कसको खल्ती भर्न बन्दैछ यो पुल ?

कसको खल्ती भर्न बन्दैछ यो पुल ?

स्थानीयको आवश्यकता र जनप्रतिनिधिको माग बिना नै बुटवल उपमहानगरपालिका वार्ड नं. १२ र १५ बीच तिनाउ नदीमाथि झोलुङ्गे पुल निर्माण गर्न लागिएको छ । लुम्बिनी प्रदेशको योजना आयोगबाट बहुबर्षीय रुपमा स्वीकृत भएको झोलुङ्गे पुल निर्माण हुने ठाउँभन्दा पूर्वतिर ७ सय मिटरमा र पश्चिमतिर ५ सय मिटरमा पक्की मोटरेबल पुल रहेका छन् ।

तर केही जग्गा ब्यापारीको स्वार्थका लागि बन्न लागेको पुल एउटा विद्यालय देखाएर सडक मापदण्ड बिपरित निर्माण सम्झौता भएको हो । जक्सन निर्माण सेवा एण्ड सप्लायर्स प्रा.लि. रुकुम सिस्नेले १ करोड ७७ लाख रुपैयाँमा बनाउने जिम्मा पाएको छ । 

लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार सडक डिभिजन कार्यालयले पुलसम्बन्धि सरकारी निर्देशिकाबिपरित टेण्डर सम्झौता गरिसकेको छ । स्थानीयले माग गरेका कारण योजना परेको र पुल निर्माणको सम्झौता भएको कार्यालयका वरिष्ठ इञ्जिनियर लालु गिरीले बताए ।

कार्यविधिअनुसार पुल रहेको एक किलोमिटर दूरीभित्र अन्य कुनै पनि पुल निर्माण गर्न पाइँदैन । मापदण्डविपरित बनाउन लागिएको झोलुङ्गे पुल प्रस्तावित तिनाउ–दानव कोरिडोरमा पर्दछ । कोरिडोर सडक बनेपछि बन्न लागेको झोलुङ्गे पुल खोलामै पर्ने भएकाले प्रयोगमा आउने कुनै संभावना पनि देखिँदैन । कोरिडोर सडक निर्माण भएपछि झोलुङ्गे पुल भत्काउनु पर्ने हुन्छ । 

उक्त क्षेत्रबाट प्रदेशसभा सदस्य तुल्सी चौधरी आवश्यकताभन्दा पनि पहुँचका भरमा पुल बन्न लागेको बताउँछन् । बजेट छुट्टिएको छ भन्ने थाहा पाएर टेण्डर निकाल्नुअघि नै आफूले खबरदारी गरेको जानकारी दिँदै चौधरी भन्छन्– ‘खोइ, कसरी बन्न लाग्यो थाहा भएन, हामीले त सचेत गराएकै हो । खेलोमेलो बुझ्न सकिएन ।’ 

अर्का प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ कोरिडोर सडक बन्दा भत्काउनु पर्ने झोलुङ्गे पुल खोइ कसरी बन्न लागेको हो थाहा नभएको बताउँछन् । पाँच सात सय मीटरमा दुवैतिर पुल हुँदाहुँदै पनि बन्न लागेको झोलुङ्गे पुल रातो किताबमा राखेअनुसार त्रुटीपूर्ण रहेको श्रेष्ठले दावी गरे । 

प्रदेशमा बजेट नभएर धेरै महत्वपूर्ण योजना अघि बढ्न सकेका छैनन् । तर यसरी बजेटको दुरुपयोग हुनु लाजमर्दो कुरा हो । आवश्यकता नभएकै कारण गत असारमा सम्झौता भएर पनि अहिलेसम्म निर्माण कार्य शुरु हुन सकेको छैन । श्रोतका अनुसार मापदण्डबिपरित बनाउन लागिएको झोलुङ्गे पुलको बिषयमा अख्तियारमा उजुरी समेत परेको छ । 
 

टिप्पणीहरू