शिक्षामन्त्री प्रतिक्षारत, आन्दोलनकारीलाई फर्काउन प्रधानमन्त्री निर्णायक

शिक्षामन्त्री प्रतिक्षारत, आन्दोलनकारीलाई फर्काउन प्रधानमन्त्री निर्णायक

आन्दोलनरत शिक्षकहरुलाई विद्यालयमा फर्काउन सरकारले सात बुँदे सहमतिको तयारी गरेको छ । गएरातिको वार्तापश्चात शिक्षामन्त्री रघुजी पन्तले आजै साँझसम्म अर्को वार्ताको तयारी गर्नुभएको छ । 

स्रोतका अनुसार मन्त्री पन्त शिक्षक प्रतिनिधिहरुलाई मन्त्रालयमै कुरेर बस्नुभएको छ । ‘उहाँ (मन्त्री) को एक दुई वटा बैठक पनि थियो, तर शिक्षकसँगको वार्तालाई प्राथमिकता दिएर कतै जानुभएको छैन’, स्रोत भन्छ, ‘शिक्षकहरु पनि केहीबेरमा आउँदै हुनुहुन्छ भन्ने जानकारी आएको छ, मन्त्रीज्यू कार्यकक्षमै पर्खेर बस्नुभएको छ ।’

नेपाल शिक्षक महासंघका प्रतिनिधिले पनि आजको आन्दोलनको समीक्षापछि सिंहदबार जान लागेको बताएका छन् । राति अधिकांश विषयमा सहमति जुटेको, तर बालविकास र अद्यावधिक बढुवाको विषयमा सहमति गर्न बाँकी रहेको दाबी छ । ‘राति नभ्याएर हो, बाँकी विषयमा आजको वार्ताबाट टुंगिन्छ’, स्रोतले भन्यो ।  

उता निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईको सरकारको नेतृत्व (प्रधानमन्त्री) ले चाहेमा शिक्षकहरुलाई तत्काल घर फर्काउन सकिने धारणा बाहिर आएको छ । हिजो संघीय संसद अन्तर्गतको शिक्षा समिति सदस्य चयन भएपछि उपसमितिले विधेयकको कामलाई तीब्रता दिए पनि केही बुँदामा अन्यौल कायम रहेको भनाइ छ । प्रतिक्रियाको निम्ति जनआस्थाले सम्पर्क गर्दा टेम्पो यात्रा रहेकी भट्टराईले संक्षेपमा भन्नुभयो, ‘उपसमिति दिनरात खटेको छ । तर केही बुँदामा नेतृत्वले नै निर्णायक भूमिका खेल्नुपर्ने देखिन्छ ।’

टिप्पणीहरू