प्रचण्डको फोटो जलाउनेहरु भन्छन् : आन्दोलनको आँधीबेहरी ल्याउँछौं

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाएका निराजन बमलाई प्रहरीले पक्राउ गरेपछि राजावादीहरुले आक्रोश पोखेका छन् । राजावादीहरुको संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन क्रुद्ध हुँदै आन्दोलनको चेतावनी दिएका हुन् ।
संगठनका सदस्य सचिवसमेत रहेका बमलाई आफ्नो विचार व्यक्त गरेकै भरमा पक्राउ गरिएको भन्दै घोर भत्र्सना गरिएको छ । विभिन्न राजनीतिक दलका नेताहरुले खुलेआम एकअर्कालाई गम्भीर आरोप लगाउँदा पनि कुनै कारबाही नगरेकोमा संगठन आक्रोशित भएको हो । ‘राष्ट्रवादी युवालाई आफ्नो विचार व्यक्त गरेकै भरमा पक्राउ गरी कारबाही गर्नु के कानूनसम्मत छ ?’ उसको प्रश्न छ ।
बमलाई पक्राउ गर्नु सरकारको आडमा प्रहरी प्रशासनद्वारा गरिएको मनोमानी र पूर्वाग्रहपूर्ण कार्य रहेको जनाउँदै विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो संगठन यो गैरकानूनी गिरफ्तारीलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप र सरकारको अधिनायकवादी चरित्रको प्रमाण गर्दछ ।’
राजनीतिक गतिविधिमा संलग्न युवा नेतालाई यसरी धरपकड गर्नु प्रजातान्त्रिक मूल्यमान्यताको उपहास भएकाले तत्काल बमलाई बिना शर्त रिहाई गर्नुपर्ने संगठनको माग छ । अन्यथा, आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिइएको छ ।
टिप्पणीहरू