पूर्वमन्त्री भन्छन् : यति धेरै तस्करी अहिलेसम्म देखिएको थिएन

पूर्वमन्त्री भन्छन् : यति धेरै तस्करी अहिलेसम्म देखिएको थिएन
सुन्नुहोस्

सभापति सन्तोष चालिसे नेतृत्वको संसदको अर्थ समितिले रुपन्देही, नवलपरासी, कपिलवस्तु र बाँकेका भन्सार कार्यालयहरुको अनुगमन निरीक्षण पश्चात् तस्करी नरोकिएको प्रतिवेदन सार्वजनिक गरेको छ । सांसदहरुले तस्करीको लाइन देखेको प्रतिवेदनमा उल्लेख छ । 

रुपन्देहीको मर्चवार क्षेत्रको प्रतिनिधित्व गर्दै मन्त्रीसमेत भएका ओमप्रकाश यादव भन्छन्, ‘खुल्ला सिमाना हो, पूरै नियन्त्रण त नहोला, तर यति धेरै तस्करी अहिलेसम्म देखिएको थिएन ।’ 

रुपन्देहीको ७० किलोमिटर सीमाना भारतसँग जोडिएको छ । खुल्ला सीमानाका कारण सेटिङ्गमा तस्करी भइरहेको बताइन्छ । जिल्लाको धकधईदेखि लुम्बिनीसम्मको बोर्डर क्षेत्रमा तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बलका पाँच वटा बिओपी र नेपाल प्रहरीका इलाका प्रहरी कार्यालयहरु तैनाथ छन् । साना तस्करहरुको आडमा साइकल, मोटरसाइकल, जीप, ट्रयाक्टरमा सामान ओसारेर गोदाम भर्ने गरिन्छ । गोदाममा संकलन भएका सामान बेथरी र ६ नम्बर चोकहुँदै भैरहवा, बुटवल पुग्ने गरेको स्रोतको दाबी छ । 

पक्लिहवा, करौता, सुण्डी, नसडियाघाट, बोगडी, पदमहवा, दुर्गौलिया, त्रिलोकपुर, बैकुण्ठपुर, छिपागढ लगायतका नाकाबाट कपडा, चिनी, खाद्यान्न, हार्डवेयर र मोटरपार्टसको व्यापक ओसारपसार हुने गरेको पाइन्छ । बिहानपख र राति ८ बजेपछि सबैभन्दा बढी तस्करी भइरहेको पूर्वमन्त्री यादवको दाबी छ । 

बालकृष्ण खाँण गृहमन्त्री भएको बखत सीमानामा तस्करी धेरै मौलाएको भन्नेहरु पनि छन् । सशस्त्र प्रहरी डण्डाका डिएसपी प्रदीप बस्नेत तस्करी नियन्त्रण आफूहरुको प्रमुख लक्ष्य रहेको दाबी गर्छन् । उनी चार दिनअघि मात्र सरुवा भएर आएका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रञ्जितसिंह राठौरले प्रहरीको तथ्याङ्कमा गत वर्षभन्दा धेरै तस्करीका सामान पक्राउ परेको जानकारी दिए । प्रहरीको आँखा छलेर कसैले यदाकदा बदमासी गरेको हुनसक्ने तर प्रहरीले तस्करी नियन्त्रणमा उत्तिकै ध्यान दिएको उनको दाबी छ । 

भैरहवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मी भन्सारको आफ्नै साधन स्रोतले खुल्ला सीमानामा निगरानी गर्न नसकिने बताउँछन् । ‘गहुँसहितको ट्रयाक्टर समातेका थियौं’, रेग्मीले अगाडि भने, ‘सिडिओको संयोजकत्वमा तस्करी नियन्त्रण समिति पनि छ, सुरक्षाकर्मीसँग समन्वय गरिरहेका छौं ।’

टिप्पणीहरू