एमालेमा मध्यरातको तरङ्ग,पत्रकार नेतृत्वमा कसले मार्ला बाजी ?

एमालेमा मध्यरातको तरङ्ग,पत्रकार नेतृत्वमा कसले मार्ला बाजी ?

नेकपा एमालेको जनवर्गीय संगठन प्रेस चौतारीको आगामी नेतृत्वमा आजै मात्रै राजीनामा दिएका पार्टी प्रचार विभाग सचिव गणेश पाण्डे र उपाध्यक्ष राजेश राईबीच भिडन्त हुने देखिएको छ । महाधिवेशनको मुखैमा पार्टी अध्यक्ष केपी ओलीले  अस्ति बुधवार मध्यराती केही नेतालाई बालुवाटार बोलाएर महत्वपूर्ण निर्देशन दिएसङ्गै सर्वसम्मत नेतृत्व चयन नहुने अवस्था निम्तिएको बताइन्छ । 

महाधिवेशन आउन दुई दिन बाँकी छँदा आज राई र पाण्डेले अध्यक्षमा उम्मेदवारी घोषणासमेत गरिसकेका छन् । तर,पार्टी र अन्य जनवर्गीय संगठनहरुमा जस्तै चौतारीमा पनि सर्वसम्मत नेतृत्व घोषणा गराउने तयारी छ ।  
बताइएअनुसार निवर्तमान प्रचार विभाग सचिव पाण्डेलाई अध्यक्ष बनाउने ओलीको तयारी छ र सोहीअनुसार हाल चौतारीका अध्यक्ष गणेश बस्नेतसहितलाई बालुवाटारले निर्देशन दिइसकेको छ । 

दुई दिनअघि जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकाल,प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र बस्नेतलाई बालुवाटार बोलाएर ओलीले छलफल गरी अन्तिममा पाण्डेलाई अध्यक्ष र चेतन अधिकारीलाई महासचिव बनाउन निर्देशन दिएको एमाले सचिवालयका एक जना पदाधिकारीले बताए । 
 
यसअघि फागुन १६ गते बालुवाटारमै बसेको पार्टी सचिवालय बैठकले पाण्डेलाई प्रचार विभाग सचिवमा लगेर चौतारीको अध्यक्ष राईलाई बनाउने भनेको थियो । ढकाल,गौतम र बस्नेतसँगको छलफलपछि उक्त निर्णय सुनाएका ओलीले लगत्तै बसेको सचिवालय बैठकमा सोही प्रस्ताव राखेको र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले 'उहाँलाई किन त्यता' भनी असन्तुष्टि जनाउँदासमेत 'अहिलेको आवश्यकता' भन्दै स्वयं ओलीको मुखबाट राजेशलाई अध्यक्ष,हिरामानलाई उपाध्यक्ष र चेतनलाई महासचिव बनाउने भनिएको श्रोतको दावी छ । 

सोही बैठकमा सचिवालय सदस्यबीच कुराकानी हुँदा राजेशलाई चौतारीको अध्यक्ष बनाउने प्रस्ताव ओलीबाटै भएको थियो । तर एकाएक पाण्डेले प्रचार विभाग सचिवबाट राजीनामा दिएर खुल्ला मोर्चामै सकृय हुने अडान दोहोर्याएपछि राईले चुनाव लड्ने घोषणा गरेका छन् ।

दुई दिनअघि जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकाल,प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र बस्नेतलाई बालुवाटार बोलाएर ओलीले छलफल गरी अन्तिममा पाण्डेलाई अध्यक्ष र चेतन अधिकारीलाई महासचिव बनाउन निर्देशन दिएको एमाले सचिवालयका एक जना पदाधिकारीले बताए । 

एकाएक अध्यक्ष ओलीले पाण्डेको लेखन,डक्युमेन्ट्री निर्माण,जनसम्पर्क क्षमता र खट्नसक्ने प्रतिभा पहिचान गरेपछि विराटनगर उड्न ठिक्क परेका चौतारीका नेताहरु अलमलमा परेका छन् । बालुवाटारमा दुई दिनअगाडि अस्ति बुधवार राती डेढ बजे सुनाइएको निर्णयका कारण हप्ता दिनमै फुली खोसिएका राजेश पार्टी सचिव योगेश भट्टराई निकट भनेर चिनिएका पुराना र डिजिटल्ली सक्रिय पत्रकार नेता हुन् । संसद विघटनताका योगेश प्रचण्ड-माधव खेमामा हुँदा उनी पनि सँगै थिए । त्यही कारण उनले इलामको उपनिर्वाचनमा सुहाङ्ग नेम्वाङको जीत निकाल्न अहोरात्र खट्नुका अलावा अनेक दु:ख सुखमा पार्टीलाई जतिसुकै काँध थापे पनि अध्यक्ष ओलीको पूरा विश्वास आर्जन गर्न नसकेको एकथरिको ठम्याई छ । 

चौतारीमा नेतृत्वका लागि 'रैथाने एमाले' बीचमै एकमत नभएको स्थितिमा अघिल्लो महिना समाजवादी प्रेस संगठन छोडेर फर्किएको विश्वमणि सुवेदी समूह पनि कर्नरमा पर्ने देखिंदैछ । त्यही भएर भित्रभित्र अध्यक्षको चाहना राख्दै टिम अनुकूल हुँदा उपाध्यक्षमै भए पनि समायोजित हुन तयार भएको सो समूहले उपाध्यक्षमा हिरामान लामा आउने भएपछि हिजो महासचिव शंकर पोख्रेलसङ्गको भेटमा पनि खुलेर आफ्ना कुरा राख्न नसकेको बताइन्छ । समाचार स्रोतका अनुसार यो खेमालाई एक पदाधिकारी र केही केन्द्रीय सदस्यमै चित्त बुझाउनुको विकल्प छैन । 

स्मरणीय छ,यसअघि कर्मचारी संगठनमा पनि नेताहरुलाई रातारात बालुवाटार बोलाएर सर्वसम्मत नेतृत्व स्वीकार्न लगाइएको थियो । उक्त निर्णयपछि राजेश राई जे जस्तो परिस्थितिमा पनि प्रतिस्पर्धाबाट पछि नहट्ने निश्कर्षमा पुगेका छन् भने पाण्डेले यस बिषयमा पार्टीले निर्णय गरेको या निर्णय बदलेकोवारे आफूलाई कुनै जानकारी नरहेको भन्दै नेतृत्वको निर्देशन र अनुशासन पालना गर्ने दृढता ब्यक्त गरेका छन् । 

चुनावी घोषणा (गणेश पाण्डे)

आदरणीय अग्रज र प्रिय साथीहरु,

यतिबेला हामी हाम्रो गौरवशाली संगठन प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशनको संघारमा छौं । देशभरबाट विराटनगरमा आउँदै गर्नुभएका अतिथि, अग्रज, केन्द्र, प्रदेश तथा जिल्लामा नेतृत्वमा रहनुभएका तथा प्रतिनिधि हुनुभएका साथीहरुलाई विराटनगरमा हार्दिक स्वागत गर्न चाहन्छु ।

विराटनगर मेरो करिअरमा सदैव विशेष छ । कारण – २०६९ मा विराटनगरमा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनबाट लोकप्रिय मतका साथ सचिव पदमा विजयी भएको थिएँ । संयोगले १२ बर्षपछि विराटनगरमै महाधिवेशन हुँदैछ । र, म अध्यक्षको दावेदारको रुपमा रहेको छु ।

साथीहरु, कतिपय प्रसंग बिर्सन मन लाग्दा पनि भन्नै पर्ने हुँदो रहेछ । कतिपय कुरामा नबालौं भन्दा पनि बोल्नुपर्ने अवस्था आउँदो रहेछ । बितेको दुई साता मेरो लागि यस्तै अन्यौलपूर्ण बन्यो । पार्टीको केन्द्रीय सचिवालय बैठकले फागुन १८ गते मलाई केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिवमा मनोनयन गर्ने निर्णय गर्यो । त्यो मेरो लागि आफैमा आश्चर्यजनक निर्णय थियो । निर्णय भएपछि मात्र मैले थाहा पाएँ । तर, मैले प्रतिक्रिया दिइन । पार्टीको सर्वोच्च निकायका रुपमा रहेको सचिवालयले गरेको निर्णयका विषयमा मैले बोल्नु उचित हुने थिएन । मैले पार्टीको शीर्ष नेतृत्वसँग सघन छलफल गरेँ । चैत ३ गते प्रचार विभागको बैठक र सपथ पनि राखियो । मैले सपथ नखाने कुरा पनि गरेको थिएँ । तर, केन्द्रीय पार्टीले ‘तपाईं सपथ पनि खानुस् र आफ्नो उम्मेदवारी पनि कायम राख्नुस्’ भन्ने सुझाव आएपछि मैले सपथ लिएको थिएँ ।

त्यसक्रममा मैले भनेको थिएँ– ‘मलाई केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिवको जिम्मेवारीको रुपमा योग्य ठानेर निर्णय गर्ने पार्टीको केन्द्रीय सचिवालयलाई धन्यवाद दिन चाहन्छु । विशेषतः पार्टीका श्रेद्धय अध्यक्ष केपी शर्मा ओलीज्यू र महासचिव शंकर पोखरेलज्यूप्रति आभार पनि व्यक्त गर्दछु । मसँधै पार्टी र विचारको पक्षमा उभिने इमान्दार सिपाही हुँ । जस्तोसुकै संकटमा पनि म हल्लिएको छैन् । यतिबेला म प्रेस चौतारी नेपालको अध्यक्षको उम्मेदवार पनि छु । तसर्थ, म उम्मेदवार बन्दै गर्दा यो जिम्मेवारी त्याग्नुपर्छ भने म त्याग्न तयार छु । पार्टीले यसको पुनर्विचार गरोस् ।’

मैले यो बीचमा शालिनतापूर्वक पार्टीमा आफ्नो कुरा राख्दै आएको थिएँ । र, आज केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिवको जिम्मेवारीबाट राजीनामा दिएको छु । यो बीचमा मैले असन्तुष्टि राख्न सक्थें होला, विरहको गीत गाएर हिँड्ने थिएँ होला । तर, गरिन ।

साथीहरु, २०७३ सालमा काठमाडौं सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनमा म महासचिव पदको उम्मेदवार थिएँ । त्यतिबेला पार्टीमा आन्तरिक संघर्ष चरम थियो । संस्थापनबाट गणेश बस्नेत दाई अध्यक्ष र म महासचिवको उम्मेदवार थियौँ । तर, संस्थापन पक्षबाट अध्यक्ष र तत्कालिन माधव नेपाल समूहबाट महासचिव हुने भनेपछि तत्कालिन ईञ्चार्ज योगेश भट्टराईको आग्रहमा तत्कालिन माधव नेपाल समूहबाट उम्मेदवार बन्नुभएका राजेश राईलाई मैले महासचिव पद छाडेको थिएँ । म चाहना नहुँदाहुँदै पनि उपाध्यक्ष बनेँ । किनकी त्यो पार्टीले गरेको निर्णय थियो । त्यो निर्णय मान्नुपर्ने मेरो बाध्यता र कर्तव्य थियो ।

यो बीचमा पार्टीभित्र असाध्यै अप्ठेरो अवस्था आयो । संगठनले पनि कठिन अवस्था भोग्नुपर्यो । २०७७ साल पुस ५ पछिको कहालीलाग्दो अवस्थाको त व्याख्या गरिसाध्य अवस्था थिएन । हाम्रै साथीहरुले प्रेस संगठन फुटाएर छुट्टै भेला गरेपछि २०७७ साल माघ ८ गते हामी (संस्थापन) ले काठमाडौंमा अर्को भेला गरेर आदरणीय गणेश बस्नेत दाईको नेतृत्वमा प्रेस संगठनलाई अगाडि बढाएका थियौं । उपाध्यक्षको भूमिकामा रहे पनि मलाई महासचिवको समेत भूमिका निर्वाह गर्नुपर्ने अवस्था आइलाग्यो । केही समय मैले र त्यसपछि कार्यवाहक महासचिवको भूमिकाको रुपमा उपमहासचिव हिरामान लामाले जिम्मेवारी सम्हाल्नुभयो । पत्रकार महासंघको चुनावमा हाम्रो संगठन दुई चिरा भयो । प्रेस चौतारी नेपाललाई सबै मिलेर हराइयो । देशभर साथीहरुले हार्नुभयो । वरिष्ठ पत्रकार निर्मला शर्मालाई अध्यक्ष बनाउने हाम्रो सपना त्यतिबेला तुहिएको थियो । अरुसँग जुध्नु त छँदै थियो, आफ्नै साथीहरुसँग जुध्न परेको थियो, त्यतिबेला । हामीले संगठन जोगाउन गरेको संघर्षको कुनै बेला किताब नै लेखैंला ।

त्यसलगत्तै २०७८ सालमा पोखरामा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनमा म अध्यक्षको उम्मेदवार थिएँ । आदरणीय अध्यक्ष गणेश बस्नेतलाई नै अध्यक्ष बनाउने भन्ने पार्टीको निर्णय भएपछि मैले पार्टीको निर्णयलाई सघाएँ । त्यतिबेला अन्तिम सचिवालय बैठकमा तत्कालिन ईन्चार्ज पृथ्वीसुब्बा गुरुङज्यूलाई मैले भनेको थिएँ– ‘पार्टीले गणेश दाईलाई नै अध्यक्ष बनाउने भन्ने निर्णय गरेको हो भने म केन्द्रीय सदस्य भएर पनि बस्न तयार छु । म पार्टीको निर्णय मान्छु ।’ त्यतिबेला अरु साथीहरु उम्मेदवारी घोषणा गर्नतर्फ लाग्नुभयो । म पार्टीको निर्णय कार्यान्वयनमा सहयोगी बनें ।

म आफै महाधिवेशन मुल व्यवस्थापन समितिको संयोजक, आफ्नै गृह प्रदेशमा भएको महाधिवेशन, अनि आफ्नै जिल्लाको नेता इन्चार्ज भएको बेला पनि मैले अध्यक्ष हुन नपाउँदा पनि मैले विरहको गीत गाएर हिँडिन्, पार्टीको नेतृत्व र नेताविरुद्ध समाचार लेखाएर पनि हिँडिन । बरु संगठन र पार्टीको काममा लागिरहेँ । गुटबन्दी गर्न तिर पनि लागिन । मेरो विरुद्ध अनेक अफवाह र झुटा आरोप लगाउँदा पनि सहिरहेँ ।

प्रेस चौतारी नेपालमा अहिले दोस्रो कार्यकाल उपाध्यक्षको रुपमा म मात्रै छु । दोस्रो कार्यकालका रुपमा रहनुभएका सविन प्रियासनलाई हामीले पत्रकार महासंघमा पठाइसकेका छौं । तसर्थ, वरियतामा पहिलो नम्बरमा रहेको, दुई कार्यकाल उपाध्यक्ष भएका हिसाबले मेरो दाबेदारी स्वभाविक थियो । मेरो रोजाईको क्षेत्र नै प्रेस चौतारी हो । पार्टीको प्रचार विभागको सदस्यको रुपमा त म छँदै थिएँ । मलाई सचिवको जिम्मेवारी चाहिएको थिएन । हामी मिसन ८४ मा पनि छौं । र, आफूले काम गर्न चाहेको क्षेत्रमा काम गर्न पाउँदा नै काम गर्ने उर्जा प्राप्त हुन्छ, नतिजा पनि दिन सकिन्छ भन्ने भन्ने मेरो निष्कर्ष हो ।

अर्कोतर्फ, मैले आकांक्षी साथीहरुलाई बारम्बार भनिरहेको पनि छु, मैले मेरो जीवनको उर्जाशील जीवन बिताएको र संकटमा सम्हालेर ल्याएको संगठनको नेतृत्व गर्न पाउनु मेरो हक पनि हो ।

तर, अहिले पार्टी नेतृत्वलाई बदनाम गर्ने गरि कतिपय साथीहरु लागिरहेको देख्दा दुःख लागेको छ । यसै पनि नेकपा (एमाले)माथि यतिबेला चौतर्फी घेराबन्दी छ । तर, पार्टी नेताहरुलाई जोडेर, उहाँहरुलाई बदनाम गरेर पद प्राप्ति गर्न कोही लाग्छ भने राम् राम् मात्र भन्न सकिन्छ । यस्तो अवस्थामा पार्टी र नेतृत्वविरुद्ध कुप्रचार गरिनु गलत छ । पद, प्रतिष्ठामात्रै सबै कुरा होइन्, मुलतः काम गर्ने कुरा मुख्य हो । आफ्नो अनुकल निर्णय आए मात्र मान्नुपर्ने, आफूलाई मात्र अरुले सँधै छाडिरहनुपर्ने कुरा अवसरवादको नमुना हो । यो बीचमा हामीले एउटा जिल्ला बाहेक देशभर सर्वसम्मत नेतृत्व चयन गरेका छौं । केन्द्रमा पनि सर्वसम्मत नेतृत्व चयन गर्ने हाम्रो केन्द्रीय सचिवालयको निर्णय पनि छ । पार्टीले जे निर्णय गर्छ, त्यो मलाई मान्य छ ।

हामी प्रेस चौतारी नेपाललाई अब्बल संगठनका रुपमा दह्रिलो बनाउन चाहन्छौं । यो बीचमा अग्रज पत्रकार विश्वमणि सुवेदीको नेतृत्वमा समाजवादी प्रेस संगठनबाट विद्रोह गरी थुप्रै साथीहरु घर फर्किनुभएको छ । माओवादीबाट विद्रोह गरी नेकपाकालमा पार्टी र संगठनको पक्षमा उभिएका थुप्रै साथीहरू पनि हामीसँग छन् । हामी हाम्रा भावनाहरुलाई थप कसिलो बनाउन जरुरी छ । जुन आजको आवश्यकता पनि हो ।

२०५८ सालमा प्रेस चौतारी नेपाल लमजुङको संस्थापक, प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य, केन्द्रीय सचिव, दुई कार्यकाल केन्द्रीय उपाध्यक्ष भएर सबै जिम्मेवारी पार गर्दै यो ठाउँसम्म आइपुगेको छु । हाम्रा आदरणीय पूर्वअध्यक्षहरु विजय चालिसे, शम्भु श्रेष्ठ, डा. बालकृष्ण चापागाईं, गगन विष्ट, राजेन्द्र अर्याल र वर्तमान अध्यक्ष गणेश बस्नेतको कठिन संघर्षको विरासतलाई जोगाउँदै यो संगठनको एक कार्यकाल नेतृत्व गर्ने सोच बनाएको छु । देशभरका साथीहरुको सदैव माया, साथ र समर्थन छ । यसपालि पनि उस्तै दह्रिलो साथको अपेक्षा गरेको छु ।

प्रेस चौतारी बलियो भएमा मात्र नेकपा (एमाले) बलियो हुन सक्छ । प्रेस चौतारी नेपाललाई सुव्यस्थित, सुदृढ गर्नुपर्ने कार्यभार हामीसँग छ । राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो संगठनका दायर विस्तार गर्न जरुरी छ । पार्टीको नेतृत्व तथा नेताहरुविरुद्ध भइरहेका घेराबन्दी र कुप्रचारलाई चिर्न लाग्नुपर्नेछ । श्रमजीवी पत्रकारहरुलाई पेशामा टिकाउन भूमिका खेल्नुपर्नेछ । अग्रज र अनुजलाई जोड्ने गरी कार्ययोजना बनाउनुपर्नेछ । केन्द्रमा आफ्नै भवन बनाउने संकल्प गर्न जरुरी छ । त्यसको एउटा उदाहरण प्रेस चौतारी नेपाल, चितवन शाखाले देखाइसकेको छ । देशभरमै प्रेस चौतारी नेपालको एउटा मात्र भवन चितवनमा छ । अब संघीय राजधानीमा केन्द्रीय कार्यालय र प्रदेश तथा जिल्ला जिल्लामा प्रेस चौतारी नेपालका व्यवस्थित भवन/कार्यालय, मिडिया सेन्टरको स्थापनामा प्रेस चौतारी नेपाल केन्द्रीत हुन जरुरी छ । अग्रजहरुको कष्टसाध्य योगदान र विरासतको आलोकमा गौरवपूर्ण इतिहास बोकेको यस संगठनलाई कुशलतापूर्वक सञ्चालन गरी अझ रहरलाग्दो संगठन बनाउन प्रेस चौतारीमा आबद्ध सबै एकताबद्ध हुन आवश्यक छ । विराटनगर महाधिवेशनले त्यो सामथ्र्य प्रेस चौतारी नेपाललाई दिने विश्वास लिएको छु ।

अन्त्यमा, देशभरबाट आउनुभएका साथीहरुलाई कुनै अप्ठेरो पर्दा सम्पर्क गर्नुहुन अनुरोध गर्दछु । मेरो सम्पर्क नम्बर–९८५१०७९७९५ । स्थानीय व्यवस्थापन समितिका संयोजक एवं केन्द्रीय सचिव विक्रम लुईंटेल ९८५२०२१९२४, कोशी प्रदेश अध्यक्ष सुमन पुरी ९८५२०७८५११, महासचिव बाबुराम भण्डारी ९८५२८३५३६६ । तपाईंहरुको स्वागतमा हामी छौं । छिट्टै भेट् हुनेछ ।

चुनावी प्रतिबध्दता (राजेश राई)

आज फेरि आफ्नै कुरा :-

नेपाली श्रमजीवी पत्रकारहरुको सबैभन्दा अग्रणी संगठन प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशनको मिति नजिक (१०–१२, चैत) आएको छ । जिल्ला जिल्लाबाट साथीहरु महाधिवेशनस्थल विराटनगरतर्फ प्रस्थानको तयारीमा हुनुहुन्छ । सबै साथीहरुलाई शुभयात्रा र स्वागत ।

स्वभाविक रुपमा यतिबेला धेरै अग्रज र अनुजहरुको प्रश्न छ, ‘यसपाली तिमि के गर्छौं ?’  यसमा मेरो उत्तर छ :

प्रेस चौतारी नेपालको सांगठानिक जीवनको हिसाबले मैले मेरो जीन्दगीको दुई दसक भन्दा बढी (२१ वर्ष) खर्चिएको छु । प्रेस चौतारी नेपालको धनकुटा सचिव, धनकुटा अध्यक्ष तात्कालिन पूर्वाञ्चल सदस्य, केन्द्रीय सदस्य, केन्द्रीय सचिव, महासचिव हुँदै हाल उपाध्यक्षको जिम्मेवारीमा छु । यस हिसाबले मैले संगठनको सबै तह र पदको जिम्मेवारी सम्हालेर यहाँसम्म आएको छु ।

जिल्ला समितिमा :

- धनकुटा जिल्ला सचिव : (२०६१–२०६४)
-  धनकुटा जिल्ला अध्यक्ष  (२०६४–२०६६)

केन्द्रीय समितिमा :-

- सदस्य : छैटौं राष्ट्रिय महाधिवेशन (२०६६)
- सचिव : सातौं राष्ट्रिय महाधिवेशन (२०६९)
- महासचिव : आठौं राष्ट्रिय महाधिवेशन (२०७३)
- उपाध्यक्ष :  नवौं राष्ट्रिय महाधिवेशन (२०७८)

अब १० औं राष्ट्रिय महाधिवेशनमा आइपुग्दा रुपमा मसँग जम्मै दुईवटा बाटा अथवा रोजाई छन् ।

पहिलो : अध्यक्षको जिम्मेवारी लिएर नेतृत्व गर्ने ।
दोस्रो :  संगठनबाट बिदा लिएर नयाँ मोर्चामा काम गर्ने । 

स्वभाविक रुपमा मेरो पहिलो रोजाई, अध्यक्षको जिम्मेवारी लिएर संगठनको एक पटक नेतृत्व गर्ने नै हो ।

हामीलाई थाहा छ, प्रेस चौतारी नेपाल नेकपा (एमाले) को एउटा पेसागत जनसंगठन हो । नेकपा (एमाले) यस्तो पार्टी हो, जसको सबैभन्दा राम्रो संगठनात्मक संरचना र प्रणाली छ । एमालेले ‘लेनिनवादी संगठनात्मक सिद्धान्त’को अभ्यास गर्दै आएको छ ।

निश्चित रूपमा प्रेस चौतारी नेपालले पनि संगठन सञ्चालनमा मूलतः लेनिनवादी संगठनात्मक सिद्धान्तको प्रयोग र अभ्यास हुँदै आएको छ । ‘लेनिनवादी संगठनात्मक सिद्धान्त’ अर्थात् संगठन सञ्चालनको मुख्य विधि जनवादी केन्द्रीयता (परिपूरक वा एकको अस्तित्व वा उपस्थितिबिना अर्काेको अस्तित्व वा उपस्थिति असम्भव) हो ।

सुरुमा केन्द्रीयताको कुरा गरौं :

मलाई अहिलेसम्म पार्टीले औपचारिक रुपमा ‘अब तेरो स्थान यही हो’ भनेर निर्देश गरेको छैन । सायद अब गर्नेछ । मलाई गहिरो विश्वास छ, यसपाली पार्टी नेतृत्व/ संगठनको नेतृत्वले मलाई न्याय गर्नेछ । मेरो विश्वासको पहिलो आधार हो, अहिलेको हाम्रो संगठनको संरचनामा रहेका हामीहरु । अर्थात् हाम्रो संगठनको आदरणीय अध्यक्ष गणेश बस्नेतले यसपाली बिदा लिएर नयाँ पुस्तालाई हस्तान्तरण गर्छु भन्नु भएको छ ।

आदरणीय गणेश दाई अर्थात् संस्थापक पुस्ताले छोड्दै गर्दा स्वभाविक रुपमा हामी ४ जना दाबेदार थियौं । प्रिय उपाध्यक्ष कमरेडहरु, गणेश पाण्डे, सबिन प्रियासन, देबिका घर्ती मगर, म, महासचिव हिरामान लामा । सचिव लोग्शरी कुँवरको पनि दाबी रहेको छ ।

चार उपाध्यक्ष मध्ये उपाध्यक्ष गणेश पाण्डे कमरेडले पार्टी प्रचार तथा प्रकाशन विभागको सचिव जस्तो गरिमामय जिम्मेवारी पाउनु भएको छ । उहाँले भर्खरै सपथ लिनु भएको छ। दुई उपाध्यक्ष सबिन प्रियासन र देविका घर्ती मगर कमरेड नेपाल पत्रकार महासंघको मोर्चामा जानु भएको छ ।

अब रह्यौं, महासचिव हिरामान लामा कमरेड र म । महासचिव कमरेडले ‘तपाई अघि बढ्दा म अटाउन सक्छु’ भन्नु भएको छ । म भन्छु, महासचिव कमरेडले अध्यक्षमा दाबी गर्दा उहाँलाई अघि बढाउन तयार छु । उहाँले दाबी नगर्दा स्वभाविक रुपमा मेरो पहिलो हक लाग्छ । फेरि भन्छु, उहाँले दाबी गर्दा मेरो गहिरो सहयोग हुनेछ ।

संगठनका मेरो आदरणीय अध्यक्ष गणेश बस्नेतले पनि तिम्रो दाबेदारी स्वभाविक छ भन्नु भएको छ । पार्टी नेतृत्वसँग कुरा गर्दा पनि त्यही भन्नु भएको छ । यस हिसाबले मलाई पार्टी नेतृत्वले केन्द्रीयताको अभ्यासबाटै अवसरको नेतृत्व दिनु हुन्छ भन्ने गहिरो विश्वास छ । दोस्रो अर्थात् जनवादको अभ्याससम्म जानै नपर्ने बस्तुगत अवस्था हो ।  उल्लेखित तथ्यबाट हेर्दा न्यायपूर्ण पनि यही हुनेछ ।

दोस्रो, जनवादको कुरा :

अहिलेसम्म पार्टी नेतृत्व/ संगठन नेतृत्वबाट हामी दाबेदारहरुलाई राखेर औपचारिक निर्देश भएको छैन । यसको मतलब अर्थात् हामीलाई जनवादको अभ्यास गर्ने अवसर दिनु हुनेछ । हाम्रो मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादले भन्छ, ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर ।’

जननेता मदन भण्डारीले त्यस अतिरिक्त प्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्ने सन्दर्भमा थप व्याख्या गर्नुभएको छ । हामीले संगठन निर्माणलाई यही आलोकमा गर्नुपर्दछ ।

हो, यही वस्तुगत अवस्था र आलोकमा प्रेस चौतारी नेपाल १० औं राष्ट्रिय सम्मेलनमा अध्यक्षको उम्मेदारी घोषणा गर्न चहान्छु ।

आदरणीय अग्रज र प्रिय अनुजहरू !

वि. स. २०५५ सालमा स्थापना भएको प्रेस चौतारी नेपालमा ७ हजार भन्दा बढी पत्रकारहरु संगठित छन् । आदरणीय संस्थापक विजय चालिसदेखि सम्भु श्रेष्ठ, डा.बालकृष्ण चापागाई, गगन विष्ट निवर्तमान आदरणीय अध्यक्ष राजेन्द्र अर्याल हुँदै वर्तमान आदरणीय अध्यक्ष गणेश बस्नेतले यसको गरिमा र गौरवलाई उचो बनाउनु भएको छ । आठ भौगोलिक प्रदेश (सात प्रदेश र उपत्यका प्रदेश), प्रतिष्ठान र एशोसिएट प्रदेश गरी १० प्रदेश समिति र ७७ वटै जिल्लामा यसको शाखा समितिहरु रहेका छन् ।

हामीले आम सञ्चार क्षेत्रको नीति निर्माण र श्रमजीवी पत्रकारहरुको हकहितको मुद्दामा यो संगठनले जहिल्यै अगुवाई गर्दै आएका छौं । यही कारण आज यो संगठन सञ्चार क्षेत्रको सबैभन्दा अग्रणी संगठनको रुपमा स्थापित भएको हो ।

यो संगठनले इतिहासमा महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको पेशागत हक, श्रम अधिकारको संरक्षण, सूचना हकको रक्षा र व्यावसायीक पत्रकारिताको बिकासमा गौरवमय इतिहास बनाएको छ । यो केवल श्रमजीवी पत्रकारहरुको मात्रै होइन संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अगुवा नागरिक संगठन रुपमा पनि स्थापित छ ।

हामीलाई थाहा छ, हाम्रा अग्रजहरूको कष्टसाध्य संघर्ष र त्यागको जगमा प्रेस चौतारी नेपालको विगत गौरवमयी छ । वर्तमान चुनौतीपूर्ण छ । यो चुनौतीलाई बढो दृढतापूर्वक सामना गरेर उज्यालो भबिष्य निर्माण गर्ने जिम्मेवारी तपाईंहाम्रो काँधमा छ । त्यो जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुछ ।

नेपाली पत्रकारिताको इतिहास १ सय २३ वर्षको छ । पछिल्लो तथ्याङ्ग अनुसार सञ्चार माध्यमको संख्या  नेपालमा १३ हजार १३९ वटा सञ्चार माध्यम सञ्चालनमा छन् । करिब १३ हजार ७७ पत्रकार कार्यरत छन् । तर अब नेपालको पत्रकारिता ‘नयाँ टर्निङ पइन्ट’मा उभिएको छ ।

पाठक, दर्शक र स्रोता माथि उल्लेखित सञ्चार माध्यम र पत्रकारहरुले उत्पादन गरिरहेको सञ्चार सामग्रीमा मात्रै सीमित छैनन् । कतै एजेन्डा सेटिङ अब विस्तारै माथि उल्लेखित सञ्चार माध्यम र पत्रकारहरुबाहेक अरुले नै गर्ने अवस्थामा पुग्ने त होइन ? त्यस हिसाबले सञ्चार क्षेत्रको प्याराडाइम सिफ्ट’ त भइरहेको छैन ? बदलिएको सूचना प्रविधिको आयाम अनुसार कसरी हामी बदलिन्छौं ?

नेपाली पत्रकारितामाथिको अहिलेको प्रश्न यो हो ? यही प्रश्नलाई केन्द्रमा राखेर हामीले हाम्रो आन्दोलन बदल्नुछ । हामीले श्रमजीवी पत्रकारहरुलाई दक्ष बनाउनु छ । त्यसको लागि मैले ठोस कार्ययोजना नै पेश गरेको छु । 

यहाँहरुलाई थाहा छ, प्रेस चौतारी नेपालले श्रमजीवी पत्रकारलाई संगठित गर्दै श्रमजीवी पत्रकारहरुको पक्षमा अभियान र आन्दोलनको नेतृत्व गर्दै आएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र सूचनाको हकको प्रवद्र्धनको नेतृत्व गरेको छ । व्यवसायिक पत्रकारिताको विकास र बिस्तारको नेतृत्व गरेको छ । सञ्चारसँग सम्बन्धित नीति, नियम र कानून निर्माणमा योगदान र पहलकदमी गरेको छ । समाज परिवर्तन र रुपान्तरणमा सञ्चार क्षेत्रबाट योगदान गरेको छ ।

अब हाम्रो सामु प्रश्न छ, बदलिएको अवस्थामा श्रमजीवी पत्रकारहरुको समस्या सम्बोधनको लागि के योजना छ ? ‘बदलिएको सन्दर्भमा पार्टीको प्रचार कामलाई प्रभावकारी बनाउने योजना के छ ?’बदलिएको अवस्थामा श्रमजीवी पत्रकारहरुको अभियान र आन्दोलनलाई कसरी बदल्ने ? ‘एजेन्डा सेटिङ’ सोसल मिडियाबाट भइरहेको बेला त्यसको प्रयोग र परिचालनको योजना के छ ?

‘एजेन्डा सेटिङ’ र आर्थिक दुबै हिसाबले न्यू मिडियाका सञ्चारकर्मीहरु प्रभावी भइरहेको बेला प्रेस चौतारीको झन्डामुनि उनीहरुलाई गोलबन्द गर्ने कार्य योजना के छ ?

हाम्रो सामु अर्को प्रश्न छ, पार्टीको मिसन–२०८४ लाई सफल पार्नका लागि प्रचारको योजना के छ ?,  पार्टीका नेता र नेतृत्वविरुद्ध निर्माण गरिएका गलत भाष्य र बिम्बलाई भत्काउने योजना के छ ? सिंगो समाज र पुस्तालाई निराशाको आँधीहुरी चलाएर डिप्रेसनमा लैजाने निराशाको खेती विरुद्ध सञ्चार क्षेत्रबाट कसरी आशाको सञ्चार गर्नेछौं ?

यसको लामो उत्तर बोकेर तपाईहरुसँग छु । सांगठानिक हिसाबले प्रेस चौतारी नेपाललाई एक श्रमजीवी पत्रकारको पहिलो संगठन र पार्टीको पहिलो जनसंगठनको रुपमा ३ वर्षमा स्थापित गर्नेछु । प्रेस चौतारी नेपालका सदस्यहरु पेसागत र वैचारिक हिसाबले सबैभन्दा अब्बल बन्नेछन् । भौतिक रुपमा ३ वर्षमा एक अत्याधुनिक प्रेस चौतारी नेपालको भवनमा नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्नेछु ।

टिप्पणीहरू