सिइओको टेबलमा पूजापाठ,पण्डितको आशिर्वाद
एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द घिमिरेले आजदेखि पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्नुअघि आज बिहान उनको टेबलमा वैदिक सनातन परम्पराबमोजिम पूजापाठ गरिएको थियो ।
एनएमबी बैंकका अनुसार सो अवसरमा घिमिरेले स्वस्तिवाचन ग्रहण गरे भने पण्डित प्रज्वल लुइँटेलले पूजापाठपछि सामाजिक सञ्जालमा फोटोसहित कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
यसअघिका सिइओ सुनिल केसीलाई मारवाडी बाहुल्य रहेको बैंक सञ्चालक समितिले हिजोदेखि लागु हुनेगरी फागुन २५ गते अवकाश दिने निर्णय गरेको थियो । बैंक तथा वित्तीय संस्थाहरुका प्रमुख कार्यकारी अधिकृत (सिइओ) को कार्यकाल विवादलाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत् निकास दिनुअघि केसीलाई हटाइएको थियो । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले दायर गरेको रिटमा वैशाख ३ गते आएको अन्तरिम आदेशपछि केसीबाहेक विभिन्न ‘क’ वर्गका वाणिज्य बैंकका सिइओसँगै विकास बैंक,वित्त कम्पनीका सिइओको कार्यकाल पनि लम्बिएको छ ।
शेरचनले गत चैत ३१ गते दायर गरेको रिटमा राष्ट्र बैंक र पाटन उच्च अदालतलाई विपक्षी बनाइएको थियो । सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेशसँगै शेरचनको पक्षमा अन्तरिम आदेश दिएपछि अरु सिइओहरुको म्याद कम्तीमा दुई वर्ष थपिएको छ ।
त्यसरी थपिनेमा प्रभु बैंकका सिइओ अशोक शेरचनसँगै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योती पाण्डे हुन् । उता हिमालयन बैंकका सिइओ अशोक राणा पनि सोही आदेशबाट लाभान्वित भएका छन् । तर एनएमबी बैंकका सिइओ सुनिल केसी भने सबैभन्दा धेरै मर्कामा परे ।
उनलाई बैंकका मुख्य लगानीकर्ता मारवाडीहरुले सोही मेसोमा हटाइदिएका थिए । उनीहरुले अदालतबाट सकारात्मक आदेश नआउने भन्दै केसीलाई कार्यकारीबाट हटाइएको प्रष्टीकरण दिइएको थियो । उक्त बैंकको अध्यक्षमा मनोज गोयल छन् भने मुख्य हर्ताकर्ता र लगानीकर्ता पवन गोल्यान हुन् ।
उता गुडविल फाइनान्सका सिइओ सरोजकाजी तुलाधरसँगै विभिन्न फाइनान्सका तीन,विकास बैंकका चार र लघुवित्त वित्तीय संस्थाका कम्तीमा आधा दर्जन सिईओेले शेरचनको रिटमा प्राप्त आदेशलाई सन्जिवनी बुटी ठानेका छन् ।
टिप्पणीहरू