तीनकुने काण्डबारे सोध्दा गृहबाट "गेट आउट" ?

गत शुक्रबार तीनकुनेको हिंसात्मक घटनालाई बेलैमा नियन्त्रण गर्न असफल भएको आरोप खेपिराखेका गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख रामचन्द्र तिवारी र काठमाडौँका सिडिओ ऋषिराम तिवारीउपर आन्तरिक छानविन भैरहेको बुझिएको छ ।
पत्रकार जिउँदै जलाइएको उक्त हिंसात्मक घटनामा सरकारको तर्फबाट तत्काल रणनीति बनाउने र कन्ट्रोल रुमबाट निर्देशन दिने जिम्मेवारीमा रहेका उनीहरुको कमजोरी कुन स्तरमा रह्यो भन्नेबारे आन्तरिक विश्लेषण भैरहेको मन्त्रालय स्रोतको दावी छ ।
यसै विषयमा गृह प्रवक्तासमेत रहेका रामचन्द्रसँग हिँजाे अपराह्न मन्त्रालयमा जनआस्थाका पत्रकारले डेढ घण्टा कुरेर केही कुरा बुझ्न खोज्दा आक्रोशित हुँदै उनले मन्त्रालयबाट निस्कन आदेश दिए । निकै रुखो व्यवहार देखाउँदै घुमाउरो भाषामा प्रहरी लगाएर गलहत्याउने चेतावनीसमेत दिए ।
'तपाईं सुरक्षा महाशाखा प्रमुखको चेम्बरमा हुनुहुन्छ,बुझ्नुभो ?' भन्दै जे पनि गर्नसक्ने संकेत दिए । आन्दोलनकारीको आक्रमणमा परी रिपोर्टिङस्थलमै पत्रकार मारिएको यस्तो संवेदनशील घटनासँग सम्बन्धित विषयमा जानकारी लिन खोज्दा अत्यन्त निर्दयी रुपमा प्रस्तुत भएका रामचन्द्रको विगत प्रेसमैत्री छैन । यसअघि सुनसरीको सिडिओ हुँदा पनि त्यहाँका स्थानीय पत्रकारलाई होच्याउने किसिमले प्रस्तुत हुने गरेको आरोप थियो ।
उध्योग विभागको डिजी र अध्यागमन निर्देशक हुँदा पनि विवादमुक्त रहेनन् ।कम्पनी रजिस्ट्रार हुँदा छिमेकी चीनलाई चिढ्याउन ताइवानी कम्पनीहरुलाई कपी राइट दिलाए । अहिले गृह मन्त्रालयमा पर्वतवासीहरुको हालीमुहाली भएपछि उनमा अहम् र निरङ्कुश शैली बढेको आरोप छ ।
टिप्पणीहरू