हुण्डीमार्फत पैसा नपठाउन आग्रह

हुण्डीमार्फत पैसा नपठाउन आग्रह

विदेशमा रहेका नेपालीलाई हुण्डीमार्फत नेपाल पैसा नपठाउन सम्बन्धित देशका दूतावासले आग्रह गरेका छन् ।

दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले छुट्टाछुट्टै सूचना निकालेर हुण्डीमार्फत पैसा नपठाउन भनेका हुन् । अनौपचारिक रुपमा विप्रेषणको काम नगर्न र कसैले त्यसो गरेको थाहा भएमा प्रमाणसहित दूतावासको कार्यालय वा इमेलमा उपलब्ध गराउन आग्रह गरिएको छ । 

‘कसैले त्यस्तो गैरकानूनी कारोबार गरेको भए त्यस्तो कार्य गर्ने गराउने व्यक्ति वा संस्थाको विवरण प्रमाणसहित सम्बन्धित दूतावास वा इमेल ठेगानामा उपलब्ध गराई गैरकानूनीरुपमा हुने वित्तीय कारोबारको कारोबारलाई निरुत्साहित गर्ने कार्यमा सहयोग गर्नुहुन अनुरोध गर्दछौं,’ यौटै व्यहोराको दुवै सूचनामा उल्लेख छ । 

सम्पत्ति शुद्धिकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण गर्नका लागि ‘विदेशमा रही अनौपचारिक रुपमा विप्रेषणको कारोबार (हुण्डी) गरेको वा संकलित रकम नेपाल नपठाएको’ गोप्य सूचना विदेशस्थित नेपाली दूतावासहरुले परराष्ट्र मन्त्रालयमार्फत अर्थ वा सम्बन्धित निकायमा विद्युतीय माध्यमबाट गराउनुपर्ने व्यवस्था छ । सोहीअनुरुप दूतावासहरुले औपचारिक रुपमा मात्र विप्रेषण पठाउन नेपालीलाई अनुरोध गरेका हुन् ।

टिप्पणीहरू