अमेरिकाबाट फिर्ता, मेचीमा दर्ता
अमेरिकाबाट डिपोर्ट गरिएका केहीलाई भुटानले कागजपत्र खोसेर नेपाल पठाए पनि अन्तर्राष्ट्रिय मानव अधिकारवादीहरूले तिनीहरुले पाइरहेको कष्टबारे हालसम्म केही प्रतिक्रिया जनाएका छैनन् । काँकडभिट्टास्थित होल्डिङ सेन्टरमा १५ दिनभन्दा लामो समयदेखि राखिएका चार शरणार्थी देशविहीन त छँदै छन्, आफ्नै देशबाट समेत नांगेझारमा परेका हुन् । यसबखत उनीहरूसँग परिचय खुल्ने कागजात छैन, एक सुको दाम पनि छैन । फेर्ने लुगाधरी नभएका यिनलाई पुरानो चिनजान भएका र दमकतिरका नातेदारले एक सरो कपडा दिएको अवस्था छ भने प्रहरीकै मायाले ब्यारेकमा राशन खाइरहेका छन् ।
अध्यागमन कानुनले कुन देशको नागरिक भन्ने स्पष्ट नखुल्दासम्म अनुसन्धानको लागि निश्चित ठाउँमा राख्नुपर्ने व्यवस्थाअनुसार यी चार भाइलाई स्थानहद तोकेर राखिएको हो । अमेरिकाले उनीहरूलाई चैत १५ गते थिम्पुस्थित पारो अन्तर्राष्ट्रिय विमानस्थलमा लगी भुटान सरकारलाई बुझाएको थियो । अमेरिकी अधिकारीहरू बुझाएर फर्केलगत्तै साथमा रहेका सबै कागजात भुटानी कर्मचारीले जफत गरी देश निकाला गरेको बताइन्छ ।
यसरी खेदिएका १२ मध्ये चार जनालाई भने सन् १९९१ ताकाझैं भारतीय भूमि हुँदै मेचीखोलाको खुला सिमानाबाट नेपाल प्रवेश गर्दागर्दै नेपाल प्रहरीले समातेको थियो । पक्राउ पर्नेमा आशिष सुवेदी, रोशन तामाङ, सन्तोष दर्जी र अशोक गुरुङ छन् । अन्य शरणार्थी कहाँ– के–कस्तो अवस्थामा छन् भन्ने स्पष्ट छैन । अमेरिकामा उनीहरूमाथि कानुन उल्लंघन गरेको र अपराध कार्यमा संलग्न रहेको आरोप छ । एकातिर अमेरिकाले डिपोर्ट गरेको, अर्कोतिर भुटानले पनि टिक्न नदिएको अवस्थामा ती विचराहरु नेपाल आइपुगेका हुन् । पहिला पनि नेपालको शरणार्थी शिविरबाटै अमेरिका पुगेका थिए ।
यसैबीच, पक्राउ परेका भुटानीलाई उनकै देश फर्काउने या नेपालमै रहन दिने भनेर सरकारले कुनै निर्णय गर्न सकेको छैन । अध्यागमनले निर्णय नगर्ने, बस्ने ठाउँ नदिने अनि प्रहरीले आफ्नो गाँस काटेर ३ छाक खुवाउनु पर्ने– पाइला पाइलामा विडम्बना छ ।
नेपालको अध्यागमन ऐन २०४९ मा ‘कुनै पनि विदेशीले राहदानी र भिसा नलिई प्रवेश गर्न र बस्न पाउने छैन’ भन्ने व्यवस्था छ । त्यसैगरी, अध्यागमन कानुन उल्लघंन गरेको ठहरसहित दण्ड सजायँ गर्न सक्ने अवस्था पनि छ ।
टिप्पणीहरू