सरकारलाई मुलुकको खर्च धान्नै सकस

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्व उठाएर खर्च धान्नै सकस परेको बताउनुभएको छ । कर्मचारीलाई तलब खुवाउनसमेत वैदेशिक ऋण लिनुपर्ने स्थितिमा मुलुक पुगेको भन्दै कतिपयले चिन्ता गरिरहँदा अर्थमन्त्रीको यस्तो भनाई आएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा उहाँले भन्नुभयो, ‘राजश्वले हाम्रो साधारण खर्च धान्न धौधौ भइरहेको अवस्था छ । यस्तो अवस्थामा हामीले बजेट निर्माण गर्दा अनुशासनतर्फ फर्किनका लागि बिलम्ब भइसकेको छ । हामीले बिलम्ब गर्नु हुँदैन ।’
राजश्व र खर्चको अनुपात नमिलेकै कारण आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व संशोधन विधेयक ल्याउनुपरेको अर्थमन्त्री पौडेलले जानकारी गराउनुभयो । राजश्वले खर्च धान्न नसकिने भन्दै उहाँले चालु आर्थिक वर्षको विनियोजनमा अनिवार्य दायित्वका शीर्षकमा समेत न्यून रकम छुट्याइएको स्पष्ट पार्नुभयो ।
‘अब हामीले बजेट निर्माण गर्दा अनुशासनतर्फ फर्किनुपर्ने अभिभारालाई गम्भिरतापूर्वक महशुस गर्नुपर्छ भन्ने मर्ममा उभिएर यो संशोधन विधेयक आएको कुरा म निवेदन गर्न चाहन्छु’, मुलुक आर्थिक हिसाबले अप्ठेरोमा परेको उहाँले घुमाउरो तरिकाले स्वीकार गर्नुभयो ।
३१ प्रतिशत राजश्व उठाउने लक्ष्य राखिएको र अनिवार्य दायित्वअन्तर्गतका शीर्षकमा न्यून बजेट विनियोजन गरिएको उल्लेख गर्नुभयो । चालु आर्थिक वर्षमा विकास निर्माणका अरु ११ हजार योजना थपिएकै कारण स्रोत सुनिश्चितता गर्न गाह्रो भएको अर्थमन्त्रीको दाबी छ ।
टिप्पणीहरू