राप्रपाको आजको प्रदर्शन शाकाहारी हुने,बिहानैदेखि सुरक्षामा कडाइ
पूर्व पञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज प्रशासनद्वारा निर्धारित क्षेत्रमै शान्तिपूर्ण प्रदर्शन गर्ने भएको छ । संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र पुनःस्थापनाको माग गर्दै राजधानीको बल्खु चोकमा बिहान साढे ११ बजेदेखि गर्न लागिएको प्रदर्शन शान्तिपूर्ण हुने राप्रपाले जनाएको छ ।
हिजो प्रहरी अधिकारीहरुसङ्गै फिल्ड निरीक्षणमा गएका पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले त्यस क्रममा कुनै हिंसात्मक गतिविधि नहुने प्रतिबद्धता जनाएका थिए । "रिङ्गरोडको खुल्ला ठाउँमा प्रदर्शन हुँदैछ,ठुल्ठूला भवनहरु अलि पर पर छन् । तपाईंहरु कहाँ बसेर अश्रुग्यास हान्नुहुन्छ ?"-सुरक्षा अधिकारीहरुसङ्ग ठट्टा गर्दै उनले भने । यसैवीच उनले सम्पूर्ण राजावादीलाई प्रदर्शनमा सहभागी जनाउन आह्वान गरेका छन् । आजको कार्यक्रमलाई उनीसहित पार्टीका वरिष्ठ नेताहरुले सम्बोधन गर्नेछन् ।
गत चैत १५ गते विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँले ‘कमाण्ड’ गरेको राजावादी आन्दोलन उग्र बनेपछि प्रहरीले आज बिहानैदेखि सुरक्षा कडाइ गरेको छ । प्रदर्शनका लागि दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
टिप्पणीहरू