वार्षिक ३० हजार छात्रवृत्ति

वार्षिक ३० हजार छात्रवृत्ति

काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा अध्ययनरत ३० हजार बढी विद्यार्थीलाई गत वर्ष छात्रवृत्ति प्राप्त भएको छ । शैक्षिक सत्र २०८१ मा ३० हजार ७७९ विद्यार्थीले छात्रवृत्तिमा अध्ययन गर्ने अवसर प्राप्त गरेका हुन् । पाँच हजार ८९५ छात्रा, एक हजार ३२२ दलित र ४५५ जनाले छात्रवृत्ति पाएको महानगरले जनाएको छ । 

त्यस्तै, संस्थागत विद्यालयहरुमा कक्षा १ देखि १० सम्म १९ हजार ३०६ र कक्षा ११ र १२ का तीन हजार ८०१ जनाले छात्रवृत्ति पाएका छन् । एक वर्षमा ३९ वटा विद्यालयले नेपालीपन झल्किनेगरी नाम परिवर्तन गरेको छ । कक्षा १ देखि १२ सम्मका ५६ हजार ३०१ जनालाई निःशुल्क पाठ्यपुस्तक प्रदान गरिएको छ । ५८ हजार ७३९ जनाले नियमित दिवा खाजा र १७ हजार ६८९ छात्राले निःशुल्क सेनिटरी प्याड प्राप्त गरेको महानगरले जानकारी दिएको छ ।

महानगरले आर्थिक वर्ष २०८१–८२ का लागि शिक्षातर्फ तीन अर्ब २९ करोड ४७ लाख ७७ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसको ५३ दशमलव ८ प्रतिशत अर्थात एक अर्ब ७७ करोड ३४ लाख ४२ हजार रुपैयाँ खर्च भएको छ । आन्तरिकतर्फको नियमित कार्यक्रममा एक अर्ब चार करोड ८५ लाख २७ हजार रुपैयाँ विनियोजन गरिएकोमा त्यसको ३० प्रतिशत अर्थात ३१ करोड ५६ लाख पाँच हजार रुपैयाँ खर्च भएको जनाइएको छ । 

‘गरी खाने शिक्षा महानगरको इच्छा’ कार्यक्रमका लागि ६० करोड रुपैयाँ विनियोजन गरिएकोमा पाँच करोड एक लाख ६६ रुपैयाँ सकिएको छ । शिक्षा क्षेत्रको स्वर्णिम योजनाको निम्ति ११ करोड १४ लाख रुपैयाँ विनियोजन भएकोमा ३८ दशमलव ८ प्रतिशत खर्चिएको छ । संघीय सःशर्त अनुदानबाट एक अर्ब ४२ करोड ३४ लाख ५० हजार रुपैयाँ छुट्याइएकोमा एक अर्ब ३२ करोड २२ लाख रुपैयाँ खर्च भएको छ ।

टिप्पणीहरू