राजावादीलाई ठाउँ छोड्न शिक्षक आन्दोलन दुई घण्टामै रोकियो
राजावादी आन्दोलनका कारण १९ दिनदेखि जारी शिक्षकहरूको प्रदर्शन प्रभावित भएको छ । राजावादी घुसपैठ हुनसक्ने खतरालाई मध्यनजर गर्दै शिक्षकहरुले आजको आन्दोलन २ घण्टामै सकेका हुन् ।
नेपाल शिक्षक महासंघको अगुवाइमा माइतीघर मण्डला क्षेत्रमा विरोध प्रदर्शन गर्दै आएका शिक्षकहरूले हरेक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै आएका थिए । तर,आज राप्रपाले त्यही क्षेत्रमा शक्ति देखाउन खोजेपछि शिक्षकहरुले ठाउँ खाली गरिदिएका हुन् ।
आज बिहान महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बिहान ९ देखि १२ बजेसम्म मात्र प्रदर्शन गर्ने बताएका थिए । तर, राजावादीहरुको घुसपैठ हुनसक्ने भन्दै ११ बजे नै कार्यक्रम सम्पन्न भएको बताइएको छ ।
१८ औँ दिनसम्म आन्दोलन शान्त, मर्यादित र सशक्त भएर अघि बढेको उल्लेख गर्दै अध्यक्ष सुवेदीले आज पनि शान्ति, संयम, मर्यादा र अनुशासन कायम गरी आन्दोलनको मोर्चामा याथावत् डटन आग्रह गरेका थिए । त्यस्तै युनिफर्म र आईडी कार्ड अनिवार्य लगाउन पनि निर्देशन दिइएको थियो ।
घुसपैठ नहोस् भनेर प्रदर्शनका क्रममा प्रस्तुत गीत, नृत्य, कविता , गजलहरुमा शिक्षक–कर्मचारी आन्दोलन तथा शैक्षिक माग मुद्दा मात्र समेट्न सचेत गराइएको थियो भने कुनै व्यक्ति, राज्यका पदाधिकारी, राजनीतिक तथा गैरशैक्षिक विषय समावेश नगर्न भनिएको थियो ।
विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्नुपर्ने मागसहित चैत २० गतेदेखि माइतीघर–बानेश्वर सडक खण्डमा शिक्षकहरूले शान्तिपूर्ण प्रदर्शन गर्दै आएका छन् ।
यता, पूर्वपञ्चहरुको पार्टी राप्रपाले भने निषेधित क्षेत्र तोड्ने चेतावनी दिएको छ ।
टिप्पणीहरू