माइतीघरबाट धर्नाकारीको र्याली एमाले अफिसतिर

माइतीघरबाट धर्नाकारीको र्याली एमाले अफिसतिर
सुन्नुहोस्

एक महिनादेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका स्वर्गद्वारी गुठी पीडितहरु आज र्याली गर्दै सत्तारुढ नेकपा एमालेको केन्द्रीय कार्यालय पुग्ने भएका छन् । 

दाङ देउखुरीबाट आएर गौशालास्थित पशुपति धर्मशालामा बसेका र माघ २० गतेदेखि सडक संघर्ष गरिरहेका उनीहरु माइतीघर मण्डलामा केहीबेर प्रदर्शन गरी त्यतैबाट एमाले मुख्यालय च्यासल पुग्ने कार्यक्रम छ । पशुपति धर्मशालाबाट गौशाला, रातोपुल करिडोर, सेतोपुल, अनामनगर, बिजुलीबजार हुँदै उनीहरु माइतीघर आइपुगेका छन् । 

स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिका सदस्य खुशीराम चौधरीको नेतृत्वमा नाराबाजीसहित धर्नामा बसिरहेका उनीहरु एक घण्टापछि र्यालीसहित च्यासल जाने बुझिएको छ । स्वर्गद्वारी आश्रमको जग्गा मोहियानी हकअनुसार पाउनुपर्ने संघर्ष समितिको माग छ । 

त्यसअनुसार कानुन बनाउन सरकार र सरोकारवालाहरुलाई ध्यानाकर्षण गराए पनि वेवास्ता गरिएको पीडितको दु:खेसो छ । सरकारले विगतमा गरेको सहमति पालना नगरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

टिप्पणीहरू