कालीगण्डकीमा उत्खनन्, अध्यक्षमाथि गम्भीर आरोप

कालीगण्डकीमा उत्खनन्, अध्यक्षमाथि गम्भीर आरोप

दुई छिमेकी मुलुक चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर निर्माण सम्पन्न नहुँदै भत्किने अवस्थामा पुगेको छ । सडकको भारवहन क्षमताले नधान्ने सवारी साधनका कारण निर्माण सम्पन्न नहुँदै सडक धेरै ठाउँमा बिग्रिएको छ । म्याग्दीको रघुगंगा गाउँपालिकाका जनप्रतिनिधि र हाइड्रोपावर परियोजनाको मिलेमतोमा त्यहाँबाट गुड्ने ‘ओभरलोडेड’ ट्रिपरका कारण सडकको अवस्था नाजुक बनेको स्थानीयको गुनासो छ । त्योसँगै करिडोरलाई नै जोखिममा पार्नेगरी अवैध उत्खनन् भइरहेको छ । 

के हो घटना ? 

गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी पेशाले ‘जग्गा दलाली’ हुन् । उनले निर्माणमा प्रयोग हुने सवारी साधन भाडामा दिँदै आएका छन् । नेपाली काँग्रेसबाट निर्वाचित उनको आफ्नै निर्माण कम्पनी छ । उनले आफ्नो रुइसे देउराली कन्स्ट्रक्सन प्रालिका स्काभेटर र ट्रिपर भाडामा दिने गरेको स्रोत बताउँछ ।

प्रालिले गाउँपालिकाबाट स्वीकृति लिएर कालीगण्डकीबाट नदीजन्य पदार्थको उत्खनन् गरिरहेको छ । रोचक पक्ष के भने उत्खननका निम्ति वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) गरिएको छैन । कुनैपनि निर्माण वा उत्खनन् गर्नुअगाडि अनिवार्य ईआइए गर्नुपर्छ । 

ईआइए नगरी निर्माण वा उत्खनन् गरिएमा त्यसले भविष्यमा ठूलो क्षति पुर्याउन सक्छ । तर, गाउँपालिकाले त्यस जोखिमलाई नजरअन्दाज गरेको अवस्था छ । पालिका अध्यक्ष भण्डारीकै स्काभेटरले धमाधम त्यहाँबाट नदीजन्य पदार्थ निकालेर राहुघाट जलविद्युत आयोजनालाई बेचिरहेको छ । सो जलविद्युत निर्माणको ठेक्का भारतीय कम्पनी जयप्रकाश एशोसिएटले पाएको छ । 

मिलेमतोमा नदीजन्य पदार्थ बेचिएको स्रोतको दाबी छ । स्रोतका अनुसार नदीबाट सयौं टिपर नदीजन्य पदार्थ बिक्री गरिसकिएको छ । व्यक्तिगत फाइदाका लागि गाउँपालिका अध्यक्षले स्थानीयलाई जोखिममा पार्ने काम गरेको स्रोतको आरोप छ । 

स्रोत भन्छ,‘ईआइए नगरी नदीजन्य पदार्थ बिक्री गर्ने काम भइरहेको छ । अध्यक्षकै डोजरबाट नदीजन्य पदार्थको उत्खनन् गरिएको छ । दैनिक ठूलो मात्रामा नदीजन्य पदार्थको उत्खनन् हुन्छ । पहिले पनि व्यापक उत्खनन् गर्थे । बीचमा केही समय रोकिएको थियो । हिजोबाट फेरि शुरु भएको छ ।’

ट्रिपरका कारण सडक ध्वस्त 

कालीगण्डकी करिडोरको निर्माण कार्य तीव्र गतिमा काम भइरहेको छ । कतै सडक ढलान गरिएको छ, कतै कालोपत्रे । कतै भने पिच गर्नलाई ठिक्क पारिएको छ । तर, दिनहुँ नदीजन्य पदार्थ बोकेर दौडिने अनगिन्ती ट्रिपरका कारण सडक ध्वस्त बनेको बताइन्छ । हाल घुमनतालमा ड्रेन निर्माणको काम भइरहेको छ । 

‘ट्रिपरको कारण सडक बिग्रिएर नाजुक बनिसकेको छ । भर्खर निर्माण सकिएको सडकहरु समेत ध्वस्त भएको छ । यसबाट सर्वसाधारणलाई सास्ती पुगेको छ । फेरि ट्रिपर गुड्न थालेसँगै अन्य ठाउँको सडक पनि ध्वस्त हुने निश्चित नै छ’,स्रोतले भन्यो । 

यता, नदीजन्य पदार्थ ओसारपसारको क्रममा धेरै स्थानमा नाली पुरिएको छ । केही दिनअघि भएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले उत्खनन् र नाला पुरिएको विषयमा जानकारी गराएका थिए । तर, सरोकारवालाले त्यसलाई बेवास्ता गरेको स्थानीयको गुनासो छ । 

उत्खनन् भइरहेको जग्गा व्यक्तिकोः अध्यक्ष 

अध्यक्ष भण्डारीले उत्खनन् भइरहेको जग्गा व्यक्तिको भएको बताएका छन् । वडा नम्बर ३ स्थित स्थानीय राजकुमार शाही, रामप्रसाद शाही र नवीन शाहीको जग्गामा उत्खनन् गर्न स्वीकृति दिइएको उनको दाबी छ । उनका अनुसार कार्यपालिका बैठकले नै उत्खननका लागि स्वीकृति दिने निर्णय गरेको हो । उत्खननका लागि ईआइएसमेत गरिएको उनको ठोकुवा छ । 

जनआस्थासँगको कुराकानीमा उनले भने,‘उत्खनन् भइरहेको व्यक्तिको जग्गा हो । कार्यपालिकाको बैठकको निर्णयअनुसार उत्खनन स्वीकृति दिइएको हो । त्यहाँ ईआइए भएको छ ।’ त्यसैगरी, उनले रुइसे आफ्नो नभई सानिमाको छोरीको कम्पनी भएको बताए । आफ्नो पाँच वटा स्काभेटर र दुई वटा ट्रिपर भएको उल्लेख गर्दै उनले ती सबै भाडामा लगाउने जानकारी दिए । 

‘मेरो स्काभेटर र ट्रिपर छ । मैले त्यो भाडामा दिने गर्छु । उहाँहरुलाई भाडामा दिएको हुँ । उहाँहरुले त्यहाँ भएको खाल्डो माटोले पुरिदिने प्रतिबद्धता जनाउनुभएको छ ।’

कालीगण्डकीको उत्खनन् थाहा छैन : वडाध्यक्ष 

वडाध्यक्ष खिमबहादुर शाहीले कालीगण्डकीबाट उत्खनन् भइरहेको विषयमा आफू अनभिज्ञ रहेको बताए । वडा कार्यालयमा स्वीकृतिका लागि निवेदन आएको र उक्त निवेदन गाउँपालिका पठाइएको उनको भनाइ छ ।

‘निजी जग्गामा उत्खननको स्वीकृतिका लागि निवेदन परेको थियो । मैले गाउँपालिका पठाइदिए । उत्खननका लागि गाउँपालिकाले स्वीकृति दिएको विषयमा मलाई कुनै जानकारी भएन्’,उनले भने । वडाध्यक्ष शाहीले जलविद्युत आयोजनाका लागि बेगखोलाबाट नदीजन्य पदार्थ उत्खनन् गर्ने काम भइरहेको जानकारी दिए । 

बेगखोला कालीगण्डकीको सहायक नदी हो । वडा नम्बर १ बाट बग्ने बेगखोला कालीगण्डकीमा आएर मिसिन्छ ।

टिप्पणीहरू