धनकुटामा निजी स्कुल बन्द गराएपछि बसमाथि प्रतिबन्ध
धनकुटाको महालक्ष्मी नगरपालिकाभित्र निजी विद्यालयका सवारीसाधनलाई प्रवेश निषेध गरिएको छ । प्राइभेट स्कुलका बसहरुले धमाधम विद्यार्थी लैजान थालेपछि नगरपालिकाले त्यस्ता गाडी प्रवेशमा पूर्ण रोक लगाएको बताइन्छ ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न महालक्ष्मीका सम्पूर्ण निजी विद्यालय पछिल्लो समय बन्द गरिएको छ । नगरपालिकाले अभिभावक र सरोकारवालाको समन्वयमा निजी विद्यालय बन्द गरेर सरकारीको शैक्षिक सुधारका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । तर, अन्यत्र पालिकाका प्राइभेट स्कुल बसहरु नगरभित्र प्रवेश गरी बालबालिकालाई ओसारेको जनगुनासो आएपछि नगरपालिकाले यस्तो कदम चालिएको बताएको छ ।
जारी सूचनामा भनिएको छ, ‘शैक्षिक सत्र २०८२ मा महालक्ष्मी नगरपालिकाभन्दा अन्य गाउँपालिका तथा नगरपालिकाका निजी विद्यालयहरुका स्कुल बसहरु यस महालक्ष्मी नगरपालिकाभित्र प्रवेश गरी बालबालिकाहरु निजी विद्यालय लाने गरेको जनगुनासो प्राप्त भएकोले यो सूचना प्रकाशन भएको मितिबाट महलक्ष्मी नगरपालिका क्षेत्राधिकारभित्र कुनै पनि निजी विद्यालयका स्कुल बस अर्थात विद्यालयका सवारीसाधनहरु प्रवेशका लागि पूर्ण रुपमा रोक लगाइएको जानकारी गराइन्छ ।’
टिप्पणीहरू