धवल समशेरको मेडिकल रिपोर्ट माग्दै प्रहरी
स्वास्थ्य समस्या देखाउँदै उपचारका लागि हाजिर जमानीमा प्रहरी हिरासतबाट छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री तथा सांसद धवलसमशेर राणा भारतबाट फर्किएलगत्तै विरोध सभामा उपस्थित भएका छन् । अस्ति मध्यराति १ बजे मुम्बईबाट नेपाल वायुसेवाको उडानमा काठमाडौं फर्केका राणा हिजो दिउँसो राप्रपा नेपालले रत्नपार्कमा आयोजना गरेको विरोध कार्यक्रममा पुगेका हुन् ।
तीनकुने घटना प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलसमशेर राणा पक्राउ परेका हुन् । संगठित अपराध र राज्यविरुद्धको कसुरमा पक्राउ परेका उनीहरुले २४ दिनसम्म हिरासतभित्र सँगै खाए सुतेपछि महामन्त्री राणा हाजिर जमानीमा रिहा भए भने मिश्र अझै हिरासतमा छन् । प्रहरीले राणाको उहाँको स्वास्थ्य समस्या (क्यान्सर)लाई लक्षित गरेर चिकित्सकहरुले सिफारिस गरेपछि हाजिर जमानीमा छुटेका हुन् ।
विरोध कार्यक्रममा सहभागी भएपछि प्रहरीले भारतमा गरिएको पछिल्लो उपचारको मेडिकल रिपोर्ट बोकेर बयानका लागि बोलाउने तयारी गरेको छ । ‘उहाँको अवस्था कस्तो छ, मेडिकल रिपोर्ट आएपछि थाहा हुन्छ, तर अहिलेसम्म उहाँले बुझाउनुभएको छैन’, प्रहरी स्रोत भन्छ, ‘जिल्ला सरकारी वकीलको कार्यालयले खबर गरेपछि उहाँलाई बोलाउछौँ, अहिले पनि उहाँको गतिविधिलाई हामीले निगरानीमै राखेका छौँ ।’
टिप्पणीहरू