पत्रकारिता पढाउन ढंग पनि चाहिछ गुरु
केही दिनअघि बल्खुस्थित त्रिविअन्तर्गत पत्रकारिता केन्द्रीय विभागको क्यामेरा भवनमा एमए चौथो सेमेष्टरको बिदाई कार्यक्रम आयोजना भएको थियो । विद्यार्थीले प्रस्तुति दिने विषयलाई लिएर कविता तामाङमाथि अभद्र व्यवहार भयो । विभागीय प्रमुख कुन्दन अर्यालले झैंझगडा मिलाउने प्रयास गर्नुको सट्टा प्रहरी डाकेर कालिमाटी प्रहरी बृत्तमा पुर्याउने काम गरे । कविताले अन्तिम विकल्पस्वरुप प्रहरीमा निवेदन दिइन् । दुई पक्षबीच प्रहरी चौकीमै मिलापत्र भयो । तर अहिले आएर कविताले राजनीति गरेको आरोप लगाइएको छ । यसप्रति उनले आपत्ति जनाएकी छन् र आवश्यक कारबाही बढाउनेमा दृढ छिन् ।
विभागीय प्रमुख अर्याल यसअघि केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला प्रेस सल्लाहकार थिए । पछि तत्कालीन राष्ट्रपति विद्या भण्डारीमार्फत् त्रिवि पत्रकारिता विभागको प्रमुख नियुक्त भए । उनको कुरा नमान्नेहरूलाई विभागबाट सिफारिस पत्रसमेत बनाइदिँदैनन् । उत्तरपुस्तिका परीक्षण गर्न त्रिवि गोप्य शाखामा केन्द्रीय विभागको सिफारिस पत्र अनिवार्य पेश गर्नुपर्ने हुन्छ । विभिन्न सम्बन्धन प्राप्त क्याम्पसमा पत्रकारिता विषय पढाउने उपप्राध्यापकहरूले आफू कार्यरत क्याम्पसबाट पत्र लिएर आए पनि कुन्दन अर्यालले सिफारिस नबनाइदिने गरेको सूचना आफूलाई प्राप्त भएको एक जना पूर्वविभागीय प्रमुखले बताए । उनले भने, ‘यो त विभाग सञ्चालन गर्न ढंग नपुगेको प्रमाण पनि हो ।’
टिप्पणीहरू