राप्रपा बैठकमा आर्यघाटको याद

राप्रपा बैठकमा आर्यघाटको याद

- सीताराम भट्टराई

दुर्गा प्रसाईंले चैत्र १५ गते काठमाडौँमा मच्चाएको बितण्डापछि नेपालकै सर्वाधिक बलियो राजावादी पार्टीका रूपमा आफ्नो परिचय बनाएको र राजतन्त्र पुनःस्थापनालाई घोषित लक्ष्य निर्धारण गरेको दल राप्रपाको बैठक भोलिपल्टै बस्यो । समाचार स्रोतका अनुसार सो बैठकमा तीनकुने काण्डबाट राजनीतिक उपलब्धि हासिल भएको तर्क पेश गर्ने नेताहरूसमेत देखिए । जसमध्येका हुन्, कार्यसम्पादन समिति सदस्य हरिबहादुर बस्नेत । उदयपुरे पूर्वमन्त्री बस्नेतले आफ्नो धारणा राख्दै भने, ‘चैत्र १५ गते भएको प्रदर्शन र कार्यक्रमले ठूलो उपलब्धि हासिल भएको छ । अब त्यसलाई संस्थागत गर्नेतर्फ पार्टी अगाडि बढ्नुपर्‍यो ।’

उनको कुरालाई अर्का नेता डाक्टर प्रकाशचन्द्र लोहनीले समेत टाउको हल्लाएर समर्थन जनाएपछि निकै कडा सवाल जवाफ भयो । कतिपयले त्यसदिन गलत काम भएको र त्यसले पार्टी र एजेण्डा दुवैलाई ठूलो क्षति पुगेको बलियो तर्क पेश गरे । उनीहरूले राजावादीको उग्र समर्थनमा उत्रेका अरु नेताहरूलाई निकै नराम्ररी झपारे । हरिबहादुर थापालाई त सिधै भने, ‘तपाईँले पार्टी ध्वस्त पार्नुभयो । धन्न, हाम्रा अध्यक्ष त्यहाँ जानुभएन र थोरै भए पनि इज्जत जोगाउने ठाउँ रह्यो । नत्र त तपाईँले पार्टीलाई अस्ति नै आर्यघाटमा पुर्‍याइसक्नुहुन्थ्यो ।’

तर, राप्रपाभित्र उग्र राजावादीहरू उल्लेख्य संख्यामा छन् । एक नेताले जनआस्थासँग भने, ‘विवेक शून्य केही पात्र छन् । बोल्न हुने नहुने सबैथोक बोल्छन् । एकोहोरो ट्याउँ ट्याउँ गर्छन् ।’ उनले अगाडि थपे, ‘धवलसमशेरजस्ता बुद्धि नभएका राजनीतिक बालकहरू पनि छन् । डा. लोहनी, कुन्ती शाही, रवीन्द्र मिश्रलगायतले पार्टी बिगार्छन् भन्ने निश्कर्षमा पुगेका छौं ।’ उता सो सभामा सहभागी एक नेताले भने, ‘अश्रु ग्याँस हानेर बूढा नेताहरूलाई मञ्चमा नै ढालेपछि भीड भड्किएको हो ।’ 

दुर्गा प्रसाईं वा अन्य कुनै समूहले आयोजना गर्ने राजावादी सभामा समर्थन र सहयोग गर्ने वा नगर्ने भन्नेबारे अब भने सचेत भएर अगाडि बढ्ने निष्कर्षमा राप्रपा पुगेको छ । एक जिम्मेवार दलका हिसाबले कार्यक्रम के हो र कसरी अगाडि बढ्छ भन्ने सुनिश्चित नहुन्जेलसम्म उपरान्त त्यस्ता सभामा सहभागी नबन्ने निर्णय सोही बैठकले गरेको छ । तिनै नेताले भने, ‘राजाको नाम जोड्छन् । हामी घस्रिएर भए पनि जानुपर्ने स्थिति बन्छ । त्यसो गर्न गाह्रो छ हामीलाई । नजाऊँ आफ्नो एजेण्डा हो । जाऊँ बदनामी सहनुपर्छ ।’

यसैबीच, आगामी चैत २६ गते काठमाडौँमा राप्रपाले आफ्नो सभा आयोजना गर्दैछ । यसअघि नै काठमाडौँमा गर्नेगरी तोकिएको सो कार्यक्रम पोखराबाट काठमाडौँ फर्किने पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न भनेर रोकिएको थियो । सातवटै प्रदेशमा सभा आयोजना गर्ने घोषित कार्यक्रमअन्तर्गत अन्य प्रदेशमा त्यस्ता कार्यक्रम सम्पन्न भैसकेको छ । हालै राजावादीका नाममा भएको अराजक गतिविधिका कारण लोकप्रियता ह्वात्तै घटेका बेला राप्रपाले आयोजना गर्ने सो पूर्वनिर्धारित अभियान समापन सभा कुन तहसम्म सफल हुने हो र त्यसमा जनसहभागिता कस्तो रहने हो त्यो भने हेर्न बाँकी नै छ ।
दक्षिणी कनेक्सन

पहिलो संविधानसभा चुनाव र त्यसपछिका केही वर्ष मधेसको राजनीति मधेसवादी दलकै पकडमा रह्यो । संविधानसभामा हस्तक्षेपकारी उपस्थिति जनाएका उनीहरूलाई बाह्य शक्ति केन्द्र खासगरी भारतको समेत दह्रो साथ र समर्थन थियो । तर, दोस्रो संविधानसभासम्म आइपुग्दा छिन्नभिन्न हुँदै निकै कमजोर बनेका ती अहिले लगभग अस्तित्व रक्षाको संकटमा छन् । नेपाली राजनीतिको एक दशक पुरानो यो सन्दर्भ यतिबेला राजावादी दल र उनीहरूले अगाडि गर्न लागेको आन्दोलनसँग मेल खाएको छ । 

एउटै मुद्दा बोक्ने झण्डै एक दर्जन पार्टी अस्तित्वमा रहँदा कुनलाई समर्थन गर्ने र कसको गोजी भरिदिने भन्ने अलमलले जसरी मधेस आन्दोलन कमजोर बन्यो, त्यसैगरी राजावादी आन्दोलन पनि विभिन्न शक्तिको आ–आफ्नै स्वार्थ टकरावले छिन्नभिन्न हुने अवस्थामा पुग्दैछ । नेपालमा राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापनाको समान उद्देश्य लिएकाहरू विभिन्न समूहमा छरिएका छन् । दर्जनौँ संख्यामा रहेका उनीहरू एकअर्काको अस्तित्व स्वीकार नगर्दा राजा फर्काउने आन्दोलनले गति लिन सकेको छैन । यसैबीच, पूर्वराजा ज्ञानेन्द्रले राजेन्द्र लिङदेन, कमल थापा, केशरबहादुर विष्टजस्ता पाका र पुराना नेतालाई पन्छाएर एक–डेढ वर्षअघि मात्रै राजावादी बनेका मेडिकल माफिया दुर्गा प्रसाईंलाई च्यापेपछि आपसी अविश्वास थप चर्किएको छ ।   

राजतन्त्रको मुद्दा बोक्ने वैधानिक र सबैभन्दा ठूलो शक्ति राप्रपाभित्रै नेतृत्वलाई लिएर एक मत देखिँदैन । पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनीजस्ता पुराना पञ्चहरू संवैधानिक बाटोबाटै राजसंस्था फर्काउनुपर्ने मत राख्छन् । रवीन्द्र मिश्र र ज्ञानबहादुर शाहीजस्ता नवराजावादीचाहिँ सडकमा हाहा–हुहु गरेर भए पनि व्यवस्था पल्टाउन कस्सिनुपर्छ भन्छन् । शिव सेनालगायतको एउटा ग्रुप छ, जो हिन्दुत्वलाई बढी प्राथमिकता दिनेमा पर्छ । पूर्वराजाको नाममा आ–आफ्नै स्वार्थ बोकेर कुदेका यी शक्तिबीच साझा मिलन बिन्दु देखिँदैन ।

यता, पूर्वराजा शाहलाई भेटेर फर्केलगत्तै राजा फर्काउने आन्दोलनको कमाण्डर तोकिएका र शुक्रबार तीनकुनेमा विध्वंस मच्चाएर फिल्डबाटै फरार भएका दुर्गा प्रसाईंको हर्कतले राजावादीलाई अर्को तनाव थपिदिएको छ । औपचारिक रूपमा जे बोले पनि राप्रपाको निचोड छ– राजसंस्थाको नाममा दुर्गेले मच्याएको लुटपाट र विध्वंसले सरकारको अलोकप्रियता ढाकछोप गर्ने र गणतन्त्रवादी एक ठाउँमा हुने अवस्थासमेत सिर्जना गरिदियो । 

‘फागुन २५ गते ज्ञानेन्द्र सरकार पोखराबाट फर्किंदा जुन जनलहरजस्तो देखिएको र त्यसले एउटा तरंग पनि ल्याएको थियो, शुक्रबारको घटनापछि त्यसमा ब्रेक लागेको छ’, राप्रपासम्बद्ध स्रोत भन्छ, ‘अर्कोचाहिँ हिंसाको कुरामा यिनीहरूको चरित्र यस्तै रहेछ भन्ने आममान्छेमा सन्देश गएको छ । दरबार, राजावादी र राप्रपालाई पनि यो एउटा सेटब्याक नै हो ।’

दुर्गा प्रसाईं टाइपका अराजक मान्छेको नेतृत्वमा आन्दोलन अगाडि बढाउने कि ! आफ्नै मौलिक पहिचान जोगाएर जाने ? निर्मल निवास चिढिने डरले १५ गतेअघि बोल्न नसकेको राप्रपा अन्ततः एक्लै आन्दोलनमा जाने निर्णयमा पुगेको छ । तर, एकल नेतृत्व गरेर आन्दोलनले उचाइ लिने अवस्था भने छैन । ८० प्रतिशत हिन्दू जनसंख्या भएकाले राजाप्रति सहानुभूति राख्ने ठूलोपंक्ति छ तर निष्क्रिय रहेको त्यो शक्ति कुनै यौटा संगठन विशेषमा आबद्ध छैन । तिनीहरूलाई समेत विश्वासमा लिएर आन्दोलन चर्काउनकै लागि पूर्वराजाको पहलमा नवराज सुवेदीको नेतृत्वमा परिचालन समिति बनेको हो । तर, पहिलो गाँसमै ढुंगा भनेझैँ त्यो समितिले पनि गरिखाने छाँट देखिँदैन ।

राप्रपाको उद्देश्य आउने चुनावमा दुई–चार सिट बढाउने र केही थान मन्त्री लिएर सरकारमा जानेसम्म हो । किनभने यो संवैधानिक व्यवस्थाभित्र राजा पुनःस्थापित गर्न सकिन्छ भन्नेमा उसलाई विश्वास छैन । निर्मल निवासले षड्यन्त्र ग¥यो भन्दै बालकोट पुगेर केपी ओलीसँग हारगुहार गरेका कमल थापाहरू पनि काकताली परेर राजाको पक्षमा ह्विप आएछ भने फल खान सडकमा ओर्लिने मात्रै हुन् । विगतका अनुभव र यस्तै कारण लिङदेन र कमल थापालाई विश्वास नगरेका ज्ञानेन्द्रले निर्मल निवासमा रातो कार्पेट बिछ्याएर प्रसाईंलाई स्वागत गरेका थिए ।

०६४÷६५ तिर ढुंगामाटोसमेत गणतन्त्रको पक्षमा उभिएका बेला राजसंस्थाको बिऊ जोगाएका कमल थापाहरूलाई जिल्याउँदै निर्मल निवासको रोजाइमा परेका प्रसाईंको बाह्य शक्ति केन्द्रसँगको सम्बन्ध र कनेक्सनबारे पनि विभिन्न चर्चा चलिरहेको छ । भनिंदैछ, दक्षिणको आडमा गद्दीमा फर्किन लालायित ज्ञानेन्द्रले उतैको इशारामा प्रसाईंलाई नजिक राखेका हुन् । तर, के भारतीय संस्थापनसँग उनको सिधा कनेक्सन छ ? यसको कनेक्सन पत्ता लगाउन सुक्ष्म अनुसन्धान गरिरहेको सुरक्षासम्वद्ध स्रोत भन्छ, ‘आरएसएसको यहाँस्थित स्थानीय नेतासँग बाहेक अहिलेसम्म साउथ ब्लकसँग सिधै एक्सेस देखिएको छैन ।’

भारतमा उग्र हिन्दुत्वको नारा अघि सारेको बिजेपीको मातृ संगठन हो आरएसएस । नेपालमा राजसंस्था फर्काउने भन्दा पनि हिन्दुराष्ट्र बनाउनेमा उसको मुख्य चासो र सरोकार रहँदै आएको छ । तर, तीनकुने घटनमा आरएसएसको सिधा संलग्नता पुष्टि हुने आधार हालसम्म फेला नपरेको प्रष्ट पार्दै सुरक्षा स्रोतले बतायो, ‘यो सबै दुर्गेको उद्दण्ड हर्कत र सैतानी दिमागको उपज हो ।’

यता, दुई जना मरेको विषय र तोडफोडको घटनालाई अपराधसँग जोडेर बलियो प्रमाणसहित मुद्दा दर्ता हुने र दोषीले सजाय पाउने अवस्था आयो भने राजावादी आन्दोलन थप संकटमा पर्नेछ । त्यसैले प्रहरी, सरकारी वकिल र न्यायाधीशको परीक्षाको घडी शुरु भएको छ । राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैनन् भनेजस्तै गणतन्त्रमाथि संकट आएको बेला प्रचण्ड, माधव नेपाल र विप्लवहरू तुष नराखी एकसाथ सडकमा आए, जबकि ठूलो राजनीतिक शक्ति हुनुको नाताले कांग्रेस–एमालेले गर्नुपर्ने काम हो त्यो ।

यो बेला सबै दल मिलाउनेतिर सरकारले भूमिका खेल्नुपर्नेमा प्रतिपक्षमाथि कटु बचन बोल्ने प्रधानमन्त्री केपी ओलीको कार्यशैली सुध्रिएको छैन । माओवादीको पालामा नियुक्ति पाएका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने र त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बराललाई राजीनामा दिन बाध्य पार्ने कुराले पनि सरकार र प्रतिपक्षबीच मनमुटाव बढ्दै छ । अर्को कुरा, दुर्गाको वितण्डापछि थप सिथिल भएका ज्ञानेन्द्रसँग बदला लिनेगरी उनको सुरक्षा घटाउने र पासपोर्ट रद्द गर्ने कुराले समाज भड्किन सक्ने खतरातर्फ पनि सरकारको ध्यान नपुगेको देखिन्छ । 
 

टिप्पणीहरू