गोप्य मिसनमा नेपाल छिरेका भारतीय प्रहरी पक्राउ

गोप्य मिसनमा नेपाल छिरेका भारतीय प्रहरी पक्राउ

गोप्य रुपमा नेपाल आएको भारतीय प्रहरी पक्राउ परेका छन् । पञ्जाब पुलिसको एन्टी–ग्याङस्टार टास्क फोर्स (एजिटिएफ)का अधिकारीहरुलाई काठमाडौंमा नियन्त्रणमा लिएपनि उनीहरुलाई दूतावासमार्फत् भारत फर्काइएको बताइन्छ ।

भारतको गृह मन्त्रालयले प्रदेश प्रहरीका मुख्यालय र डिजिपीहरुको लागि एक सर्कुलर जारी गरेपछि उक्त घटना सतहमा आएको हो । बताइए अनुसार एजिटिएफका केही अधिकारीहरु एक अन्डरग्राउण्ड ग्याङस्टारको खोजी गर्ने नाममा गत फेब्रुअरीमा काठमाडौँ आएका थिए । तर ग्याङस्टार पक्राउ पर्नुअघि नै उक्त प्रहरी टोली यता नियन्त्रणमा परेको हो ।

हिन्दुस्तान टाइम्सका अनुसार उनीहरुलाई केही दिन नेपाल प्रहरीको हिरासतमा राखिएको थियो । भारतीय गृह मन्त्रालयले यताको गृह मन्त्रालयलाई खबर गरेपछि बल्ल उनीहरुलाई दूतावासको जिम्मा लगाइएको बताइन्छ । 

योसँगै भारतीय गृह मन्त्रालयले अबदेखि नेपालमा सुरक्षा अधिकारी पठाउँदा पूर्व जानकारी गराउन भन्दै सम्पूर्ण प्रदेश प्रहरी मुख्यालयलाई निर्देशन दिएको छ । एक भारतीय पूर्व प्रहरी अधिकृतले भनेका छन्, ‘बिना अनुमति प्रहरी नेपाल जानु र लज्जास्पद ढंगले पक्राउ पर्नुले देशको बेइज्जती भएको छ’ । पञ्जाब प्रहरीको एजिटिएफ प्रमुख प्रमोद बानले सूचना संकलनको लागि केही अधिकारीलाई नेपाल पठाइएको र अनुमति नलिँदा उक्त घटना निम्तिएको स्पष्ट पारेका छन् ।

टिप्पणीहरू