरेकाे छ ।
विरामीको उपचारवापत् खर्च दायित्व बढिरहेको, तर बीमा बोर्डले भुक्तानी गर्न चासो नदेखाएको भन्दै प्रतिष्ठाले आज ‘अन्यन्त जरुरी सूचना’ निकालेर उपचार सेवा स्थगित गरेको जानकारी गराएको छ । बोर्डले ११ करोडभन्दा बढी रकम भुक्तानी नगर्दा प्रतिष्ठान ऋणमा फस्दै गएको सूचनामा उल्लेख छ ।
प्रतिष्ठानका निमित्त निर्देशक डा. जनार्दन पन्थीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ,‘...बीमा बोर्डबाट उक्त रकमको भुक्तानी कहिले हुने भन्ने अनिश्चित रहेको हुँदा सर्वसाधारण तथा सरोकारवालाहरुलाई फागुन १८ गतेदेखि बीमाअन्र्तगतको औषधी वितरण तीन महिनाबाट एक हप्तामा सिमित गरिने, प्रयोगशाला तथा रेडियोलोजीका जाँचहरु स्थगन गरिने व्यहोरा सूचित गरिन्छ ।’
विरामीको चाप बढ्दै गएपछि औषधी तथा उपचारको खर्च बढिरहेको र प्रतिष्ठान धान्न नसक्ने अवस्थामा पुगेको पनि पत्रमा जानकारी गराइएको छ ।
उता बीमा बोर्डका कार्यकारी निर्देशक डा. सरोज शर्माले भने प्रतिष्ठानलाई गर्नुपर्ने भुक्तानीबारे केही जानकारी नभएको बताएका छन् । प्रतिष्ठानको सूचनाबारे बेखबर रहेको बताउँदै उनले भने, ‘भुक्तानी बाँकी छ कि छैन, त्यो मलाई थाहा छैन । मैलै नि बुझ्नुपर्छ । प्रतिष्ठानले सेवा रोकेको पनि थाहा छैन, अहिले बाहिर एउटा बैठकमा छु ।’
टिप्पणीहरू