काठमाडौंमा ‘पाकिस्तान एक झलक’
नेपालस्थित पाकिस्तानी राजदूतावासले पाकिस्तानको ८५ औं राष्ट्रिय दिवस मनाएको छ । ‘पाकिस्तान एक झलक’ अन्तर्गत पाकिस्तानी विविधता झल्काउने तस्बीर प्रदर्शनीसहित हिजो साँझ भव्य कार्यक्रम आयोजना गरिएको दूतावासले जनाएको छ ।

उपराष्ट्रपति डा. रामसहाय प्रसाद यादवको उपस्थितिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले पाकिस्तानले विदेशी अधीनताबाट पाएको मुक्ति र गणतान्त्रिक यात्राबारे जानकारी गराएका थिए । पाकिस्तान स्थापनाका पुर्खाहरुलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनले भने, ‘पाकिस्तान आफ्ना अन्तर्राष्ट्रिय दायित्वहरु पूरा गर्न अन्तर्राष्ट्रिय समुदायको साथमा उभिएको छ । पाकिस्तान र नेपालले सौहार्दपूर्ण सम्बन्धको आनन्द उठाएका छन् । दुई मुलुकबीच बलियो र विकसित आधार छ ।’ पाकिस्तान र नेपालले भूगोलदेखि सभ्यता सम्बन्धसम्म, हिमालका चुचुरादेखि समृद्ध सम्पदासम्म र सांस्कृतिक समानताले दुई देशका जनतालाई एकताबद्ध गरेको जनाउँदै यो सम्बन्ध आगामी वर्षहरुमा झनै निकट हुने आशा पनि उनले लिएका छन् ।

कार्यक्रममा उपसभामुख इन्दिरा राना, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल, पूर्वउपप्रधानमन्त्री सीपी मैनालीलगायत विभिन्न राजनीतिक दलका नेता, राजदूत, पत्रकार, व्यवसायलगायतले कार्यक्रममा उपस्थिति जनाएका थिए ।

नेपाली सेनाको ब्यान्डले राष्ट्रिय गानको धुन बजाएर कार्यक्रमको शुभारम्भ गरिएको थियो । मनोरञ्जनका लागि कार्यक्रममा पाकिस्तानी गीतहरु पनि सुनाइएको थियो ।



टिप्पणीहरू