प्लस टुको जाँचमा सहभागी हुन सरकारले धम्की दिएको भन्दै आक्रोश

प्लस टुको जाँचमा सहभागी हुन सरकारले धम्की दिएको भन्दै आक्रोश

कक्षा १२ को परीक्षामा सामेल हुन सरकारबाट धम्की आएको भन्दै नेपाल शिक्षक महासंघले कुनै पनि हालतमा सहभागी नहुन शिक्षकहरुलाई आग्रह गरेको छ । 

राष्ट्रिय परीक्षा बोर्ड र जिल्ला प्रशासन कार्यालयबाट परीक्षा प्रक्रियामा सहभागी हुन धम्की आएको महासंघको दावी छ । महासंघद्धारा आज जारी विज्ञप्तिमा प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीलाई कुनै पनि हालतमा सहभागी नहुन भन्दै केन्द्राध्यक्षहरुलाई समेत आन्दोलनमा सामेल हुन अपिल गरिएको छ । 

‘मिति २०८२ वैशाख ११ गतेबाट शुरु हुने भनिएको कक्षा १२ को परीक्षा सञ्चालन गर्ने सम्बन्धमा केन्द्र परेको विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुलाई राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी तथा जिल्ला प्रशासन कार्यालयका पदाधिकारीबाट धम्कीसहित परीक्षा प्रक्रियामा सामेल हुन दबाब आएको कुराप्रति हाम्रो ध्यानाकर्षण भएको छ', विज्ञप्तिमा लेखिएको छ, 'विगत २१ दिनदेखि काठमाडौंमा व्यापक सहभागितासहित चलिरहेको शैक्षिक सडक आन्दोलनलाई बल दिँदै विद्यालय, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री ऐन जारी गराउने महाअभियानलाई अघि बढाउन यो परीक्षाको प्रक्रियामा कुनै पनि हालतमा सहभागी नहुन हामी सबै प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीमा जोडदार आग्रह गर्दछौं ।’

टिप्पणीहरू