आन्दोलनरत गुरुहरुलाई विद्यार्थीको सुझाव
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले शिक्षकहरुलाई आन्दोलनको ऊर्जा सडकबाट फर्केर विद्यालयमा प्रयोग गर्न आग्रह गरेको छ । देशभरका सरकारी तथा सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलित हुँदा लाखौं विद्यार्थीको भविष्यमाथि खेलबाड भएको जनाउँदै अनेरास्ववियुले उक्त सुझाव दिएको छ ।
अनेरास्ववियु अध्यक्ष समिक बडालले विद्यार्थीको भविष्य अन्धकारमा राखेर पाइएको कुनै पनि सफलता स्थायी नहुने निचोड निकालेका छन् । शिक्षकहरुलाई विद्यालय फर्किन आग्रह गर्दै जारी विज्ञप्तिमा भनिएको छ, ‘तपार्इंहरु केबल तलब खाने कर्मचारी होइन, समाजको नेतृत्वकर्ता हुनुहुन्छ । विद्यार्थीको भविष्य अन्धकारमा राखेर पाइएको कुनै पनि सफलता अस्थायी हुन्छ । अब आन्दोलनको ऊर्जा विद्यालय फर्केर प्रयोग गर्नुस् । आफ्ना मागका लागि लड्नुहोस् तर विद्यार्थीलाई घेराबन्दीमा नपारौं ।’
अनेरास्ववियुले सरकारी विद्यालय कमजोर पार्न र विद्यार्थीलाई निजी संस्थातर्फ लतार्ने षड्यन्त्र भइरहेकोसमेत आरोप लगाएको छ । शिक्षक आन्दोलनलाई आड बनाएर विद्यार्थीलाई निजीतर्फ लैजाने योजना रहेको अनेरास्ववियुको ठहर छ ।
‘शिक्षक आन्दोलनबाट सबैभन्दा बढी लाभ उठकाउनेहरु निजी शिक्षण व्यवसायिक गठजोड र शिक्षा व्यापारमा संलग्न स्वार्थ समूहहरु हुनेछन्, जबकी सबैभन्दा बढी पीडित हुने भनेका सर्वसाधारणका बालबालिका र विद्यार्थीहरु हुन्,’ अनेरास्ववियुले भनेको छ, ‘विद्यार्थीलाई आन्दोलनको नाममा ‘शिक्षण संस्थाको बाउन्सिङ बल’ बनाउने अधिकार कसैलाई पनि छैन ।’
टिप्पणीहरू