खेलाडीलाई चौका, विद्यार्थीलाई मौका

नेपाल प्रिमियर लिग (एनपीएल) का खेलमा हानिएको प्रत्येक चौकाबापत शैक्षिक सामग्री दिने घोषणा गरेको एनसेल फाउन्डेसनले बाँड्न शुरु गरेको छ ।
एनसेलले पहिलो चरणमा लुम्बिनी प्रदेशका विभिन्न तीन विद्यालयका चार सय ४६ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको हो । क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै एनसेलले एनपीएलका खेलमा हानिने प्रत्येक चौकाबापत चार वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गत मंसिरमा गरेको थियो ।
यसले विद्यार्थीहरुमा अर्थपूर्ण प्रभाव पार्दै शिक्षामा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने एनसेलको दावी छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ, नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का, लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी र एनसेलकी मार्केटिङ्, कम्युनिकेशन एन्ड सस्टेनिबिलिटी अन्तरिम डाईरेक्टर विषाखा लक्ष्मी खड्काले कपिलवस्तु नगरपालिका–१०, स्थित राष्ट्रिय माध्यामिक विद्यालय र मदरसा वहरुल उलूमका दुई सय ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको जनाइएको छ ।
त्यस्तै, एनसेलका चीफ अफ स्टाफ स्टिवन रोड्रिगेजले राप्ति सोनारी गाउँपालिका–४, रहेको बालकशान्ति प्राथमिक विद्यालयका एक सय ८६ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।
‘प्रतिबद्धताबमोजिम प्राथमिक तहका विद्यार्थीलाई आवश्यक पर्ने शैक्षिक सामग्रीको सहयोग प्रदान गर्न पाउँदा खुशी छौँ । गुणस्तरीय शिक्षा प्रत्येक बालबालिकाको आधारभूत अधिकार हो । यो पहलले विद्यार्थीलाई शिक्षामा मद्दत गर्ने विश्वाससहित आउँदो दिनमा शैक्षिक स्रोतको अभाव भएमा सहयोग गर्न पनि तयार छौं,’ जाब्बोर कायुमोभले भने ।
विद्यार्थीले प्राप्त गरेका प्रत्येक शैक्षिक सामग्रीमा स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी सामान समावेश छन् । ‘यो एक उत्कृष्ट पहल हो, जसमा शिक्षालाई क्रिकेटसँग जोड्दै एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत विद्यार्थीको शिक्षामा सहयोग पुर्याएको छ,’ क्यानका सचिव पारस खड्काले भने ।
एनपीएलमा हानिएका ६ सय ५३ वटा चौकाबापत दुई हजार ६१२ वटा शैक्षिक सामग्री एनसेलले विद्यार्थीहरुलाई वितरण गर्नेछ । कपिलवस्तुका दुई विद्यालयले एनसेल फाउन्डेसनको फेसबुक पेजबाट यसबारे थाहा पाएपछि सहयोगका लागि अनुरोध गरेका थिए ।
यस्तै, बालकशान्ति विद्यालयले एनसेलको नेपालगञ्ज कार्यालयमार्फत सहयोगको लागि अनुरोध गरेको थियो । ‘हामी यस पहलप्रति प्राप्त व्यापक उत्साहजनक प्रतिक्रियाबाट उत्साहित छौं । शैक्षिक सामग्री वितरणको कामलाई निरन्तरता दिदैँ क्यानजस्ता सम्बन्धित साझेदारसँगको सहकार्यमा देशका अन्य भागका विद्यार्थीलाई पनि शैक्षिक सामग्री उपलब्ध गराउने छौं,’ एनसेलकी मार्केटिङ्, कम्युनिकेशन एन्ड सस्टेनिबिलिटी अन्तरिम डाईरेक्टर विषाखा लक्ष्मी खड्काले भनिन् ।
एनपीएलका लागि एनसेलको साझेदारी र प्रत्येक चौकाबापत चार वटा शैक्षिक सामग्रीको वितरण कम्पनीको ‘हामी तपाईंकै लागि’ भन्ने थिम र नेपालमा क्रिकेट र खेलकुदको विकासमा समर्थन गर्ने प्रतिबद्धताअनुरुप छ ।
टिप्पणीहरू