उपचारका निम्ति छुटेका धवल फेरि आन्दोलनमा
तीनकुने प्रकरणमा समातिएर अघिल्लो साता हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा महामन्त्री धवलशमशेर राणा फेरि राजावादी आन्दोलनमा सक्रिय देखिएका छन् ।
अनुसन्धान पूरा नहुँदै उपचारका निम्ति भन्दै विशेष अवस्था देखाएर छुटाइएका उनी पुनः राजावादी गतिविधिमा सक्रिय हुन थालेका हुन् । तीनकुनेको हिंसात्मक घटनामा पक्राउ परेकालाई रिहा गर्नुपर्ने मागसहित भोलि राप्रपा नेपालले राजधानीको प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गर्दैछ । त्यसमा आफू पनि सहभागी हुने धवलले आज सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
प्रदर्शनमा सहभागी हुन आग्रह गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘भारतमा स्वास्थ्य परीक्षणपश्चात् आजै बेलुकी स्वदेश फर्कँदैछु । भोलि प्रदर्शनीमार्गमा भेटौं, म पनि त्यही हुने छु ।’
देशले अहिले परिवर्तन खोजिरहेको र जनता स्थिरता र समृद्धिको पक्षमा रहेको उल्लेख गर्दै धवलले थपेका छन्, ‘देश र जनतालाई केन्द्रमा राखेर एक पटक सम्पूर्ण जनता जुरुक्क उठ्नुपर्ने बेला आएको छ । समान विचार बोक्नेहरुबीच अहिले एकताको आवश्यकता छ । सबै मिलौं, जुटौं । देश बचाउने र बनाउने महानअभियानमा हातेमालो गर्दै कम्मर कसेर लागौँ।’
गत चैत १५ गते मेडिकल माफिया दुर्गा प्रसाईँ नेतृत्वको ‘नागरिक बचाऊ अभियान’ को आह्वान र उनकै कमाण्डमा भएको राजावादी प्रदर्शन भड्काएको आरोपमा धवलसहित राप्रपा नेता रविन्द्र मिश्रसमेत पक्राउ परेका थिए । धवल क्यान्सर पीडित भएकोले अनुसन्धान कायम रहँदै उनलाई उपचारका निम्ति गत वैशाख ७ गते प्रहरीले हाजिर जमानीमा छोडेको थियो ।
टिप्पणीहरू