प्रधानमन्त्रीले थाहै दिन्नन् प्रवक्तालाई ?
एमाले सांसद रघुजी पन्त आज अपराह्न शिक्षामन्त्री नियुक्त भए । त्यसअघि नै एमालेको भागमा परेको उक्त मन्त्रालयमा प्रधानमन्त्रीले उनलाई लैजान लागेको समाचार सञ्चार माध्यममा छ्याप्छ्याप्ती आइसकेको थियो ।
तर,यता सरकारको प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ भने निवर्तमान मन्त्री विद्या भट्टराईको राजीनामाबारे सञ्चारकर्मीसँग अनभिज्ञता प्रकट गर्दै थिए । क्याबिनेटका निर्णय सुनाउने क्रममा उनले राजीनामाबारे सरकारलाई औपचारिक जानकारी नभएको दावी गरे ।
के सरकारका प्रवक्तालाई प्रधानमन्त्रीले विश्वास गरिरहेका छैनन् ? कि सूचना लुकाउन उनी जानाजान झूठो बोलिरहेका छन् ?
‘शिक्षामन्त्रीज्यूले राजीनामा दिएको भन्ने कुरा सरकारको जानकारीमा छैन,उहाँले राजीनामा पत्र प्रधानमन्त्री कार्यालयमा दिएको भए सरकारको प्रवक्तालाई थाहा हुनुपर्ने हो,क्याबिनेट बैठकमा जानकारी हुनुपर्ने,त्यो भएको छैन’, सञ्चारकर्मीको प्रश्नमा सरकारका प्रवक्ताको यस्तो जवाफ आयो ।
तर,पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले पन्तलाई शिक्षामन्त्री बनाएपछि मन्त्री गुरुङको यस्तो दावी केही घण्टा पनि टिकेन । यसबाट एउटा प्रश्न उब्जिएको छ- के सरकारका प्रवक्तालाई प्रधानमन्त्रीले विश्वास गरिरहेका छैनन् ? कि सूचना लुकाउन उनी जानाजान झूठो बोलिरहेका छन् ?
त्यसो त मन्त्री गुरुङ यसअघि कुलमान प्रकरणमा पनि यसैगरी प्रस्तुत भएका थिए । त्यतिबेला विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदबाट हटाएको खबर बाहिर आइसकेको थियो । त्यतिकैमा क्याबिनेट बैठकबाट बाहिर निस्किएका उनीसँग पत्रकारले जिज्ञासा राखे ।
औपचारिक पुष्ट्याइँका लागि बाहिर पर्खेर बसेका सञ्चारकर्मीले सोधे- कुलमान घिसिङलाई बर्खास्त गरिएको भन्ने समाचार छ नि ? तर उल्टै सञ्चारकर्मीलाई कहाँबाट थाहा पाउनुभयो ? कुलमानले भनेको हो ? भन्दै प्रवक्ता गुरुङ प्रस्तुत भए ।
पत्रकारले समाचार आइसकेको छ भनेपछि 'खै सरकारलाई त थाहा छैन' भनेर बाटो लागेका उनै मन्त्री गुरुङले अर्को दिन क्याबिनेटका निर्णय सार्वजनिक गर्दै कुलमान कारवाहीबारे जानकारी गराएका थिए ।
टिप्पणीहरू