शिलान्यास र उद्घाटनको उद्घाटन !

शिलान्यास र उद्घाटनको उद्घाटन !

बयान –१
आगो लाग्न शुरु गरेपछि इनार खन्ने सल्लाह गर्न थाले के हुन्छ ? नेपाली जनबोलीमा यसलाई ‘सल्लाह गर्दागर्दै सात गाउँ जले’ भनेर कटाक्ष गरिन्छ । आगोले पोल्छ वा दुखाउँछ र पानीले डुबाउँछ वा बगाउँछ भनेर थाहा नपाएको भए त मानिसले आगोमा जलेर वा डुबेर नै ज्यान गुमाउने थिए । प्रश्न गर्न सकिन्छ, यो थाहा पाएर पनि मानिसको जीवन अमर नै त कहाँ भएको छ र ? आगो र पानी मानिसको जीवनका दैन्नदिन अनिवार्य स्रोत हुन् तर यी स्रोत जति उपयोगी छन्, त्यति नै जोखिमपूर्ण पनि ।

उद्घाटन अर्थमा र सन्देशमा फरक बुझिने शब्द हो । उद्घाटन, कुनै पनि प्रश्नको जानकारी दिनु, अज्ञात रहेको वा रहस्यमा रहेको विषयको खुलासा÷पर्दाफास हुनु उद्घाटन हुनु वा गर्नु हो । उद्घाटनको यो सन्दर्भ समाज विकास निर्माणका कामहरूको प्रगति र प्रयोगका लागि गरिने औपचारिक गतिविधि हो । सामाजिक नै मात्र किन व्यक्तिगत जीवनका गतिविधिको पनि उद्घाटन हुन र गर्न सकिन्छ । खाना खानुको पहिलो गाँस होस् वा कफी र ह्विस्कीको पहिलो चुस्की पनि यसको उद्घाटन हो । यी काम हामी हरेक साँझ बिहान गर्छौं । अरू पनि धेरै उदाहरण दिन–लिन र बुझ्न हामी स्वतन्त्र छौं । कोही व्यक्ति जुनदिन जन्मँदैछ, त्यो उसको जीवनको उद्घाटन हो । यी भए कुरा र कुलोको कुरा, जता लगे पनि भयो ! अब लागौं शिलान्यास वा उद्घाटनतर्फ, जुन हामी किन गर्छौं र कसरी गर्छौं ?

बयान –२

पोखरा पर्यटन महोत्सवको उद्घाटनका क्रममा उपप्रधानमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य दुर्घटनामा परेर घाइते हुनुभयो । सन्दर्भ दुःखद हो, यस्तो हुनुहुन्नथ्यो । तर यो पाठ सिक्न र सच्याउन सकिने उदाहरण हो । गत हप्ता यता राजधानीमा घाइतेहरूको अवस्था अवलोकन गरेर फर्कनु भएका प्रधानमन्त्री केपी ओली उता दाङमा एक वर्ष पहिले नै सञ्चालनमा आएको एमाले नेतृको होटल–रिसोर्टको रिवन काट्दै हुनहुन्थ्यो । पार्टीका नेता र कार्यकर्ताको क्याटेगोरीमा ‘आइते–ल्याइते’हरूको बा’ले अलिक धेरै ख्याल गर्नुहुन्छ भन्ने गुनासो सुनिन्छ । गृहमन्त्री रमेश लेखक पनि हेटौंडामा व्यापार तथा निर्माण सम्बन्धित अर्को महोत्सव उद्घाटन गर्दै हुनुहुन्थ्यो गत हप्ता ।

उदघाटनका अनेक अन्तर्य हुनसक्छन् । ती स्वाभाविक र सामान्यदेखि स्वार्थ समूहका सेटिङ र सिन्डिकेट हुने गर्छन् । विशेषतः नेताहरू र तिनका कार्यकर्ताको उद्देश्य शिलालेख लेखाउन सस्तो प्रचार गर्ने र आफ्ना प्रगति विवरण देखाउने, चुनावी मुद्दा बनाएर मतदाता आकर्षित गर्ने हुन् । प्रधानमन्त्री ओलीले सिंहदरवारको कन्ट्रोल रुममा बसेर देशैभरि पालिकास्तरका स्वास्थ्य चौकी र सडकहरूको शिलान्यास गर्नु भएको थियो । ती सडक तथा स्वास्थ्य चौकी कहिले, कसरी र कसले बनाउने हो यकिन छैन । शिलालेखमा नाम लेखाउने यो शिलान्यासको अन्तरसम्बन्ध कहाँ छ भनेर बुझ्न सकिन्छ ।

महाभूकम्पले ढलेको धरहरा ४० प्रतिशत निर्माण कार्य बाँकी हुँदै ओलीले नै उद्घाटन गर्नुभएको थियो । मेलम्ची खानेपानी सम्भवतः राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायतले सबैभन्दा धेरैपटक उद्घाटन गरेको योजना हो । पत्रकार रविन्द्र घिमिरेले अनलाइन खबरमा लेखेका छन्– ‘प्रधानमन्त्री ओलीले पद धरापमा परेपछि काम नसकिएका यी परियोजनाहरू उद्घाटन गरेका थिए ।’ मेलम्ची र धरहरा उद्घाटनपछिको निर्माणमा २ अर्बभन्दा धेरै बजेट खर्च हुन बाँकी थियो । त्यो रकम पूर्वनिर्धारित बजेटभन्दा कम खर्चमा निर्माण सम्पन्न भएर बाँकी भएको होइन । स्मरणीय छ, ११ वैशाख २०७८ मा तत्कालीन प्रधानमन्त्री ओलीले तामझामसाथ उद्घाटन गरेको धरहरा निर्माण तीन वर्ष बित्दा पनि पूरा हुन सकेको थिएन । निर्माण कार्य सुचारू राख्न उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीको नाम लेखिएको शिलालेख केही महिना झिकेर स्टोरमा थन्काउनु परेको थियो ।

बयान– ३

यस्तो लाग्छ, हाम्रा नेता र सरकारका प्रतिनिधिहरू हातमा कैंची, गोजीमा रिबन र झोलामा खादा बोकेर हिँड्नुहुन्छ । यस्तो एउटा दृश्य थियो, प्रतिनिधिसभाको कुनै नियमित कार्यविधिको परिणाम सुनाउँदा केही महिला माननीयले झोलाबाट खादा झिकेर एक अर्काको गलामा झुण्ड्याइदिँदै हुनुहुन्थ्यो । माननीयज्यूहरूको पोल्टाका यी खादा–माला सुरक्षा मापदण्डभित्रकै वस्तु होलान् तर निर्धारित कार्यक्रम बाहिरका हुन् । निर्धारित कार्यक्रम बाहिरका गतिविधिहरू सुरक्षा मापदण्डका निम्ति चुनौती हुन् ।

केही वर्ष पहिले तत्कालिन प्रधानमन्त्रीका रूपमा प्रचण्ड भन्दै हुनुहुन्थ्यो– ‘मन त मान्दै मान्दैन तर शिलान्यास र उद्घघाटनका कार्यक्रमा नगई हुँदैन ।’ प्रचण्डले आफूलाई संसदमा निर्वाचित गरेको गोरखा राज्यका विस्तारवादी राजाको गृहभूमिमा के कति शिलान्यास र उद्घाटन गरिसक्नुभयो, ती सूचना एकीकृत हुँदै होलान् । प्रचण्ड यसै महिनाको पहिलो हप्ता गुल्मीमा व्यस्त हुनुहुन्थ्यो, कारण थियो– मन नमाने पनि ज्यान पुर्‍याउनैपर्ने बाध्यता । उहाँले हेलिप्याड, पिस पार्क, प्रशासकीय भवन, शहीद पार्क आदिको शिलान्यास र उद्घाटन गर्नुभयो । यस मामलामा एकाघरका भएर शेरबहादुर देउवा धेरै भाग्यमानी हुनुहुन्छ । त्यो भाग्य हो, परराष्ट्रमन्त्री आरजु राणाको संघीय सांसदमा टिके होइन जनताको मतबाट निर्वाचित हुने रहर ! टिके भन्नेहरूलाई देखाउनै पर्ने बाध्यता छ उहाँलाई ।

उपप्रधानमन्त्री राणा गत माघ महिनाको अन्तिम साता धनगढीमा निक्कै व्यस्त हुनुभयो । प्रम प्रचण्ड उता र राणा यता भइदिएको भए पुर्खाको नासोको नाता पनि रहने थियो तर त्यो मिलेन । राणाले धनगढी आसपासमा पक्की–झोलुङ्गे पुल, विद्यालयका नवनिर्मित भवन, प्रशासकीय भवन आदीको आधा दर्जन शिलान्यास र उद्घाटन गर्नु भयो । राणा यति सक्रिय नभइदिने हो भने यो सबै अभिभारा देउवाको काँधमा आइलाग्थ्यो । उस्तै परे प्रम ओलीले सिंहदरवारकै कन्ट्रोल रुमबाट बटम थिचिदिन सक्नु सक्थ्यो ! यो लैला मजुनको उदाहरणीय जोडी राजा र रैतीको नमुना प्रेम हो !

उद्घाटन र शिलान्यासको विकृति र विवाद कतिसम्म छ भने केन्द्रीय सरकारको नेतृत्वमा रहेकाहरूले सरकारी बजेटमा नै विशेष गरी सेनाका वायुयान प्रयोग गर्छन् । संघीय वा प्रदेश सांसदहरूले सम्बन्धित योजनाहरूकै खर्च कटाएर वा स्थानीय निकायहरूको बजेटमा यात्रा गर्छन् । सरकारले अध्यादेशमार्फत् जारी गरेका केही ऐनको सर्वत्र विरोध भइरहेकै छ र ती अध्यादेश संसदले पास गर्ने यकिन नहुँदै केही मन्त्री र अध्यादेशले समेटेका निकायका प्रमुखहरूले अध्यादेशको व्यवस्थामा टेकेर उदघाटन र शिलान्यास गरिसके । यो नगरे हुन्थ्यो तर त्यो पर्दैन भन्दैन ऐनले !

७७ वटै जिल्लाका सबै पालिकामा शिलान्यास वा उद्घाटनको रेकर्ड राखिसक्नु भएका ओलीले गत मंसिरमा उद्घाटन गर्नुभएको झापाको दमकको ‘बहुमुखी टावर’को नक्सा नगरपालिकाबाट पास गरिएकै छैन । यसो त प्रम ओलीका भागमा विधिकै विधान यस्तो छ, सातपटक प्रधानमन्त्री हुने भाग्य भएका शेरबहादुर देउवाले भाग्यमा लेखिएको त्यो अवसर गुमाउन सक्ने खतरा छ तर ओलीले शिलान्यास भएको करिब ५१ वर्षपछि २०७५ मा झापाको भद्रपुरस्थित मेची पुलको उद्घाटन गर्ने मौका पाउनुभयो । वि.सं २००९ सालको आसपासबाट यो पुल निर्माणका लागि प्रयास हुन थालेको थियो । तत्कालीन अञ्चलाधीश मनमोहन मिश्रले २०२४, तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले २०४१ र तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारले २०६६ मा सो पुलको शिलान्यास गर्नुभएको थियो । यस्तो रेकर्डको संयोग अरूलाई नमिल्न सक्छ । प्रम ओलीले यस्ता धेरै रेकर्ड राख्नुभएको छ, तीमध्ये अभिलेखीकरण हुन बाँकी छ– ‘पृथ्वीनारायण शाहले शुरु गरेर तिनका भाइ भारदारले थपघट र गडबड गर्दै थाती रहेको नेपाल एकीकरणको अधुरो कामलाई पूर्णता दिने प्रधानमन्त्री ओली हुनुहुन्छ !’ सिंहदरवारको आइटी कन्ट्रोल रुममा चुच्चे नक्साको अनावरण गर्नुभएका ओलीले त्यस भूगोलको प्रवेश मार्गको सडकको शिलान्यास कन्ट्रोल रुमबाट गरिसक्नुभएको छ । सम्भवतः सडक उद्घाटन गर्ने अवसर त्यही भूगोलका दुःख–सुखका ‘यार’ देउवालाई दिनुहुनेछ ! राणाले देउवालाई साह्रो गाह्रोमा भोलि पनि सघाउनु नै हुन्छ ।

बयान – ४

उद्घाटन नामको यो दौड र मोह शक्तिको आडमा कीर्ति कायम गर्ने र शिलालेख लेखाउने महत्वाकांक्षाको ‘प्रेतात्मा’ हो । आफूसँग सम्बन्ध नै नभएका धर्तीका सबै इँटामा नाम कुँदाएर बाँकी सबैलाई गिज्याउने ‘अहम्’को भूत सवार हो । देशको विद्यमान शासन प्रणाली र संरचना अर्थात् संघीय लोकतान्त्रिक गणतन्त्रमा नवराजाको अभ्यास हो । संघीयताको अभ्यास, स्थानीयताको अधिकारलाई केन्द्रीय सत्ताको गोजीमा खाँदेर वडास्तरका विकाश निर्माणका इँटामा नाम कुदाउने रहर आत्मरतिको असाध्य रोग हो । यस रोगका सम्बन्धमा विकास विज्ञ सूर्यराज आचार्यले लेख्नुभएको छ– सरकारी संरचना÷भवनको उद्घाटन गर्दा उद्घाटन गर्नेको नाम लेख्न नपाउने आदेशका लागि अदालतमा रिट हाल्न मिल्दैन ? यो राज्यको कुन कार्यविधिमा तोकिएको छ ? कति केसमा शिलालेखमा नाम भएका नेता जेल पुगेका छन् ! नाम लेख्न नपाउन् भन्ने ‘सानो’ आदेश आउँदा यसले ठूलो काम गथ्र्यो ।’ यसको उपचार गर्न ढिला भइसकेको छ ।

नेपाली राजनीति र सामाजिक जीवनको नेतृत्वमा रहेकाहरूलाई नियतीले अरुको खेताला बनाएर यति धेरै नचाइरहेको छ कि मानौं उनीहरू बँधुवा मजदुर हुन् । मन नलागेर भयो र ? त्यो अभिनय गर्न निर्देशकले तिनलाई नै खटाइरहेको छ । नाईं भन्न उनीहरू कसरी सक्छन् ? नेताहरूले यी नाटक नगरे न कसैले आहा बा, दाजु, दिदी, म्याडम, कमरेड वा सर नमस्कार, लाल सलाम, जय नेपाल नै भन्थे न जनताले भोट दिन नै योग्य ठान्थे ! दृष्टान्तहरूले देखाउँछ, नेपाली समाजको सत्ता र शक्ति केन्द्रित राजनीतिमा शिलान्यास र उद्घाटन कतिपय सन्दर्भमा ‘गर्नेलाई भन्दा देख्नेलाई लाज’को विषय भएको छ । जनबोलि यस्तो पनि छ – ‘फोहोर गरेपछि दैलो देखेर गर्नु के ?’ फोहोर गर्नु पहिले दैलो देखेको जाति !
 

टिप्पणीहरू