शिक्षकको विरोधमा अभिभावक सडकमा, ‘भाइरल’ गीतको भाकामा नारा

शिक्षकको विरोधमा अभिभावक सडकमा, ‘भाइरल’ गीतको भाकामा नारा

शिक्षकहरु तीन सातादेखि आन्दोलनमा होमिएपछि विद्यालयको पठनपाठन ठप्प भएको छ । पर्सिदेखिको कक्षा १२ को परीक्षा तालिका प्रभावित हुने आशंकासहित गत महिना सम्पन्न एसईईको उत्तरपुस्तिका जाँच गरिएको छैन ।

आफ्ना बालबालिकाको भविष्यमाथि खेलबाड गरिएको भन्दै अभिभावकहरु माइतीघरमा भेला भएका छन् । बिहान साढे १० बजेदेखि भेला भएका अभिभावकहरुले टिकटकमा भाइरल बनेको गीतको लयमा नारा तय गरेका छन् । ‘कता हिँडेको हो ? ब्युटी भएर । ह्याण्डसम बनेर । हाम्रा केटाकेटीको बिचल्ली पारेर,’ उनीहरुले शिक्षकहरुलाई व्यङ्ग्य गर्दै उक्त नारा तय गरेका हुन् । अस्ति शिक्षकहरुबाट पिटिएका अभिभावक सनोज महतले शिक्षकहरुको आन्दोलनले बालबालिकाको भविष्य अँध्यारोतर्फ धकेलिएको भन्दै अभिभावक आन्दोलन थालिएको बताए ।
 
शिक्षकहरु पनि बिहान ९ बजे माइतीघरमा भेला भएर नारा जुलुससहित नयाँ बानेश्वरतर्फ लागेका छन् । हिजो अस्तिझैँ आज पनि शिक्षकहरुले बानेश्वर नजिकै पुगेर कोण सभा गर्दैछन् । शिक्षकहरुको आन्दोलनका कारण माइतीघरदेखि नयाँ बानेश्वर चोकसम्मको सडकमा सवारी साधन गुड्न पाएका छैनन् ।

टिप्पणीहरू