सुदीपको शव परिवारको जिम्मा लगाइयो, आजै अन्त्येष्टि

भारतको जम्मु कश्मीरको वैसरण उपत्यकामा आतंकवादी आक्रमणमा परी ज्यान गुमाएका बुटवलका २७ वर्षीय सुदीप न्यौपानेको शव परिवारलाई जिम्मा लगाइएको छ ।
मंगलबार दिउँसो बन्दुकधारीले गोली हानेर हत्या गरेका सुदीपको शव भारतको नयाँदिल्लीबाट लखनउसम्म हवाईमार्गबाट र त्यहाँबाट बेलहिया नाकासम्म सडक मार्ग हुँदै नेपाल ल्याइपुर्याइएको थियो । उनको पार्थिव शरीर आज बिहान बुटवल–११ मनकामनापथस्थित घरमा लगिएको हो । पारिवारिक स्रोतका अनुसार आजै अन्त्येष्टि गरिने छ ।
सुदीप आमा रिमाकला, बहिनी सुष्मा र ज्वाई युवराज काफ्लेसहित शनिवार बुटवलबाट कश्मिरको मिनी स्वीटरजल्याण्ड समेत भनिने वैसरण उपत्यकामा घुम्न गएका थिए । त्यहाँ पुगेर घुमफिरमा रमाइरहेका बेला मंगलवार दिउँसो एक्कासी बन्दुकधारी समूहले उनलाई गोली हानेका थिए । उनको घटनास्थलमै प्रण गएको थियो ।
आमा रिमाकला र बहिनी-ज्वाइँले भागेर ज्यान जोगाउन सफल भएका थिए । भाग्नेक्रममा रिमाकला सामान्य घाइतेसमेत भएकी थिइन् ।
आमाबुबाको सम्बन्ध बिच्छेद भएपछि सुदीप आमा र बहिनीसँग बुटवल–११ कालिकानगरमा बस्दै आएका थिए ।
टिप्पणीहरू