आफ्नो समुदायमाथि दाग लगाउन योजना बुनिएको मुस्लिम समाजको आरोप

आफ्नो समुदायमाथि दाग लगाउन योजना बुनिएको मुस्लिम समाजको आरोप

नेपाल मुस्लिम समाज संघले गत चैत ३० गते पर्साको वीरगञ्जमा भएको घटना योजनाबद्ध रुपमा गरिएको दाबी गरेको छ । मुस्लिम समुदायमाथि दाग लगाउने प्रयासस्वरुप हिन्दू धर्मावलम्बीहरुद्वारा सुनियोजित रुपमा उक्त घटना भएको संघको आरोप छ । 

गत चैत ३० गते हनुमान जयन्तीको अवसरमा निकालिएको शोभा यात्रामा हिन्दू र मुस्लिम समुदायबीच विवाद भएपछि आगजनी र हिंसात्मक घटना भएको थियो । संघले आज सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाउँदै गत वर्ष पनि वीरगञ्जमा यस्तै प्रकृतिको क्रियाकलाप देखिएको जनाउँदै यो पटकको घटना सोही शृंखलाको अर्को कडी भएको ठहर गरेको छ ।

‘वीरगञ्जको घटना कुनै आकस्मिक झडप थिएन, यो पूर्ण रुपमा योजनाबद्ध, संगठित र लक्षित आक्रमण थियो,’ संघले भनेको छ, ‘घटनाका विभिन्न भिडियो, प्रत्यक्षदर्शीका बयान र भौतिक प्रमाणहरुले देखाउँछन् कि कसरी हतियारसहितका केही उग्रतावादी युवाहरु मुस्लिम बस्तीहरुमा जुलुस लगाएर उत्तेजक नाराबाजी, तोडफोड, गालीगलौज र आतंक फैलाउँदै हिँडे ।’

बारम्बार मुस्लिम बस्ती र समुदायलाई लक्षित गरेर यस्ता घटना भइरहेको भन्दै संघले कथित ‘सेना’ नामधारी उग्र समूहहरुको खुलेआम अराजक गतिविधि बढ्नुमा राज्यसत्ता र सुरक्षा संयन्त्रको उपहास प्रमुख कारण रहेको बताएको छ । 

संघले घटनाको दीर्घकालीन समाधान सुनिश्चित गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्नेसहित दोषीलाई सार्वजनिक रुपमै सख्त कारबाही, प्रहरी प्रशासनको भूमिकाबारे छानबिन र प्रशासनले लिएको ड्रोन क्यामरा र सीमा नाकामा रहेका सीसीटिभीको भिडियो सार्वजनिक गरी छानबिन गर्नुपर्नेसमेत माग गरेको छ ।

टिप्पणीहरू