बालेनको घरमा प्रचण्डलाई भव्य स्वागत

बालेनको घरमा प्रचण्डलाई भव्य स्वागत
सुन्नुहोस्

पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार मीटरब्याज पीडितको समस्या समाधान गर्ने दायित्वबाट पन्छिएको टिप्पणी गर्नुभएको छ । 

हुलाकी राजमार्ग केन्द्रीत पार्टीको तराई-मधेश जागरण अभियानका क्रममा आज महोत्तरीको जलेश्वर नगरपालिका पुग्नुभएका उहाँले स्थानीय पीडितहरुसँग कुराकानी गर्दै यस्तो बताउनुभएको हो । आफू तत्कालीन प्रधानमन्त्री हुँदा मीटरब्याज पीडितहरुलाई न्याय दिलाउन पटक-पटक पहल गरेको र कतिपयको लालपुर्जासमेत फिर्ता भएको प्रचण्डले स्मरण गराउनुभयो । 

तर, नेकपा (एमाले) र नेपाली कांग्रेसको वर्तमान गठबन्धन सरकारले पीडितहरुलाई प्राथमिकता नदिएको बताउँदै भन्नुभयो, ‘सरकारको ध्यान यस्ता समस्यातिर गएकै छैन, उसको ध्यान त भ्रष्टाचारीलाई संरक्षण गर्नेतिर मात्रै हो ।’ 

सो क्रममा करिब तीन दर्जन मीटरब्याज पीडितले प्रचण्डसँग न्याय दिलाउन सहयोग मागेका थिए । उहाँले पनि सरकारलाई खबरदारी गरेर समस्या समाधानको लागि पहल थाल्ने प्रतिबद्धता जनाउनुभएको छ । 

उक्त कुराकानीपछि प्रचण्डलाई एकडरा गाउँपालिकाले भव्य स्वागत गरेको छ । जनप्रतिनिधि र कर्मचारीहरुले गाउँपालिकाको कार्यालयमा स्वागत गरेका हुन् । 

रोचक संयोग के छ भने, प्रचण्डलाई स्वागत गरिएको उक्त घर काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको पुख्र्यौली घर हो । अहिले उक्त घरलाई गाउँपालिकाले भाडामा लिएर कार्यालयको रुपमा प्रयोग गर्दै आएको छ ।

टिप्पणीहरू