रविकी श्रीमती सर्वोच्चमा
भैरहवास्थित जिल्ला कारागारमा रहेका रवि लामिछानेकी श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा रिट दर्ता गरेकी छन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको निर्णयविरुद्ध उनले सर्वोच्च गुहारेकी हुन् ।
रास्वपा सभापति एवम् भूतपूर्व उपप्रधान तथा गृहमन्त्री लामिछानेकी श्रीमती पौडेल स्वयम्ले अदालत पुगेर रिट दर्ता गरेकी छन् । सर्वोच्च स्रोतका अनुसार लामिछानेले आफूलाई थुनामा पठाउने उच्च अदालतको आदेश खारेजीको माग गर्दै अस्ति रुपन्देही कारागारभित्रैबाट निवेदन पठाएका हुन् । उनको सोही निवेदन बोकेर पत्नी निकिता पौडेल सर्वोच्च पुगेकी हुन् । ‘कारगारभित्रैबाट आएको निवेदन हो, दर्ता भइसकेको छ’, सर्वोच्चका उपरजिष्ट्रार तथा सूचना अधिकारी निराजन पाण्डेले जनआस्थासँग भने, ‘यहाँ (सर्वोच्च) चाहिँ उहाँको म्याडम (निकिता) र वकिलले लिएर आउनुभएको हो ।’
गत चैत २२ गते उच्चका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा पठाएको थियो । त्यसअघि जिल्ला अदालतले गोर्खा मिडियाका तत्कालीन सञ्चालक तथा भूतपूर्व डिआईजी छवि जोशीलगायतलाई कारागार चलान गरेर रविलाई एक करोड धरौटीमा छुट्ने आदेश दिएको थियो ।
टिप्पणीहरू