नेपालबारे के छ भारतीय एजेण्डा ?

नेपालबारे के छ भारतीय एजेण्डा ?

के अहिले नेपालको राजनीतिसँग सम्बन्धित भारतसँग कुनै एजेण्डा नै छैन ? होइन भने किन दिल्ली चुपझैँ देखिएको हो ? या ऊ कुनै एउटा ठूलो योजनाको तयारीमा छ ? अथवा अहिलेको मौनतालाई ठूलो आँधीपूर्वको सन्नाटा भन्न मिल्ने अवस्था हो ? नेपाली राजनीतिलाई सधैँ बिथोलिरहने भारतीय संस्थापन र नेपालस्थित दूतावास अनि जासुसी संयन्त्रका गतिविधिमा सुस्तता आएको देख्दा कतिपय बुद्धिजीवीले यस्ता अनेकौं प्रश्न गर्न थालेका छन् ।

भारतीय चालबारे आन्तरिक सूचनामा पहुँच भएको समाचार स्रोतका अनुसार वास्तवमै ऊसँग अहिले नेपालबारे केही निश्चित र सीमित एजेण्डा छन् । जसमध्ये एक हो, मधेशी दललाई एउटै बलियो शक्तिको रुपमा एकीकृत गर्ने योजना । जुन लगभग भ्यागुताको धार्नी पुर्‍याउनुभन्दा ठूलो चुनौतीका रुपमा देखिएको छ । यसबीच भारतीय संस्थापनले नेपालका मधेशी दललाई एकै मोर्चामा जोड्न सहयोग गरिदिनुपर्‍यो भन्दै केही व्यक्तिलाई आग्रहसमेत गरेको थियो । 

भारतीय पक्षले मधेशी दलका हरेक नेता एक–एक गरी भेटेर एकै ठाउँ मिल्नुस्, कम्तीमा साझा बिन्दुु खोजेर मोर्चाबन्दी गरी अघि बढ्नुस् भनेर सुझाव दिइरहेको समाचार स्रोत बताउँछ । उपेन्द्र यादवको पार्टीले अहिलेको सरकारलाई दुःख दिइरहेको परिप्रेक्ष्यमा भारतीय पक्ष कसरी त्यसलाई चीनतिर ढल्कन नदिने भन्नेमा चिन्तित देखिन्छ । उसले पछिल्लो दिनमा देखाएका केही राजनीतिक अडान र अघि सारेका एजेण्डाहरूको कारण कतै मधेशमा सर्वाधिक बलियो दल उपेन्द्रको त बन्ने होइन भन्ने चिन्ता पनि भारतीय संस्थापन पक्षमा रहेको अवस्था छ ।

तराई मधेशमा निकै धेरै विकास परियोजना चीनले सफलतापूर्वक अघि बढाइरहेको सन्दर्भमा ऊसँग निकटको राजनीतिक दल त्यो क्षेत्रमा स्थापित बन्यो भने त्यसले दीर्घकालीन असर पार्ने भारतीय रणनीतिकारहरूका निम्ति टाउको दुखाइको विषय बन्न पुगेको छ । उपेन्द्रलाई आफूहरूले बाहिरबाट नियन्त्रण गर्न नसकेका कारण मधेशीहरूको बृहत् मोर्चा निर्माण गरेर त्यसमार्फत केही हदसम्म अंकुश लगाउन सकिने सोचमा दक्षिण रहेको स्रोत बताउँछ ।
 

टिप्पणीहरू