नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी चितवनमा

नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी चितवनमा

यही चैत्र १४ देखि १८ गतेसम्म चितवनमा अन्तर्राष्ट्रिस्तरको औद्योगिक प्रदर्शनी आयोजना हुँदैछ । आयोजकले आज चितवन उद्योग संघमा पत्रकार भेटघाट आयोजना गर्दै 'नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी-२०८१' बारे जानकारी दिएको छ । 

औद्योगिक मेशिनरी तथा प्रविधि (प्रोसेसिङ, पोल्ट्री, डेरी, फुड एण्ड वेभरेज, चिया), निर्माण उद्योगका मेशिनरी तथा प्रविधि र निर्माण सामग्रीहरु, पेन्ट इन्डष्ट्रिज, प्लाष्टिक, प्रिन्टिङ, प्याकेजिङ, चित्रकला, हस्तकला, मह तथा अन्य कृषि उद्योगका प्रविधि, मेशिनरी र उत्पादनहरु, लघु, घरेलु, साना र मझौला उद्योगका उत्पादनहरु प्रदर्शनीमा रहने जनाइएको छ । 

त्यसैगरी, सोलार उर्जा र वैकल्पिक उर्जा, फोहोर व्यवस्थापन र पुनःप्रयोग कम्पनी, विद्युतीय सवारी साधन, स्टार्टअप र प्राविधिक कलेजका प्रोजेक्ट डेमो, शैक्षिक परामर्श, रोजगार व्यवस्थापन कम्पनी तथा वृत्ति परामर्शदाता, औद्योगिक व्यवसायिक साझेदार (बैंक, बिमा, व्यवसायिक परामर्शदाता, ट्रान्सपोर्ट, एजेन्सी सेवा प्रदायक), निर्यातजन्य उत्पादन, फुटवेयर, गार्मेन्टसहित करिब दुईसय स्टलहरु रहने जानकारी गराइयो । 

स्वदेशी तथा विदेशी गरी ५० हजार भन्दा बढी अवलोकनकर्ताहरुले यो प्रदर्शनी अवलोकन गर्ने अनुमान आयोजकको रहेको छ ।

‘धेरैजसो प्रविधि विदेशी नै हुन्छ, प्रदर्शक नेपाली भएपनि’, आयोजक संस्था चितवन उद्योग संघका प्रदर्शनी तथा व्यवसाय प्रवद्र्धन विभाग प्रमुख दिनुपकुमार बरालले भने, ‘१० वटा विदेशी स्टल कन्फर्म भइसक्यो, विदेशी प्रविधिहरु लिएर नेपाली एजेन्टहरु पनि आउनेछन् ।’ 

प्रदर्शनीबाट लघु, घरेलु तथा साना उद्योगलाई उपयोगी हुने नवीनतम प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पुर्याउने, कृषिजन्य उद्योग, पर्यटन, प्रविधि लगायतका सेवाजन्य उद्योग एवम् उत्पादनमूलक उद्योगको प्रवद्र्धन गर्ने, बीटुबी तथा बीटुसी मिटिङको माध्यमबाट राष्ट्रिय उत्पादनको बजारीकरणको लागि सहयोग पुर्याउने, नव प्रवर्तन र नयाँ प्रविधिबारे जानकारी गराउँदै युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने उद्देश्य रहेको उनले जानकारी गराए । 

स्वदेशी एवम् विदेशी उद्योगीहरुका बीच प्रत्यक्ष भेटघाटका माध्यमबाट हुने छलफलबाट औद्योगिक उत्पादनको चरणमा वस्तुको बजार र उपभोक्ता आकर्षण गर्न ब्राण्डिङ, लेवलिड्ड र प्याकेजिड्ड प्रक्रियाका सम्बन्धमा ज्ञान अभिवृद्धि तथा व्यवसायिक सम्बन्ध स्थापित गर्न र तीनै तहका सरकारका औद्योगिक कार्यक्रम लक्षित उद्योगीसम्म पुर्याउन सहयोग गर्ने प्रदर्शनीको लक्ष्य छ ।

चितवन प्रर्दशनी केन्द्रमा पाँच दिनसम्म चल्ने यस अन्तर्राष्ट्रिय प्रदर्शनीको अवसरमा तेस्रो दिन १६ गते ‘नेपालको वर्तमान आर्थिक परिदृश्य : औद्योगिक विकासका सम्भावना, अवरोध र समृद्धिका उपायहरु’ शीर्षकमा विषयविज्ञ र सरोकारवाला निकायहरुको उपस्थितिमा प्यानल छलफल कार्यक्रम तय गरिएको प्रदर्शनी प्रवद्र्धन विभाग प्रमुखले बताएका छन् । 

संघीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि व्यवस्था तथा प्रशासन मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय, कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालय, सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, उद्योग तथा वाणिज्य कार्यालय चितवन र भरतपुर महानगरपालिकासहित चितवनका स्थानीय पालिकाहरुको प्रवद्र्धन सहयोगमा प्रदर्शनी हुन लागेको आयोजकले बताएको छ ।
 
यो अवसरमा प्रदेशस्तरीय चित्रकला प्रतियोगिता तथा प्रदर्शनी पनि हुने बताइएको छ । चित्रकला प्रतियोगितामा बागमती प्रदेशका ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदाहरुको चित्रण हुने गरी प्रदर्शनीस्थलमा नै प्रत्यक्ष रुपमा कोरिएका चित्रहरुका बीचमा प्रतियोगिता हुने संघले बताएको छ । 

यसै सिलसिलामा नयाँ वर्ष २०८२ लाई लक्षित गरी स्वदेशी जुत्ता चप्पल प्रवद्र्धन तथा व्यापार मेला पनि चैत्र १४ गतेबाटै वैशाख ९ गतेसम्म आयोजना हुनेसमेत जानकारी गराइएको छ । प्रदर्शनीले वर्तमान समयमा सुस्ताएको आर्थिक गतिविधिलाई थप चलायमान बनाउन सहयोग पुग्ने आयोजकको विश्वास छ ।
      
सुस्ताएको अर्थतन्त्रलाई चलायमान गराउँदै विदेशी मुद्रा आर्जनका लागि निर्यात बढाउन पनि प्रदर्शनीले पहल गर्ने संघका कार्यवाहक अध्यक्ष मदन घिमिरे बताउँछन् । कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालद्वारा सञ्चालित पत्रकार सम्मेलनमा संघका निवर्तमान अध्यक्ष त्रिलोचन कंडेल लगायत पूर्वअध्यक्षहरुको पनि उपस्थिति रहेको थियो ।

टिप्पणीहरू