त्यो थाइल्याण्ड, यो नेपाल

त्यो थाइल्याण्ड, यो नेपाल

नेपाल वायुसेवा र थाइ एयरलाइन्सले सँगसँगै सेवा शुरु गरेका हुन् । आज थाइल्याण्डको वैदेशिक र आन्तरिक उडान गन्तव्य व्यापक छ । छिमेकी देश चीनबाट बर्सेनि एक करोडभन्दा बढी चिनियाँ थाइल्याण्ड जाने गर्दछन् । तर चीनबाट नेपाल आउने कूटनीतिज्ञ, इञ्जिनियर, डाक्टर, निर्माण व्यवसायी, पर्यटक र विभिन्न पेशाकर्मीको संख्या वर्षमा मुश्किलले एक लाख हुने गर्छ ।

यो असमानता किन भनेर घोत्लिने हो भने भाषिक समस्या, होटलको स्तरीयता मुख्य कारण रहेको देखिन्छ । चिनियाँको प्रमुख गन्तव्य लुम्बिनी र पोखरा हुन् । तर त्यहाँ जाने सडक यातायातको अवस्था दयनीय छ । चितवनदेखि दाउन्नेसम्मको बाटोमा निरोगी पनि रोगी हुन पुग्छन्, १० घण्टाभन्दा बढी समय लाग्छ । हवाईजहाज चढौं मौसमको प्रतिकूलताका कारण उडानको

कुनै भर छैन, कुन बेला उडान कटौती हुन्छ, कति बजेसम्म ढिलाइ हुन्छ, कुन बेला थोत्रा प्लेन गुल्टिन्छन् कुनै हिसाव छैन । सार्क मुलुकबाहिरका चिनियाँ, युरोपियन पर्यटनलाई हवाई भाडा दोब्बर, त्यो पनि डलरमा तिर्नुपर्छ । पर्यटकमैत्री आचरण र व्यवहार नदेखिनु नै नेपाली हवाई क्षेत्रमा दुर्दशा निम्तिनु हो भन्नुपर्ने अवस्था छ । ४५ मीनेटको हवाई उडानमा ल्हासा र अढाई घण्टामा सिचुवानको छङ्तुबाट नेपाल आउन सकिन्छ । यस्तो छोटो दूरी भए पनि चिनियाँ पर्यटकलाई ल्याउन सकेको छैन ।

हामी पर्यटन, ऊर्जालगायत क्षेत्रमा देखिएका कमीकमजोरी सच्याउन तयार छैनौं । रेमिट्यान्स र ठेक्का नीति पनि सच्याउन तयार भएनौं । चीनमा विकास निर्माण ठेक्कादिँदा सबैभन्दा कम र सबैभन्दा बढी रकम कबोल गर्ने दुवैलाई अयोग्य घोषित गर्ने चलन छ । बढी वालालाई दिँदा सरकारमाथि खर्चको भार बढ्ने र कमलाई स्वीकृत गर्दा घाटा लागेर भाग्ने समस्याकै कारण यस्तो नीति अपनाइएको हो ।

तर, हामीकहाँ भने अनेक नियम लगाइएको छ । त्यसैकारण बाटोघाटो, सडक र पुलपुलेसा समयमा निर्माण हुँदैनन् । अनि खराब सडकमा गुड्न पर्यटक पनि आउन मान्दैनन्, आएकाहरूले राम्रो सन्देश लैजाँदैनन् । समग्र आर्थिक क्षेत्रमा प्रतिकूल प्रभाव पार्न सक्ने यस्ता कमजोरी नसच्याउने हो भने नेपाल वायु सेवाले भोगेको नियति नै अरु क्षेत्रले पनि झेल्न तयार हुनुपर्ने अवस्था छ । राम्रो कामको सिको गर्दा घाटा छैन । 
 

टिप्पणीहरू