वडा नम्बर आठ, बालेनको भरपुर साथ

वडा नम्बर आठ, बालेनको भरपुर साथ

काम चलिरहेको संरचना भत्काउने, महानगरबासीले तिरेको कर नयाँ निर्माणमा खन्याउने ! काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साह निर्वाचित भएदेखि चलिरहेको धन्दा हो यो । भौतिक पूर्वाधार निर्माणको नाममा महानगरवासीले तिरेको करको चरम दुरूपयोग भइरहेको पाइएको पाइएको छ । 

यता, वडाध्यक्षहरू पनि मेयरकै बाटोमा हिँडेका छन् । उनीहरू पुरानो भत्काउँदै नयाँ निर्माण गर्नतर्फ उन्मुख छन् । निर्माण सम्पन्न भएको केही वर्षमात्रै बितेको संरचना भत्काएर नयाँ बनाउन मेयरले वडाध्यक्षहरूलाई हौस्याएका छन् । यी सब केका लागि ? 

स्रोतका अनुसार परम्परागत शैलीको शहर बनाउने नाममा पैसा पानीझैं बगाइएको छ । ८ का वडाध्यक्ष आशामान संगतलाई बालेनको सबैभन्दा बढी साथ छ । केही समयअघि महानगरका कम्प्युटर अपरेटरको नेतृत्वमा जर्मन घुम्न पाउने भाग्यमानी वडाध्यक्षमा पर्छन्, संगत । नेपाली कांग्रेसबाट निर्वाचित उनको स्वभाव कडा खालको छ । सम्पदा तथा पर्यटन समितिको संयोजकसमेत रहेका संगतले भत्काउने हरेक कामको नेतृत्व गर्छन् । तर, कुनै पनि कार्यक्रम विवादमुक्त तवरले सम्पन्न हुन सकेको छैन । चाहे त्यो वसन्तपुर डबलीमा प्रस्तुत गरिएको अर्केष्ट्रा होस्, चाहे स्थानीय बाजा भन्दै कोटेशनमा दिइने पाँच लाख रुपैयाँँ बजेटको तालिम । 

विवाद बढेपछि बालेनले सम्पदा विभाग प्रमुख श्रुजु प्रधानलाई प्रशासन शाखामा सरुवा गरिदिएका छन् । सम्पदाका सम्पूर्ण कार्यक्रमको नेतृत्व प्रधानले नै गर्छिन् । जबकि, वर्तमान प्रमुख कुमारी राईले ती कार्यक्रम सञ्चालन गर्नुपर्ने हो । 

प्रधानमाथि संगतले कृपा बर्साएकाले राई दबिन बाध्य भएको स्रोतको जिकिर छ । अर्कोतर्फ हरेक शनिबार वडा नम्बर ५, हाँडीगाउँमा हुने मेलाको सम्पूर्ण बन्दोबस्त पनि प्रधानले नै गर्दै आएकी छन् । वडामा ‘स्वच्छ हावा’ नामक अमेरिकी परियोजना सञ्चालित छ । जसको अमेरिकन कन्सल्टेण्ट प्रधानका श्रीमान् हुन् । सो कार्य पनि संगतकै मातहत छ । 

हाल वडा नम्बर ८ स्थित जयबागेश्वरी सिफलको सेतो ढोका संगतले पुरानो भत्काएर नयाँ बनाउन लगाएका छन् । ढोका निर्माणको ठेक्का स्ट्याण्डर्ड अस्फल्ट एण्ड कन्स्ट्रक्सन कम्पनी प्रालिले पाएको छ । मंसिर २३ गतेदेखि थालिएको काम एक वर्षमा सकाइसक्नुपर्नेगरी सम्झौता भएको छ ।

भ्याट र पिएसबाहेक ४४ लाख ३८ हजार २१८ रुपैयाँँ खर्च गरेर नयाँ ढोका बनाउनु पछाडिको कारण भत्किएर वा जोखिम भएर होइन । राम्रै ढोका भत्काएर अर्को बनाउन थालिएको हो । सो ढोका भत्काएकोमा स्थानीय पनि रुष्ट छन् । एक स्थानीयले भने, ‘वडाध्यक्षले राम्रो काम गरेको छु भनी देखाउनका लागि भत्काएका होलान् । नत्र राम्रो ढोका थियो, भत्काउनुपर्ने आवश्यकता किन प¥यो ?’ त्यहाँ मात्र नभएर अन्य धेरै स्थानमा सो प्रवृत्ति देखिएको छ । पुरानो भत्काउँदै नयाँ बनाउनुको मुख्य उद्देश्य कमिसन नै रहेको महानगरको सार्वजनिक निर्माण विभागका इञ्जिनियरहरू बताउँछन् । 

एक इञ्जिनियर भन्छन्, ‘मेयरको निर्देशनमा संरचना भत्काइन्छ । पुरानो भत्काउँदै नयाँ बनाउनुको मुख्य उद्देश्य खानपिन नै हो । कमिसनका लागि चाहिने–नचाहिने ठाउँमा खर्च गरिएको छ ।’ मेयरको दाहिने हात भएर हिँडेका संगतलाई ५८ लाखको गाडी दिइएको छ । हिँडेर एक घण्टामा घुम्न सकिने वडा प्रमुखलाई महंगो गाडी दिइएपछि अन्य जनप्रतिनिधिले प्रश्न उठाएका छन् । 

बाहिर नदेखिने र भित्रभित्रबाटै खर्च उठाउने मेयरको सिको सिकेका उनले आफ्नो ज्वाइँमार्फत बटुल्ने स्रोतको दाबी छ । यसको प्रमाण बालेनको सचिवालयसँग छ । तर, मेयरले उनीमाथि कारबाही गरेका छैनन् । उल्टै निर्माणको नाममा बजेट थपिदिँदै आएका छन् । जसका कारण महानगरभित्र एउटा थेगो व्यापक चर्चामा छ, ‘वडा नम्बर आठ, मेयर बालेनको साथ ।’

यता, संगतले भने परम्परागत शैलीको ढोका बनाउनका लागि पुरानो ढोका भत्काइएको बताए । सो क्षेत्रलाई परम्परागत शैलीमा बदल्न लागिएको जानकारी दिए । ‘पुरानो भन्दा पनि हामीले परम्परागत शैलीको ढोका बनाउन खोजेका हौं । पहिले सिमेण्टको ढोका थियो । अन्य धेरै स्थानमा निर्माणको काम गरिरहेका छौँ । सेतो ढोका नजिकै फल्चा निर्माणको काम भइरहेको छ’, उनले भने । 
 

टिप्पणीहरू