५० लाखको कुरो बाहिरिएपछि सिके राउतको पार्टीभित्र बबण्डर
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले निजी घर निर्माणको लागि पार्टी अभियान चलाएर पैसा उठाएको र समानुपातिक सांसद बनाइदिने प्रलोभन देखाएर ५० लाख मागेको आरोप लागेको छ । पार्टीकै निलम्बित उपाध्यक्ष एवम् अनुशासन आयोगका प्रमुख ई. दीपककुमार साहले राउतमाथि १० बुँदे आरोप लगाएका हुन् ।
पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई हिजो प्रहरीले ठगी र आपराधिक विश्वासघातको कसूरमा पक्राउ गरेको थियो । सोही प्रसंगमा ई. साहले राउतकै योजनामा यादवलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएका हुन् । राउतले आफ्नो गल्ती लुकाउन एकपछि अर्को गलत कदम चालिरहेको उनको दाबी छ ।
‘पार्टी निर्माणमा जीवनको महत्वपूर्ण समय समर्पण गरेका सुरेन्द्र यादवलाई सप्तरी क्षेत्र नम्बर १ बाट टिकट नदिई संगठनमा कुनै योगदान नदिएका आफ्नै दाजुलाई उम्मेदवार बनाउनु वातावरण बिग्रनुको मुख्य कारण बन्यो’, साहले भनेका छन्, ‘करोडौँ खर्चिएर जनकपुरमा घर निर्माणपछि पनि समानुपातिक सूचीमा समावेश गराउन ५० लाख मागिनु अन्यन्तै दुखद र अपारदर्शी व्यवहार हो ।’
अध्यक्ष राउतले इमाडोलमा घर बनाउनुअघि ‘मधेश लोट चले’ अभियान चलाएर उठाएको करोडौँ पैसा पनि अपारदर्शी रहेको र त्यसउपर सत्यतथ्य छानबिन गर्नुपर्ने ई. साहको माग छ । ‘पार्टीको कोषाध्यक्ष (यादव) को नाममा कुनै बैंक खाता नखोली अवैध रुपमा पार्टीको आर्थिक कारोबार हुनु गम्भीर प्रश्नको विषय हो’, उनले थप भनेका छन् ।
पार्टीभित्र भएका सबै आर्थिक अनियमितताको घटनाबारे निश्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन तथा अनुसन्धान हुनुपर्ने उनको माग छ ।

टिप्पणीहरू