अमेरिकी व्यापार युद्धको प्रतिकार गर्न पहिल्यै तयार थियो चीन
चिनियाँ राष्ट्रपति सि दक्षिणपूर्वी एशियाका देशसँग बलियो सम्बन्ध बनाउँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्यारिफ युद्ध घोषणा गरेपछि चिनियाँ राष्ट्रपति सि चिनफिङ छिमेकी मुलुकहरूसँग सम्बन्ध बनाउनमा जुटेका छन् । उनी ट्रम्पले ट्यारिफ युद्ध घोषणा गरेपछि छिमेकी भियतनाम,मलेसिया र कम्बोडियाको यात्रामा निस्किएका छन् ।
भियतनाममा चिनियाँ राष्ट्रपतिलाई भव्य स्वागत गरिएको छ । त्यहाँ उनले कम्युनिस्ट पार्टीका महासचिव टो ल्यामसहित प्रधानमन्त्री फाम मिन्ह चिन्हसँग वार्ता गरेका छन् । सोमबार दक्षिण पूर्व एशियाको भ्रणमा निस्किने क्रममा सिले ट्यारिफ युद्धमा कसैको जित नहुने बताएका छन् । चीन वैश्विक स्थिरताका लागि प्रतिबद्ध रहेको पनि उनले बताए । सिको यो भनाइ डोनाल्ड ट्रम्पले चीनमाथि १४५ प्रतिशतसम्म ट्यारिफ लगाएपछि आएको हो । तर ट्रम्पले केही ट्यारिफ तत्काललाई हटाएका छन् ।
चीनले जवाफी ट्यारिफ लगाएपछि अमेरिकासँग व्यापार युद्ध छेडिएको छ । दुवै देशले एक-अर्कामाथि भारी मात्रामा कर लगाएका छन् । यसबीच चिनियाँ राष्ट्रपति सि चिनफिङ भियतनाम पुगेपछि अमेरिकी ट्यारिफविरुद्ध मोर्चाबन्दी थालेको टिप्पणी भइरहेको छ । उनले बहुपक्षीय व्यापार प्रणाली,स्थिर वैश्विक औद्योगिक,आपूर्ति श्रृंखला र खुल्ला वातावरणको दृढतासहित रक्षा गर्नु आवश्यक रहेको पनि बताए ।
सिंगापुरको आईएसईएस युसुफ इसाक इन्स्टिच्युटका बेइजिङ फेलो गुयेन खाक गियाङ्ग सिको यो यात्राका क्रममा चीनले दक्षिण-पूर्व एशियालाई एक जिम्मेवार महाशक्ति रहेको सन्देश दिन चाहेको बताउँछन् । डोनाल्ड ट्रम्पका कारण चीन अहिले पूरा विश्वमा नयाँ शैलीका साथ प्रस्तुत हुन खोजिरहेको छ ।
गुयेनले भियतनाम,मलेसिया र कम्बोडियाको यात्रामार्फत सिले चीनलाई वास्तवमै ट्रम्पको ट्यारिफ युद्धबाट जोगाउने उपाय खोज्नेछन् । सन् २०१२ मा राष्ट्रपति बनेपछि उनले जम्मा दुई पटक भियतनाम यात्रा गरेका छन् । यो उनको तेस्रो यात्रा हो । उनी यसअघि सन् २०२३ डिसेम्बरमा त्यहाँ पुगेका थिए ।
अन्तर्राष्ट्रिय आर्थिक संकट बढिरहेका बेला एशियाली देशको यात्राका क्रममा सिले एक बलियो राजनीतिक सन्देश दिन चाहेका छन् । दक्षिण पूर्व एशिया चीनका लागि महत्वपूर्ण रहेको सन्देश पनि उनले दिन खोजेका छन् । ट्रम्पको ट्यारिफबाट दक्षिण-पूर्व एशियाली राष्ट्र पनि तनावमा छन् । यदि अमेरिकाले ट्यारिफ साँच्चिकै लगाइदियो भने देशको विकास प्रक्रिया जटिल हुन सक्ने उनीहरूको बुझाइ छ । सिले त्यहीकारण यी देशको यात्रामा निस्किएर चीन कसरी दबावपूर्ण र स्वार्थी अमेरिकाको ठीक विपरीत व्यवहार गर्छ भन्ने देखाउन चाहेका छन् । यस संकटको समयमा चीनले लिने नेतृत्वदायी भूमिका र व्यवहारले विश्वको भूराजनीतिक शक्तिमा पनि प्रभाव पार्नेछ ।
चीनले अब अमेरिकाले आफूलाई जति हानी गर्न सक्छ आफूले पनि अमेरिकालाई उति नै हानी गर्न सक्ने हिसाब निकालिसकेको छ ।
भियतनामसँग सम्बन्ध
भियतनामले अमेरिका र चीनसँग सन्तुलित सम्बन्ध राख्दै आएको पुरानो अनुभव बोकेको छ । यो चीनजस्तै कम्युनिस्ट मुलुक हो । तर अमेरिकासँग पनि भियतनामको बलियो सम्बन्ध छ । सन् २०२३ मा भियतनाम एकमात्र यस्तो देश थियो जसले अमेरिकी राष्ट्रपति जो बाइडन र चीनका राष्ट्रपति सि चिनफिङ दुवैलाई स्वागत गरेको थियो ।
उता चीन भियतनामको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । सन् २०२४ मा मात्रै चीन-भियतनाम व्यापारमा १४.६ प्रतिशत वृद्धि भएको थियो । वर्तमान व्यापार युद्धका कारण भियतनाम ठूलो संकटसामु उभिएको छ । त्यही बुझेर नै सिले भियतनाम यात्रा गरेका हुन् ।
चीन एशियाको एक विशाल र प्रभावशाली शक्तिका रुपमा उदाइसकेको छ । उसको छिमेकी देशसँगको सम्बन्ध सदैव राजनीतिक,आर्थिक र रणनीतिक दृष्टिले महत्वपूर्ण रहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि १४५ प्रतिशत शुल्क (ट्यारिफ) लगाएपछि सिले दक्षिण पूर्वी एशियाका यी तीन देशसँगको सम्बन्ध अझै बलियो बनाउने रणनीति बुनेका छन् ।
दक्षिणपूर्वी एशियामा चीनको नजर
चिनियाँ विदेश मन्त्रालयले गत शुक्रबार मात्रै राष्ट्पति सि १४ देखि १८ अप्रिलसम्म भियतनाम, मलेसिया र कम्बोडिया यात्रामा जाने घोषणा गरेको थियो । यी तीन देश दक्षिण-पूर्व एशियाली राष्ट्रको संगठन (आसियान) का सदस्य हुन् । जससँग चीनको पछिल्लो वर्ष सर्वाधिक ९६२.२८ अर्ब अमेरिकी डलरको व्यापार भएको थियो । चीनको निर्यात कूल ५७५ अर्ब अमेरिकी डलर थियो । मलेसिया,भियतनाम र कम्बोडियासँग चीनको सम्बन्ध समयसँगै परिवर्तन भइरहेको छ । यी तीन देशसँग आखिर कस्तो छ त चीनको सम्बन्ध ? आउनुस् चर्चा गरौँ ।
चीन-मलेसिया सम्बन्ध
मलेसिया र चीनबीचको सम्बन्ध आम रुपमा बलियो र सकारात्मक दिशामै अघि बढेको छ। दुवै देशबीच आर्थिक र व्यापारिक सम्बन्ध विशेष रूपमा गहिरो छ। चीन,मलेसियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । दुवै देशबीच कयौँ ठूला पूर्वाधारसम्बन्धी परियोजना पनि चलिरहेका छन् । चीन र मलेसियाबीच राजनीतिक सम्बन्ध पनि स्थिर छ । तर दक्षिण चीन सागरमा क्षेत्रीय दावीलाई लिएर कहिलेकाहीँ मतभेद पनि देखिन्छ । मलेसियामा ठूलो संख्यामा चिनियाँ मूलकै उपस्थिति छ।
भियतनाम-चीन सम्बन्ध
भियतनाम र चीन सम्बन्धमा इतिहास,युद्ध र सीमा विवादको ठूलो प्रभाव छ । सन् १९७९ मा भियतनाम र चीनबीच युद्ध भएको थियो । त्यसपछि दुवै देशबीच तनाव देखियो । दक्षिण चीन सागर विवाद दुवै देशको ठूलो मुद्दा हो । चीन पूरै सागरमा दाबी गर्छ । जबकि भियतनामले यसलाई चुनौती दिन्छ । दुवै देशको नौ सेनाबीच कयौँ पटक टकराव भएको छ । विवादका बावजुद भियतनाम र चीनबीच व्यापारिक सम्बन्ध धेरै बलियो छ । भियतनामको सबैभन्दा ठूलो आयात स्रोत नै चीन हो ।
कम्बोडिया-चीन सम्बन्ध
कम्बोडिया र चीनबीचको सम्बन्ध पछिल्लो दुई दशकमा अत्यन्त घनिष्ठ भएको छ । कम्बोडिया सरकारको एक प्रमुख राजनीतिक समर्थकका रुपमा चीन उभिएको छ । अन्तरराष्ट्रिय मञ्चमा कम्बोडियाले प्राय:जसो चीनकै पक्ष लिन्छ । कम्बोडियामा सबैभन्दा ठूलो लगानीकर्ता र दातृराष्ट्रका रुपमा चीन उभिएको छ । चीनले कम्बोडियाको विशाल संरचना निर्माणका लागि लगानी गरेको छ । केही विश्लेषकले कम्बोडियाले चीनका लागि दक्षिण पूर्व एसियामा एक ‘साझेदार’ को भूमिका निर्वाह गरिरहेको बताएका छन् । खासगरी आसियानमा चीनको हित रक्षार्थ कम्बोडिया अग्रपंक्तिमा देखिन्छ ।
पछि हटे ट्रम्प
चीनको चालका कारण डोनाल्ड ट्रम्पले विश्वभरका व्यापारिक साझेदारमाथि लगाएको भारी करबाट पछि हट्ने निर्णय लिएका छन् । नाटकीय रुपमा उनले यसमा अचानक फेरबदलसहित आफूलाई एक कदम पछि हटाएका हुन् । ट्रम्पको यो निर्णयले अन्य देशलाई ९० दिनका लागि राहत मिलेको छ । उता प्रतिस्पर्धी चीनमाथि भने उनले अझै कर बढाएका छन् ।
ट्रम्पले ९ अप्रिलमा चिनियाँ सामानमाथि कर बढाएर १२५ प्रतिशत बनाए । ट्रम्पले वैश्विक बजारलाई चीनले सम्मान नगर्ने आरोप लगाए । शायद ट्रम्पलाई उनको करविरुद्ध चीनले उभिएर सामना गरेको मन परेको थिएन । कयौँ देशले ट्रम्पको कर बढाउने निर्णयविरुद्ध तत्काल कुनै कारबाही गरेनन् । उनीहरूले वार्ताबाट समाधानको विकल्प रोजे । नेपालकै छिमेकी भारतले पनि ट्रम्पको निर्णयबारे मौन रहँदै वार्ताको बाटो रोजेको छ । तर चीनले आँटसहित फरक बाटो रोज्यो । तत्कालै जवाफ पनि दियो । अमेरिकामाथि १२५ प्रतिशत कर लगाइदियो । अब दुवै देशबीच व्यापारलाई लिएर तनाव चुलिएको छ । चीन कुनै हालतमा पछि हट्ने पक्षमा छैन । अमेरिका-चीन सम्बन्धका एक जानकारका अनुसार चीनले ट्रम्प तत्कालै व्यापार युद्धमा उत्रिने विश्वास गरेको थिएन । सन् २०१८ मा जब ट्रम्पले चीनसँग व्यापार युद्ध शुरू गरेका थिए तब चीनले वार्ता गर्न चाहेको थियो । तर अब चीन धेरै बलियो अवस्थामा छ । चीनले ट्रम्पले थालेको कर युद्धकै बीचबाट आफ्नो शक्ति बढाउन सक्ने निष्कर्ष पनि निकालेको छ।
चीनका लागि विश्वराजनीतिक अवस्था पनि फेरिएको छ । ट्यारिफ लगाउँदा चीनका दोस्रो देशमा सामान निर्यात गर्ने व्यापारीलाई पक्कै पनि असर गर्नेछ । खासगरी अमेरिकाका लागि फर्निचर, कपडा,खेलौना र घरेलु सामान बनाउनेलाई यो युद्धले ठूलो क्षति पुग्नेछ । ट्रम्पले पहिलो पटक सन् २०१८ मा चीनमाथि कर थोपरेका थिए । त्यसपछि कयौँ आर्थिक कारणबाट अहिले चीनले आफूलाई बलियोसँग विश्वमाझ उभ्याएको छ ।
अमेरिकी राजनीतिक वैज्ञानिक प्रोफेसर ग्राहम एलिसनले भने, ‘सि चिनफिङ चीन र अमेरिकी व्यापारिक युद्धको खतराबारे जानकार थिए । उनी ‘खराब समय’का लागि तयार भएर बसेका थिए ।’
घट्दै अमेरिकी बजारको महत्त्व
सबैभन्दा महत्वपूर्ण कुरा त के हो भने अब चीनको अर्थव्यवस्थाका लागि अमेरिकी बजार पहिलेजस्तो महत्वपूर्ण रहेन । सन् २०१८ मा जब व्यापार युद्ध शुरू भएको थियो तब चीन जति सामान निर्यात गर्थ्यो त्यसमा १९.८ प्रतिशत अमेरिका पठाउँथ्यो । सन् २०२३ मा यो आँकडा घटेर १२.८ प्रतिशतमा झरिसकेको छ । ट्यारिफ लागेपछि अब चीनले आफ्नै घरेलु माग बढाउने कुरामा ध्यान दिन सक्छ । यसले चिनियाँ नागरिकसामु खर्च गर्न धेरै पैसा हुनेछ जसले चीनको अर्थव्यवस्था झन् बलियो बनाउने बाटो खोल्छ ।
सन् २०१८ मा जब व्यापार युद्ध सुरू भएको थियो तब चीनको अर्थव्यवस्था तीव्र गतिमा बढिरहेको थियो । तर अब अवस्था अर्कै भइसकेको छ। रियल इस्टेट बजारमा मन्दी छ । चीनविरुद्ध ट्रम्पको ट्याक्स नीतिले विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थव्यवस्थालाई एक बहाना मिल्न सक्छ । चिनियाँहरूमा अमेरिकाका कारण आफ्नो देशको अर्थतन्त्र बिग्रिरहेको लागेमा चीनले आफूलाई अझै मजबुत बनाउन सक्नेछ ।
चीनलाई राम्रोसँग थाहा छ,अमेरिकाले तत्कालै र सजिलै चिनियाँ सामानको परनिर्भरता समाप्त गर्न सक्दैन । खासगरी आपूर्ति प्रणालीको मामिलामा । भलै अमेरिकाले चीनबाट कम सामान किनिरहेको छ तर अहिले पनि ऊ कयौँ सामानमा चीनसँगै निर्भर छ । जस्तै चीनमा बनेका सामान र कच्चा वस्तु । सन् २०२२ सम्म अमेरिका ५३२ किसिमका सामानका लागि चीनमा निर्भर थियो । यो सन् २००० को तुलनामा चार गुणा धेरै हो । उता चीनको अमेरिकासँग निर्भरता आधीभन्दा कम छ ।
स्वभाविक हो,कर बढेपछि सामानको मूल्य अवश्य बढ्छ। यसले अमेरिकी,खासगरी गरिब भड्किन सक्छन् । चीनले ट्रम्पको ट्यारिफबाट अमेरिकी अर्थव्यवस्था मन्दीतर्फ जाने आकलन गरेको छ ।
चीनसँग छन् कयौँ विकल्प
चीनसँग अमेरिकाविरुद्ध कारबाही चलाउन कयौँ तरिका र विकल्प छन् । उसले आफ्नो मुद्रा युआनलाई अझै कमजोर हुन दिने छ । जसले उसको निर्यात अझै सस्तो हुनेछ । उसले दुर्लभ खनिजको निर्यात पनि रोक्न सक्छ । यसका अलावा चीनमा ‘अविश्वसनीय संस्था’ को सूचीमा सामेल अमेरिकी कम्पनीमाथि प्रतिबन्ध पनि लगाउन सक्नेछ ।
चीनसँग दुर्लभ खनिजको विश्वभर आपूर्ति प्रणालीको नियन्त्रण छ । यो सैन्य र उच्च प्रविधि उद्योगका लागि अति नै जरूरी हुन्छ । एक अनुमानअनुसार अमेरिकाले विश्वभरबाट आयात गर्ने दुर्लभ खनिजमध्ये चीनबाट मात्रै करिब ७२ प्रतिशत लैजान्छ ।
चीनले गत ४ मार्चमा १५ अमेरिकी कम्पनीलाई आफ्नो निर्यात नियन्त्रण सूचीमा हालेको थियो । ९ अप्रिलमा १२ अरू कम्पनीलाई यस सूचीमा राखिसकेको छ। यिनमा कयौँ अमेरिकी रक्षा कम्पनी र उच्च प्राविधिक कम्पनी छन् । यी कम्पनी दुर्लभ खनिज पदार्थमा निर्भर छन् ।
चीनले पोल्ट्री र सोयाबिनजस्ता अमेरिकी कृषि उत्पादनलाई पनि निशाना बनाउन सक्नेछ । यी उद्योग चीनको मागमा धेरै निर्भर छन् । यी उद्योग रिपब्लिकन राज्यहरूमा छन् । अमेरिकाले जति भटमास अन्य देशमा पठाउँछ,त्यसको लगभग आधा चीनमा जान्छ । चीनले ४ मार्चमा तीन ठूला अमेरिकी सोयाबिन कम्पनीबाट आयात गर्ने अनुमति बन्द गरिदिएको थियो ।
कयौँ अमेरिकी कम्पनी जस्तै,एप्पल र टेस्लाले चीनमै सामान उत्पादन गर्छन् । ट्यारिफ लागेपछि यिनको मुनाफा पनि घट्ने छ । एप्पलका आईफोनको नाफा घट्न सक्छ भने एलन मस्कलाई पनि टेस्लाबाट धक्का लाग्न सक्छ । चीनले यसको प्रयोग ट्रम्प प्रशासनविरुद्ध गर्न सक्छ ।
एलन मस्कको चीनसङ्ग ठूलो व्यापारिक सम्बन्ध छ। चीनले यसको फाइदा ट्रम्प प्रशासनलाई फुटाउनमा लिन सक्नेछ । एलन मस्क ट्रम्पका निकट सल्लाहकार हुन् । उनले ट्यारिफको मुद्दामा अमेरिकी व्यापार सल्लाहकार पिटर नभारोसँग ह्वाइट हाउसमै बहस गरेका थिए । यसले ट्रम्प प्रशासनमा विभाजन ल्याउने अनुमान गरिएको छ ।
अमेरिकाले आफ्नै खुट्टामा हान्यो बञ्चरो
चीनको बुझाइमा ट्यारिफ कार्ड खेलेर ट्रम्पले अमेरिकाको खुट्टामा बञ्चरो हानेका छन् । चीनले आफू ट्रम्पको ट्यारिफको सामना गर्न तयार रहेको जनाइसकेको छ । उसले अमेरिकाले आफ्नो व्यापारिक साझेदारमाथि हमला गरेर आफ्नै तागत कमजोर पारेको ठानेको छ। अमेरिका आफैंले आफ्नो शक्ति घटाइरहेको निष्कर्षसहित चीनले यसलाई आफ्नो हितमा उपयोग गर्ने रणनीति बनाएको छ ।
यसका कारण पूर्वी एसियाको राजनीतिक वातावरण नै फेरिन सक्ने अनुमान गरिएको छ । यस वर्ष ३० मार्चमा (ट्रम्पको तर्फबाट चीनमाथि कर बढाउने निर्णयपछि) चीन,जापान र दक्षिण कोरियाले पाँच वर्षमा पहिलो पटक आर्थिक वार्ता गरेका छन् । उनीहरूले मिलेर व्यापार गर्ने निर्णय पनि गरेका छन् ।
यो कदम यसअर्थमा धेरै महत्वपूर्ण छ, तत्कालीन अमेरिकी बाइडेन प्रशासन चीनको प्रभाव कम गर्न जापान र दक्षिण कोरियालाई आफ्नो साथमा लिने कोसिसमा लागिरहेको थियो । चीनले अहिले पनि ट्रम्पको कारबाहीबाट हिन्द-प्रशान्त क्षेत्रमा अमेरिकी प्रभाव कम हुने निष्कर्ष निकालेको छ।
यसैगरी ट्रम्पको भारी ट्यारिफका कारण दक्षिण-पूर्व एसियाली देशहरू पनि चीनको नजिक आउन सक्नेछन् । चिनियाँ सञ्चारमाध्यमले ११ अप्रिलमा राष्ट्रपति सि चिनफिङ तीन देशहरू भियतनाम,मलेसिया र कम्बोडिया जाने बताउँदै यस्तो दाबी गरेका थिए ।
ट्रम्प प्रशासनले कम्बोडिया,भियतनाम र मलेसियाको उत्पादनमा पनि भारी कर लगाएका छन् । कम्बोडियाली सामानमा ४९ प्रतिशत, भियतनामी सामानमा ४६ प्रतिशत र मलेसियाली उत्पादनमा २४ प्रतिशत कर लगाएका थिए । अब, युरोपेली संघ र चीनका अधिकारी व्यापारमा आउन सक्ने अवरोधबारे वार्तामा छन् । उनीहरू आगामी जुलाईमा चीनमा एक शिखर सम्मेलन गर्ने सोचमा छन् ।
चीनले ट्रम्पको ट्याक्स नीतिका कारण अमेरिकी डलर कमजोर हुने हिसाब निकालेको छ। कयौँ देशमा ट्याक्स लगाउँदा लगानीकर्तालाई अमेरिकी अर्थव्यवस्थामाथिको भरोसा पनि कम हुँदै जानेछ । यसले डलरको मूल्य पनि कम भएको छ । पहिले डलर र अमेरिकी ट्रेजरी बन्डलाई सुरक्षित मानिन्थ्यो । तर हालका दिन बजारमा आएको उथल-पुथलबाट यसमा शंका बढेको छ। भारी करबाट अमेरिकी अर्थव्यवस्था र उसको कर्जालाई लिएर चिन्ता बढ्दै गएको छ । यसले डलर र अमेरिकी ट्रेजरी दुवैमाथि भरोसा कम हुँदै गएको छ ।
अमेरिकन एलिमेन्ट्सका सिईओ माइकल सिल्भरले ट्रेड वारको आशंकामा गत वर्ष गरिएको स्टक पनि अबको ४५ दिनमा सकिने चेतावनी दिएका छन् ।
ट्रम्पको करबाट चिनियाँ अर्थव्यवस्थालाई केही क्षति पुग्नेछ । तर यस पटक चीनसँग खेल्नका लागि कयौँ विकल्प छन् । ऊसँग अमेरिकी हितलाई क्षति पुर्याउने सबै साधन उपलब्ध छन्। सबैभन्दा महत्वपूर्ण ट्रम्पको व्यापक ट्यारिफ युद्धले चीनलाई एउटा सुन्दर मौका पनि दिइरहेको छ ।
यस्तै एउटा मौका चीनले दुर्लभ धातुलाई लिएर उपयोग गरिरहेको छ । यी धातुको प्रयोग मिसाइल बनाउन गरिन्छ । चीनले विश्वभर यी धातुको आपूर्तिमा नियन्त्रण गरेर एक किसिमको हतियार जस्तै अमेरिकाविरुद्ध उपयोग गरिरहेको छ । अमेरिकाका लागि चीनको यो नीति धेरै खतरनाक साबित हुँदैछ । यसबाट उसको मिसाइल निर्माणमा गम्भीर असर पर्न सक्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रेड वार थालेपछि केही सामानमा राहत पनि दिएका छन् । आफैंलाई व्याक फायर हुने भएपछि उनले स्मार्टफोन,ल्यापटप र सेमिकन्डक्टरलाई करबाट बाहिर निकालिदिएका छन् । यी वस्तुको अमेरिकामा धेरै प्रयोग गरिन्छ । तर चीनले ट्रम्पको यो कदमलाई पनि अस्वीकार गरिदिएको छ।
स्मार्टफोनदेखि ल्यापटप र सेमिकन्डक्टर निर्माणमा चीन धेरै अघि पुगिसकेको छ। ट्रम्पले यो निर्णय एप्पल,डेल र एनभिडिया जस्ता ठूला कम्पनीलाई क्षति हुन नदिन चालेका हुन् । यी कम्पनी चीनबाट सामान मगाउँछन् । तर यस निर्णयको पछाडि पनि ठूलो कहानी छ । यो कहानी खनिज,मिसाइल र चुम्बकसँग जोडिएको छ। चीन दुर्लभ खनिजको प्रयोग अमेरिकाविरुद्ध एक हतियारकै रुपमा गर्दैछ । यसका कारण चीन र अमेरिकाबीचको व्यापार युद्ध अझै चर्किन सक्छ ।
चीनले दुर्लभ धातुको निर्यातमा रोक लगाइसकेको छ । ३ अप्रिलमा चीनले सात किसिमका भारी र मध्यम दुर्लभ धातु निर्यातमा रोक लगाएको हो । यिनमा डिस्प्रोसियम र यट्रियम पनि छन् । यी धातु अमेरिकाको रक्षा प्रणालीका लागि धेरै जरूरी छन्। कोलोराडो स्कूल अफ माइन्सका प्रोफेसर टम ब्र्याडीले इकोनोमिक टाइम्सलाई बताएअनुसार ‘यी धातु चीनका लागि हान्न तयार तीर सरह हुन् । यिनको प्रयोग गरेर चीनले अमेरिकाको बढ्दो करलाई जवाफ दिन सक्छ ।’
यट्रियमको प्रयोग रडार प्रणाली,लेजर र जेट जहाजको माथिल्लो भाग बनाउन लगाइन्छ । अर्कातिर डिस्प्रोसियमले चुम्बक बहुत तातो हुँदा पनि ठीकसँग काम गर्छ । यो इन्जिन र मिसाइलका लागि अति जरुरी हुन्छ । यी बिना अमेरिकाको नयाँ एनजीडीए फाइटर जेट उडान भर्न असक्षम हुनेछन् । ट्रम्पले यी जेट विमानलाई एफ -२२ र्याप्टरको उत्तराधिकारी भनेका थिए । एसएफए अक्सफोर्डकी जेमी अन्डरउडले भने, ‘चीनले जुन जरूरी मध्यम र भारी दुर्लभ धातुको निर्यातमा रोक लगाएको छ, त्यसबाट अमेरिकाको सुरक्षा, रक्षा उत्पादन र हाई-टेक उद्योगलाई धेरै खतरा छ ।’
यी खनिज सेनामा मात्रै प्रयोग हुँदैन विद्युतीय गाडी, स्मार्टफोन,मेडिकल डिभाइस र स्याटेलाइटको निर्माण पनि यसबाटै हुन्छ । ग्यालियममाथि पनि गत साल नै चीनले रोक लगाइसकेको छ। यो सेमिकन्डक्टर र एआई प्रणालीका लागि जरूरी छ।
अमेरिकी रक्षा प्रणालीमा असर
इकोनोमिक टाइम्सको रिपोर्टअनुसार अमेरिकाको क्रिटिकल मिनरल्स एडभाइजरी कमिटीका अध्यक्ष डेनियल पिकार्डले चीनले चालेको यो कदमका कारण अमेरिकामाथि गम्भीर असर पर्न सक्ने चेतावनी दिइसकेका छन् । अमेरिकन एलिमेन्ट्सका सिईओ माइकल सिल्भरले ट्रेड वारको आशंकामा गत वर्ष गरिएको स्टक पनि अबको ४५ दिनमा सकिने चेतावनी दिएका छन् । अमेरिकी क्रिटिकल म्याटेरियल्सका कार्यकारी निर्देशक हार्भे केयले चीनको प्रतिबन्धपछि अमेरिका फेरि क्रिटिकल मिनरलको मामिलामा आत्मनिर्भर बन्न सक्ने बताए ।
चीन बाहिर पनि ग्यालियमको सबैभन्दा राम्रो भण्डार त भेटिएको छ तर सन् २०२६ सम्ममा यसको पहिलो खेप अमेरिकी प्रशासनलाई बुझाउने सम्भावना अब कमजोर भएको छ । ट्रम्पले ठूला कुरा गरे पनि अहिले अमेरिकामा लगानीको वातावरण छैन । ट्रम्पले चीनका सामानमा कर १२५ प्रतिशतसम्म बढाएका छन् । यसले अमेरिकी उद्योग क्षेत्रमा अनिश्चितताको माहोल बनाएको छ। ब्र्याडीले नै यस अनिश्चितताको माहोलमा कसैले पनि ठूलो लगानी नगर्ने बताएका छन् ।
जब ट्रम्प दोस्रो पटक व्हाइट हाउसमा आए तबदेखि चीन र अमेरिकाबीच ट्रेड वार गहिरिएको हो । पछिल्लो केही समयदेखि दुवैले एकअर्काविरुद्ध कर लगाउने क्रम तीव्र भएको छ । यसबारेमा चीनको वाणिज्य मन्त्रालयले एक वक्तव्यमा ट्रम्पको ट्यारिफलाई ‘नम्बर गेम’ भनेको छ । मन्त्रालयले अमेरिकी कदमको कुनै व्यवहारिक महत्व नभएको बताएको छ ।
मन्त्रालयले यदि चीनबाट निर्यात गरिने सामानमा अमेरिका ट्यारिफ लगाउने क्रम जारी राख्छ भने चीनले त्यसलाई नरजअन्दाज गरिदिने जनाएको छ ।
चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले हालै मात्र सामाजिक सञ्जालमा माओ त्सेतुङको तस्वीर पोस्ट गर्दै कोरियाली युद्धका बेला उनले दिएको अभिव्यक्ति उद्धरणका रुपमा पेश गरेकी थिइन् ।
त्यस क्लिपमा माओ अमेरिकालाई भनिरहेका थिए, ‘चाहे यो युद्ध जति नै लम्बियोस्,हामी पछि हट्दैनौँ ।’ उनले आफ्नो भनाइ पनि राख्दै लेखेकी थिइन्, ‘हामी चिनियाँ मानिस हौँ । हामी कसैको उक्साहटबाट डराउँदैनौँ । हामी पछि हट्दैनौँ ।’
यसबीचमा स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजसँग ११ अप्रिलमा बेइजिङमा भएको बैठकका क्रममा राष्ट्रपति सि चिनफिङले चीन र युरोपेली युनियनले एकसाथ उभिएर अमेरिकी ट्यारिफलाई जवाफ दिनुपर्ने बताएका थिए ।
उता एक जना अमेरिकी राजनीतिक वैज्ञानिक प्रोफेसर ग्राहम एलिसन हालै चीनबाट फर्किएका थिए । उनले भने, ‘सि चिनफिङ चीन र अमेरिकाको व्यापारिक युद्धको खतराबारे जानकार थिए । उनी ‘खराब समय’का लागि तयार भएर बसेका थिए ।’
उनले आफ्नो चीन बसाइका क्रममा अमेरिकासँग व्यापार युद्धका लागि हर पक्षमा तयार रहेको देखेको बताए । ‘कम से कम मैले चीन बस्दा जो प्रमाण देखेँ,त्यसबाट लाग्थ्यो राष्ट्रपति सिले सबै क्षेत्रलाई यो व्यापार युद्धका लागि पहिले नै तयार गरिसकेका थिए’,उनले देश फर्केपछि भनेका थिए ।
टिप्पणीहरू