मोर्चाले एक लाख मान्छे उतार्ने, बाँकी निर्णय छिट्टै

मोर्चाले एक लाख मान्छे उतार्ने, बाँकी निर्णय छिट्टै
सुन्नुहोस्

चार राजनीतिक दल सम्मिलित समाजवादी मोर्चाले आगामी चैत १५ गते आयोजना गर्न लागेको बृहत जनासभाको तयारी तीब्र पारेको छ । 

चैत १ गते बसेको मोर्चाको १२औँ बैठकले मुलुकमा प्रतिगामी र बाह्य शक्तिको चलखेल बढेको निष्कर्ष निकाल्दै गणतन्त्रको पक्षमा र्यालीसहित जनसभा गर्ने निर्णय गरेको थियो । सोहीअनुसार मोर्चामा आवद्ध दलहरुले जिम्मेवारी बाँडफाँड गरेर तयारी अघि बढाएका छन् । 

जनसभा प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा गर्ने तय भएको नेकपा (माओवादी) केन्द्रका सचिव तथा सांसद देवेन्द्र पौडेलले जनआस्थालाई जानकारी दिए । उनका अनुसार कार्यक्रममा देशभरबाट करिब ८० हजारदेखि एक लाख हारहारीमा कार्यकर्ता जुट्ने मोर्चाको अनुमान छ ।

‘खुलामञ्चमा अहिले महानगरले प्रतिबन्ध लगाएको कारण भृकृटीमण्डमा गर्ने मोटामोटी टुंगो लागेको छ’, पौडेलले भने, ‘न्यूनतम ८० हजारदेखि एक लाखसम्म जनता त्यहाँ आउँछन् ।’ 

त्यस्तै, जुलुल र र्यालीका लागि रुट तय गर्नेबारे मोर्चामा छलफल चलिरहेको छ । ‘उपत्यकाको विभिन्न ठाउँमा भेला भएर जुलुस निकाल्दै भृकृटीमण्डप पुग्ने कार्यक्रम छ, त्यसका लागि अहिले कुन कुन रुट प्रयोग गर्ने, कसलाई कमाण्ड गर्न दिने भन्नेबारे अन्तिम छलफल गर्दैछौँ’, उनले भने । 

मोर्चामा आवद्ध सबै पार्टीका शीर्ष नेताले सभालाई सम्बोधन गर्नेछन् । यद्यपि, अन्य दल तथा गणतन्त्रवादी नेताले पनि सम्बोधन गर्नसक्ने पौडेलले बताए । 

तराइ-मधेश जागरण अभियानअन्तर्गत गृहजिल्ला चितवनमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौँ फर्किएपछि थप छलफल गरेर वक्ता तय गरिने बताइएको छ । प्रचण्ड आज साँझ वा भोलि बिहानसम्म काठमाडौँ आइपुग्ने बुझिएको छ । 

एकीकृत समाजवादीले १५ गतेको कार्यक्रममा उपस्थित हुन विभिन्न तहका पार्टी कमिटी र जनवर्गीय संगठनहरुलाई परिपत्र गरेको छ । काठमाडौँ आउन सम्भव भएका नेता-कार्यकर्तालाई यतै आउन भनिएको छ भने अन्यको हकमा आ-आफ्नो जिल्लामै गणतन्त्रको पक्षमा आयोजना हुने जुनसुकै आमसभा, प्रदर्शन तथा संघर्षका कार्यक्रममा सक्रिय हुन निर्देशन दिइएको छ ।

 

टिप्पणीहरू