बलेको यातना सहँदै जुम्ल्याहा दिदी बहिनी

समाजिक सञ्जालमा जुम्ल्याहा दिदी बहिनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडा (ट्वीन्स गर्ल) को लोकप्रियता चुलिँदो छ । टिकटकबाट उदाएका यी दिदी बहिनीको फ्यान फ्लोइङ नेपाली चलचित्रका स्टार कलाकारभन्दा बढी देखिन्छ । झण्डै दुई दर्जन म्युजिक भिडियोमासमेत काम गरिसकेका उनीहरुलाई धेरैले ‘ट्वीनी गर्ल’ भनेर चिन्छन् । टिकटकमा ७९ लाख फलोअर कमाउने सम्भवतः उनीहरु नै पहिलो नेपाली बनेका छन् ।
यतिबेला ती दिदी बहिनी विभिन्न मिडियासँग रोइकराई गरिरहेका छन् । यो सबै परिस्थिति उत्पन्न हुनुको मुख्य कारण सागर लम्साल उर्फ ‘बले’ रहेको उनीहरुको आरोप छ ।
लम्सासले टेलिसिरियल, चलचित्र तथा म्युजिक भिडियो चलाउन आफ्ना पूराना फोटो र भिडियो दुरुपयोग गरेको प्रिज्माको दाबी छ । हालै एक मिडियासँगको कुराकानीमा उनले लम्सालको कारण एक वर्षदेखि मानसिक यातना भोगिरहेकोसमेत बताएकी छन् ।
मनको साथी हुँदै बने दुश्मन
त्यसो त, लम्साल र प्रिज्मा प्रेम सम्बन्धमा रहेको चर्चा पनि नचलेको पनि होइन । साढे छ लाख फलोअर भएको टिकटक आइडी ‘सागर लम्साल फ्यानक्लब’ मा अहिले पनि ती दुईका पूराना भिडियोहरु देख्न सकिन्छ । दुई जनाले आधा दर्जन म्युजिक भिडियोमा सँगै काम गरिसकेका छन् । उनीहरुको निकटता र सामिप्यताले केही हदसम्म प्रेम सम्बन्धको चर्चालाई बल पुर्याएको थियो । तर राम्रो सम्बन्धमा रहेका ती दुई अहिले किन दुश्मनजस्तो बनिरहेका छन् ? लम्सालको ‘बिहे फ्याक्टर’ नै यसको मुख्य कारण रहेको धेरैको अनुमान छ ।
लम्सालले गत वर्ष अर्कै युवतीसँग बिहे गरे । त्यतिबेला प्रिज्मासँगको सम्बन्धलाई लिएर धेरै टिकाटिप्पणी पनि भयो । लम्सालको बिहेपश्चात पनि प्रिज्मा अघि बढ्न चाहन्थिन् । तर ती दुईको जोडी हेर्न बानी परेका दर्शकलाई लम्सालले भने बिहेपछि प्रिज्मासँगको पूरानो फोटो भिडियो सार्वजनिक गरेर खुराक दिइरहे । यसले प्रिज्मालाई मनोवैज्ञानिक असर पुगेको कतिपयको बुझाई छ, जुन स्वाभाविक पनि हो ।
लम्सालले एकातिर आफ्नो नयाँ प्रोजेक्ट चलाउन उनै प्रिज्मासँगको पूरानो फोटो र भिडियो प्रयोग गरेको देखिन्छ । अर्कोतिर विभिन्न कन्टेन्टमा प्रिज्मालाई नै व्यङ्ग्य गरेर उडाएको देखिन्छ ।
प्रिज्माका अनुसार लम्सालले ‘सक्किगो नि’ सिरियलमा ‘ट्वीन टावर’ भन्दै उडाएका छन् । त्यस्तै, लम्साल अतिथि बनेर गएको ‘कमेडी दरबार’को नयाँ एपिसोडमा पनि ‘टिकटकर फाप्दैन’, ‘मलेसियाको ट्विन टावरमा हनिमुन नजाने’ लगायतका वाक्य र शब्दले कटाक्ष गरेका थिए ।
बताइएअनुसार प्रिज्माले लम्सालविरुद्ध छ महिनाअघि नै प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी थिइन् । त्यतिबेला प्रहरीले छलफलको निम्ति बोलाएकोमा लम्साल श्रीमतीसहित उपस्थित भएका थिए । प्रहरीको उपस्थितिमा ‘अबदेखि सामाजिक सञ्जालमा पूरानो फोटो भिडियो नहाल्ने’ सहमति भएको प्रिज्मा बताउँछिन् । तर लम्सालले भने त्यसपछि पनि सोही हर्कत दोहोर्याएको भन्दै प्रिज्माले केहि दिनअघि पुनः प्रहरीमा उजुरी दिएकी हुन् । छलफलको क्रममा लम्सालले प्रहरी कार्यालयमै धम्की दिएको प्रिज्माको आरोप छ । भनेकी छन्, ‘बिहे गरिसकेपछि पनि, अब बच्चाको बाबु बन्ने बेलासम्म पनि उहाँले चलाउने आइडीबाट मेरो पूरानो भिडियो हालिरहनुभएको छ, उहाँको श्रीमतीलाई पनि मैले मेसेज गरेको सम्झाउनु भनेको थिएँ, अस्ति छलफलको लागि बोलाउँदा पनि प्रहरीको कार्यालयको तल्लो कोठामा उल्टै हात उज्याएर मुख छाड्नुभयो ।’
कलाकार लम्सालको हर्कत रोक्न र कारबाहीको दायरामा ल्याउन प्रहरीसँग समन्वय गरिरहेको प्रिज्माले जानकारी दिएकी छिन् ।
टिप्पणीहरू