रोशीका खानी, उडायो जवानी

रोशीका खानी, उडायो जवानी

खानी सञ्चालनको अनुमति अनियन्त्रित तरिकाले वितरण हुँदा जवानी बिताएका गाउँ रित्ता हुन थालेका छन् । युवाले छाडेका घर कुरी बसेका आमा–बुबा र श्रीमतीहरू समेत विस्थापित छन् । २०८१ असोज १०–१२ को अविरल वर्षा त्यसका लागि थप सहायक बनेको छ । तैपनि, तीन तहका सरकार खानीको आम्दानी सोस्ने र नागरिकको जवानी लुट्ने धन्दामै सक्रिय छन् । पनौती नगरपालिका क्षेत्रभित्र सञ्चालित साधारण निर्माणमुखी रोडाढुंगा उद्योगका कारण स्थानीय भूमि एवं नागरिकको बस्ती जोखिममा परेको गुनासो संबोधन गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । कार्यदलले नागरिकका तर्फबाट मुख्यगरी तीनवटा विकल्प पेश गरेको  पहिलो, बस्ती स्थानान्तरण / व्यवस्थापन, दोश्रो जग्गा बिक्री तथा खानी बन्द र तेश्रो खानी क्षेत्र घोषणा । २०५८ सालदेखि शुरु भएका खानीले पुर्‍याएको क्षतिबारे पटक–पटक गुनासो गरे पनि सुनुवाइ भइरहेको थिएन । २३ वर्षसम्म सोही क्षेत्रबाट साविकको जिल्ला विकास समिति, गाउँ विकास समितिलगायतले कर असुले भने २०७४ सालदेखि स्थानीय तहले राजश्व लिँदै आएका थिए ।

साविकको कुशादेवी गाविस वडा नम्बर ४, ५, ६, ७ र ८ मिलेर बनेको पनौती वडा नम्बर २ का सबै बस्ती जोखिममा छन् । वडा नम्बर २ कृषि र पशुपालनमा अग्रणी छ । पर्यावरणीय रूपमा महत्वपूर्ण क्षेत्र फूलचोकी र महाभारत जङ्गलसँग जोडिएर रहेको रोशी खोलाको मुहान क्षेत्र पनि हो यो । काभ्रे जिल्लाका तीनवटा नगरपालिकालाई समेटेर सञ्चालन भइरहेको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको मुख्य मुहान क्षेत्र पनि यसै वडाभित्र पर्छ । यो वडा प्राकृतिक रूपमा रमणीय दुर्लभ पशुपक्षी, चराचुरुंगी, जनावर, वनस्पति र विविध किसिमका सिमालीलगायत विभिन्न जडीबुटी पाइने क्षेत्र हो । यस क्षेत्रमा सयौं वर्ष पुराना काठ छन् । २०८१ असोज १०–१२ को अविरल वर्षातपछि पुगेको क्षतिको मुख्य कारण बस्ती तल रहेको खानी क्षेत्र हो भन्ने स्थानीयको गुनासो छ ।

– मोतीराम तिमल्सिना
 

टिप्पणीहरू