बेइजिङमा आपूर्ति, लाइयुआनको गौरव र हुपेईको विकास

बेइजिङमा आपूर्ति, लाइयुआनको गौरव र हुपेईको विकास चीनको ऐतिहासिक ग्रेटवाल । जहाँ वार्षिक लाखौं पर्यटक पुग्छन् ।

- सिद्धराज राई

हान राजवंशको पालामा स्थापित चीनको लाइयुआन काउन्टीको दुई हजार वर्षभन्दा लामो इतिहास पाइन्छ । इतिहाससँगै त्यहाँको जनताले मेहेनती, साहसी र गौरवशाली पहिचान स्थापित गरेका छन् । सन् १९३८ र १९४३ चीनको कम्युनिष्ट पार्टीको नेतृत्वमा भएको जापानविरुद्ध प्रतिरोध युद्धमा लाइयुआनका जनताले देशको रक्षा गर्न ठूलो योगदान दिएको इतिहासमा उल्लेख छ । युद्धको कथामा लाइयुआनका जनता र कम्युनिष्ट पार्टीका जनसेनाको बहादुरी र संघर्षलाई उच्च प्रशंसा गरिन्छ । ऊ बेला चीन सरकारद्वारा “शत्रुविरुद्ध संघर्षको नमूना काउन्टी” भनेर नामाकरण गरिएको थियो । जापानविरुद्ध विजयपछि लाइयुआनले क्रान्तिकारी आधार तयार गरेको थियो । यही तथ्य र गौरवपूर्ण इतिहासका जगमा चिनियाँ विकासका नमूना यो क्षेत्रमा देख्न पाइन्छ ।

हुपेई एग्रीकल्चर युनिभर्सिटीको निम्तोमा २०८१ भदौ २० देखि असोज १० गतेसम्म लाइयुआन काउन्टीसँगै दर्जनौं काउन्टी, टाउन, सिटी, डिस्ट्रिक घुमियो र हेरियो । प्रान्तको बाओदिङ जिल्लाको उत्तरपश्चिममा अवस्थित लाइयुआन क्षेत्रले यतिबेला पर्यटकीय गन्तव्यको पहिचान बनाएको छ । ताइहाङ पर्वत, शिपु क्यान्यन, सियानरेन्यू (अमर उपत्यका) बैशी माउन्टेन लगायतको क्षेत्रलाई चिनियाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गरिएको छ ।

हुपेई प्रान्तको बाओदिङ शहरबाट नजिक पर्ने यी क्षेत्रलाई चीनले पर्यटकीय क्षेत्रको रुपमा विकास गरेको छ । सन्२००६ मा युनेस्कोद्वारा विश्व भूवैज्ञानिक पार्क नामाकरण गरिएको छ । हुपेई एग्रीकल्चर युनिभर्सिटीका उपकुलपति झो चिन्चुनका अनुसार लाइयुआन काउन्टीसँगै सिंगो हुपेई प्रान्तको विकासमा चीन सरकारको चासो र योजनाबद्ध विकास परियोजना सञ्चालनमा छ । चीन सरकारले विकास गरेजस्तै नेपालमा पनि देशको रक्षाको लागि भएको युद्ध र प्रतिरक्षाका लागि संघर्ष भएको ठाउँमा पर्यटकीय र साँस्कृतिक विकास गर्न सकिन्छ । नेपालमा सयौँ गढी, दरबारहरु छन् । तीनको संरक्षण र विकास गरी पर्यटनसँग जोड्न सकिने सम्भावना उत्तिकै छ ।

कृषिमा अत्याधुनिक प्रविधिको प्रयोग

हुपेई प्रान्तले चीनको राजधानी बेइजिङलाई उत्तर, पश्चिम र दक्षिण क्षेत्रबाट घेरा लगाएकोे छ । हुपेई आधुनिक एवम् राजधानी शहर बेइजिङलाई खाद्य, तरकारी र फलफूल आपूर्ति गर्ने प्रमुख प्रान्त पनि हो । त्यसैले यो प्रान्तको विकासमा चीन सरकारको ऐतिहासिक राजनीतिक सम्बन्ध मात्रै हैन, आर्थिक र संस्कृतिक सम्बन्ध पनि छ । राजधानीलाई दैनिक उपभोग्य वस्तु आपूर्ति गर्ने भएकाले विकासका नमूना यहाँ देख्न सकिन्छ ।

लाइयुआन काउण्टीको हाउझोङ टाउनको एक होटलमा चिया बनाउँदै चिनियाँ युवती । चिनियाँ जनताका सातथरी खानाको परिकारमा चिया एक हो । 

चीन सरकारले राष्ट्रिय विकासलाई एकीकृत गर्दै ग्रामीण विकासको लागि ‘नयाँ राष्ट्रिय विकास शैली’ अवलम्बन गरेको छ । ‘स्वास्थ्य जीवन र नयाँ स्वास्थ्य उत्कृष्ट चिकित्सा हेरचाह सेवा र कृषिमा वैज्ञानिक र नयाँ प्रविधि’ रियल स्टेट, वाणिज्य तथा होटल र संस्कृतिक पर्यटनलगायतका चारवटा विषयमा नयाँ राष्ट्रिय विकास शैलीको आधार हुन् । यही तथ्यलाई स्थापित गर्न यो प्रान्तमा गरिएको प्रविधियुक्त आधुनिक खेतीले विश्वको ध्यान तानिरहेको छ । हुपेई एग्रीकल्चर युनिभर्सिटीका एशोसियट प्रोफेसर ली छियाङको भनाईअनुसार प्रविधिको उच्चतम प्रयोगले चीन कृषिमा आत्मनिर्भर बन्ने लक्ष्यमा रहेको छ र प्रविधिको प्रयोग गरेर कृषिलाई नयाँ युगमा लैजाने योजना रहेको छ ।

चीन सरकारको आर्थिक सहयोग र हुपेई एग्रीकल्चर युनिभर्सिटीको प्राविधिक सहयोगमा हुपेई प्रान्तलाई कृषिको ‘हब’ बनाउने योजनाअनुसार ग्रीन हाउसभित्र प्रयोग गरिएको प्रविधिले आफैंमा चीनमा विकास कस्तो छ भनेर देखाउँछ । कृषि उत्पादनलाई वृद्धि र गुणस्तरीय उत्पादन गर्नको लागि हुपेई प्रान्त ग्रीन हाउसमय भएको छ । हरेक कृषि फार्ममा सुविधायुक्त र वातावरण अनुकुलित ग्रीन हाउस सञ्चालनमा रहेको छ । चीनको गर्मी र अत्यधिक चिसो हुने स्थानमा पनि वर्षभरी नै तरकारी, फलफूल र अन्य कृषिउपज उत्पादन गर्नको लागि सोलर सिस्टम ग्रीन हाउस, ग्लाँस ग्रीन हाउस, प्लाष्टिक ग्रीन हाउस र प्लाष्टिक टनेलको प्रयोग भइरहेको छ ।यति मात्रै हैन, माटोबिना नै तरकारी खेती गर्ने प्रविधि जडान भइरहेको छ । ग्रीन हाउसमा अटोमेटिक कुलिङ र हिटिङ प्रविधि रहेको छ । बिरुवालाई चाहिने पानी र मल पनि मेसिनबाट वितरण गर्ने प्रविधि जडान छ । हुपेई एग्रीकल्चर युनिभर्सिटीको रेकर्डअनुसार अहिले चीनमा ६० प्रतिशत तरकारी र फलफूल प्रविधियुक्त ग्रीन हाउसबाट उत्पादन भइरहेको छ । एउटा ग्रीन हाउस सञ्चालनको लागि अरबौंको लगानी भइरहेको छ ।

चीन सरकारले उत्पादनसँगै त्यसको बजारीकरण र गुणस्तरमा समेत ध्यान दिएको छ । गाउवादियन सिटीमै रहेको ’नेशनल एग्रिकल्चर प्रोडक्ट ट्रान्जिट एण्ड डिस्टीबुसन’ कम्पनी आफैंमा एक कृषिको व्यापारिक केन्द्र हो । विभिन्न ठाउँका फार्म र किसानले उत्पादन गरेको कृषिजन्य वस्तुको संकलन, प्रशोधन र वितरण गर्दै आएको यो कम्पनीको बेइजिङ र हुवेईका सम्पूर्ण जनतालाई एक हप्तासम्म तरकारी, फलफूल र मासु उपलब्ध गराउन सक्ने क्षमता रहेको छ ।नेपाल कृषिप्रधान देश हो भनेपनि परम्परागत र निर्वाहमुखी खेती प्रणालीले ठुलो आर्थिक परिवर्तन नआएको स्पष्ट छ । कृषि प्राविधिकहरुले ज्ञान र प्रविधिको प्रयोग बढाउन सके कषिमा आत्मनिर्भर हुन सकिन्छ । चीनको जस्तै लगानी गर्न नसकिए पनि नेपालको भौगोलिक र हावापानीको विविधतालाई कृषि उत्पादनसँग जोड्न सकिने सम्भावना छ ।

ग्रामीण विकासको नयाँ शैली

‘वी ह्याभ विन वेटिड फर यु (हामी तपाईँलाई स्वागत गर्न पर्खिरहेका छौं) ! यो स्वागतको लागि हवेई प्रान्तको ‘हाउझोङ टाउनले’ हरेकदिन नयाँ पर्यटक पर्खिरहेको छ । चिनियाँ पर्यटकहरुको प्रमुख गन्तव्य बन्दै गरेको यो टाउन सुन्दर र रमणीय रहेको छ । स्थानीय एक विद्यालयकी शिक्षिका गाओलिन सुएको भनाईमा चिनियाँ पर्यटकको लागि हाउझोङ टाउन एक गन्तव्य हो ।’

रातो फूल खेतीको विषयमा जानकारी दिँदै हुपेई युनिभर्सिटीको प्रोफेसर ची छियाङ । रातो फूललाई चीनमा सफलताको प्रतीक मानिन्छ ।

चीनको बाओदिङ शहरबाट करिब दुई घण्टाको बस यात्रामा पुगिने यो टाउन चीन सरकारले सञ्चालन गरेको एक किसिमको ’कम्युन’ जस्तै हो । स्थानीय जनतालाई रोजगारी सिर्जना गर्नको लागि सञ्चालन गरिएको यो टाउनले आधुनिक चीनको प्रतिनिधित्व गर्छ । यो टाउनमा सुविधा सम्पन्न ह्वाइटस्टोन माउण्टेन हट स्प्रीङ, टुरिजम रिसोर्ट सञ्चालनमा रहेको छ । यही होटलको वरपरर चीनको संस्कृति झल्काउने वस्तुको प्रदर्शनी, पुस्तकालय, ठुला लगानीमा कृषि फार्म, स्याउ वगैँचा, वनभोजस्थल, सर्भिस सेन्टर र हाउजिङ सञ्चालनमा रहेको छ ।सन् २००८ अगाडि सम्म यो ठाउँ खासै चर्चामा थिएन । तर, चीन सरकारको ग्रामीण विकासमा नयाँ शैलीको परियोजना सञ्चालन भएपछि सुविधासम्म शहर बन्दै गएको छ ।

नेपाल सरकारले पनि मध्यपहाडी लोकमार्गमा १० वटा ठुला शहरको परिकल्पना गरेर परियोजना सञ्चालन गरिरहेको छ । ठुला शहर बनाउने भनेको शहरमा चीन सरकारले जस्तै शिक्षा, स्वास्थ्य, कृषिमा नयाँ प्रविधि, होटल तथा बाणिज्य, रियल स्टेटजस्ता सेवा पुग्यो कि पुगेन भनेर समीक्षा गर्ने बेला आएको छ । एक लाख जनसंख्या अटाउने योजना रहेको ती शहरको पूर्वाधार विकास योजना के भइरहेको छ भनेर सरकारी निकायले स्वःमूल्याङ्कन गर्ने बेला भएको छ भन्ने लाग्छ ।

सफलताको लागि रातो फूल

नेपालमा रातो रंगलाई क्रान्ति वा खतराको संकेतको रुपमा बुझिन्छ । तर, चीनमा रातो रंगलाई सफलतासँग जोडिन्छ । सफल भविष्य र नयाँ यात्रासँग जोडिन्छ । त्यसैले चीनमा रातो रंगको फुललाई औधी मन पराइन्छ । चीनको हुपेई एग्रीकल्चर युनिभर्सिटीका प्रोफेसर जि छियाङका अनुसार रातो फुल दिँदा हामीलाई सफलतातिर लगिरहेको छौं भन्ने लाग्छ ।रातो फुलले घरको सौन्दर्य बढाउने र सफलतालाई लिएर आउने गर्दछ भन्ने चिनियाँ जनताको विश्वास रहेको छ । हुवेईको तानसिनमा फुल खेती गरिएको ’छियान युआन’ फार्म सबैभन्दा ठुलो रहेको छ । दश हजार हेक्टरमा सञ्चालन भइरहेको यो फार्म आधुनिक प्रविधियुक्त रहेको छ । नेदरल्याण्डको प्रविधि भित्राएर चीनको तानसिन गाउँमा विभिन्न जातका फुलको खेती गरिएको छ । ‘छियान युआन’ फार्ममा उत्तर अमेरिकाबाट ल्याइएको ‘अन्थुरियम’ जातको फुलको सबैभन्दा धेरै खेती गरिएको छ । यो फार्मले मात्रै वर्षमा ४० लाख फुलको बिरुवा उत्पादन गरी बिक्री गर्छ । फुल बिक्री गरेर यो फार्मले वार्षिक ३० लाख युआन नाफा कमाउँदै आएको छ । फुल उत्पादन गर्नको लागि हेवेई एग्रीकल्चर युनिभर्सिटीका प्रोफेसर डि बाओ, प्रोफेसर चि छियाङसहित पाँच जनाको टोलीले प्राविधिक सहयोग गर्छन् ।

नेपालमा पनि फुलले घर, अफिस, पार्क वा कार्यक्रमको मञ्च सजाउने गरिन्छ । नेपालीहरुको महान् चाड तिहार, फुलको पर्व हो । त्यसैले पनि नेपालमा फुलको महत्व बेग्लै छ । फुललाई प्रेम र सद्भावसँग जोड्ने नेपाली परम्परा र चीनको परम्परा मिल्दोजुल्दो रहेको छ ।

चीनको चिया संस्कृति

नमस्कार(निहाओ) । सुन्दर, हसिँली युवती मुसुक्क हाँसेर चियाको कप देखाउँदै भन्नुहुन्छ– ‘चिया लिनुहोस’ । हातले इसारा गर्दै उहाँले भन्दा एउटा मात्रै शब्द छ, सेसे अर्थात धन्यवाद । चीनको हुपेई एग्रीकल्चर युनिभर्सिटीमा पढिरहनुभएकी विद्यार्थी लि जवेइको चिया खुवाउने शैली धेरै आगन्तुकको लागि सिकाइको विषय छ ।

चिया हामी नेपालीहरुले पनि स्वागत गर्ने संस्कृति हो । घरमा आएको पाहुनालाई स्वागत गर्ने र घर बाहिर साथीहरुसँग भेट्दा र गफिदाँ सजिलै खाने भनेकै चिया हो । हामीले कुनै विषयमा कुराकानी र छलफल गर्नुपर्छ भने चिया भेटकै कुरा गर्छौ । हाम्रोजस्तै चीनमा पनि चियालाई संस्कृतिकै रुपमा लिइएको छ । हुपेई एग्रीकल्चर युनिभर्सिटीका प्रोफसर याङ होङको भनाईअनुसार चिया चीनको संस्कृति बनेको छ । चीनलाई चियाको उत्पत्ति भएको देशभनिन्छ । करिबपाँच हजार वर्ष पहिले चीनमा चियाको प्रयोग भएको इतिहास छ । सेन नोङ सम्राटको समयमै चीनमा चियाको प्रयोग थियो । त्यतिबेला चियालाई औषधीको रुपमा पनि प्रयोग गरिन्थ्यो । अहिले चिया, चिनियाँ खाना संस्कृतिको रुपमा प्रयोग भइरहेको छ । चीनमा पाहुनाको स्वागत, पारिवारिक जमघट, पराम्परागत बिहेमा ठुला व्यक्तिको सम्मान र परम्परालाई जोगाउन चियाको प्रयोग हुने गर्छ ।

चीनको हुपेई प्रान्तको बाओदिङ शहर । यो शहर बेइजिङको साउथगेटको रुपमा रहेको छ । 

चीनको सबैजसो होटलमा खानासँगै चिया पनि मेनुमा राखिएको हुन्छ । डिनर वा लन्चसँगै चिया पिउनु चीनको खाना संस्कृति हो । चिनियाँहरुको भान्सामा दैनिक आवश्यक पर्ने सात वटा सामग्रीहरुमा चिया एक हो । इन्धन, चामल, तेल, नुन, सस, भेनिगर सँगै चिया अनिवार्य छ । प्रोफेसर होङ्कै भनाईअनुसार चीनका बासिन्दाको व्यक्तिगत जीवनमा पनि चिया अनिवार्य छ । चिनियाँ युवा र विद्यार्थीहरु खुसी हुन र रमाउनको लागि चिया, वाईन, म्युजिक, चेस, पेन्टिङ, कविता, कलिग्राफी आवश्यक छ । चिया पिउँदा स्वास्थ्य राम्रो हुने,छाला चम्किलो हुने, आँखाको ज्योति राम्रो हुने, लामो आयु हुने भनेर चीनमा एउटा गज्जबको प्रभाव छ ।

खानामा अनिवार्य च्याउ र वाटरमेलन

चिनियाँ नागरिकको खानाको परिकारमा कहिलै नछुट्ने खानेकुरा हो, च्याउ र वाटरमेलन(खर्बुजा)  । डिनर र लन्चमा विभिन्न थरिका च्याउका आइटम र वाटरमेलन अनिवार्य छ । च्याउलाई सिजनल भेजिटेबलको रुपमा उपभोग गर्ने चलन छ ।हुपेई एग्रीकल्चर युनिभर्सिटीका एशोसियट प्रोफेसर ली शोउमीनको भनाईअनुसार चीनमा विभिन्न ८० किसिमका च्याउको खेती गरिन्छ । सन् २०१२ पछि चीनमा आधुनिक प्रविधिको प्रयोग गरी ठुलो मात्रामा च्याउ खेती गर्न थालिएको हो । राज्यको लगानी र युनिभर्सिटीको प्राविधिक सहयोगबाट सञ्चालनमा आएका उद्योगले उत्पादनसँगै रोजगारीसमेत सिर्जना गरेको छ । फपिङ काउन्टी यसको उदाहरण हो । यो काउन्टीमा २०१२ मा चीन सरकारले सञ्चालनमा ल्याएको ‘सिटाके’ च्याउ उत्पादन गर्ने फार्मले अहिले रोजगारीसँगै चीनभरि च्याउको आपूर्ति गरिरहेको छ ।

हुपेई प्रान्तको विभिन्न ठाउँमा स्थापना गरिएको ग्रीन हाउसमा विभिन्न किसिमका वाटरमेलन उत्पादन हुन्छ । नेपाली संस्कृतिमा वाटरमेलनलाई फलफूलको रुपमा उपभोग गरिन्छ । तर, चीनमा यसलाई तरकारीको एउटा अंशको रुपमा उपभोग गरिन्छ । हुपेई एग्रीकल्चर युनिभर्सिटीका प्रोफेसर नी लन्चनका भनाईअनुसार वाटरमेलन चीनको खानाको परिकारमा अनिवार्य जस्तै हो । चीनमा विभिन्न सात किसिमका वाटरमेलन खेती भइरहेको छ । यसरी खानाको परिकारर उत्पादनलाई जोडेर गरिएको लगानी र विकासले चीनको आर्थिक विकासका योगदान दिइरहेको अनुमान गर्र्न सकिन्छ ।

चीनको विकास र समृद्धि यात्राको रफ्तार यो छोटो लेख र बुझाईमा सम्भव हुँदैन । तरपनि छोटो अध्ययनले के भन्न सकिन्छ भने देश बनाउन अनुशासन र जागरण चाहिन्छ । त्यो चीन सरकारको निकायहरु र नागरिकमा पाइन्छ । चेकपोष्टमा बाहेक सडकमा ट्राफिक प्रहरी नहुँदा पनि सडकमा सवारी अनुशासन छ । ठुलो उद्योग सञ्चालनसँगै चिल्लो र सिधा सडक गाउँगाउँमा पुगेको छ । जसले गर्दा उत्पादित वस्तुको निर्यात गर्न सहज छ । पूर्वाधार विकासमा सरकारको लगानी हुने, उत्पादन बढाउनको लागि युनिभर्सिटीले प्राविधिक सहयोग गर्ने, कम्पनी वा समुदायले उत्पादनको काम गर्ने र बजारीकरण गर्ने प्रणालीले चीनको विकासको गति बढाएको छ । लगानी, प्राविधिक ज्ञान, उत्पादन र बजारीकरणमा अनुशासन र देश धनी बनाउनुपर्छ भन्ने जागरणले अहिलेको चीन निर्माण भएको भन्न सकिन्छ ।

टिप्पणीहरू