अमेरिकामा समातिएका थापाबारे रास्वपाको अर्कै प्रतिक्रिया

अमेरिकामा समातिएका थापाबारे रास्वपाको अर्कै प्रतिक्रिया

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेको घटनमा घुमाउरो बचाऊ गरेको छ ।  

सभापति रवि लामिछानेको ‘आर्थिक व्यवस्थापक’ भनी चिनिएका थापा नेपालबाट अमेरिका फर्किनेक्रममा पेन्सिल्भेनिया अन्तराष्ट्रिय विमानस्थलबाट समातिएका थिए । पक्राउ परेको एक सातासम्म घटना गुपचुप राखिएकोमा आज एकाएक बाहिर आएपछि रास्वपाले बचाउमा प्रतिक्रिया दिएको हो । 

कार्यवाहक प्रवक्ता मनिष झाले केन्द्रीय सदस्यको जिमेवारीबाट बाहिर रहन थापाले यसअघि नै पार्टीमा निवेदन दिएको बताए । 'मोहन थापाजीले यस अगावै नै 'आफूले केही व्यक्तिगत कानुनी प्रक्रियाहरु स्पस्ट र समाधान गर्नु छ र सो किनारा नलागेसम्मको लागि आफू केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहन' निवेदन दिएर जानुभएको थियो', उनले भनेका छन् ।

रास्वपा केन्द्रीय सदस्य थापा आफैँमा विवादित पात्र हुन् । उनी अमेरिकामा पटक-पटक कारवाहीमा परेका थिए । बिए ०१४९५६२ राहदानी भएका उनको अमेरिका, जापानसहित विभिन्न देशको वैदेशिक यात्रासमेत अस्वभाविक रहेको स्रोत बताउँछ । 

रविको गृहमन्त्रीकालमा प्रहरी अधिकृतहरुको सरुवा-बढुवामा बार्गेनिङ गरेको आरोपसमेत उनीमाथि थियो । म्याग्दी घर भएका उनी गत असोज २४ गते नेपाल आएका थिए । सहकारी काण्डमा समातिएका सभापतिको बचाऊमा रास्वपा कार्यकर्ताले गरेको सडक प्रदर्शनमा स्रोत व्यवस्थापन थापाले नै गरेको बताइन्छ । 

मंसिर २१ गते जापान गएर ८ दिनपछि पुनः नेपाल फर्किएका थापा नेपालमै पक्राउ पर्ने धेरैको अनुमान थियो । तर, यताबाट फर्किएका उनी एयरपोर्टमा समातिए र अहिले फिलाडेल्फियास्थित प्रहरी हिरासतमा रहेको अमेरिकाबाट सञ्चालित नेपाली भाषी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

टिप्पणीहरू