शिक्षकमाथि विद्यार्थीद्वारा खुँडा प्रहार

दाङमा एक जना विद्यार्थीले आफ्नै शिक्षकलाई खुँडा हानेका छन् । तुलसीपुर उपमहानगरपालिका-६ स्थित हिमाल बोर्डिङ स्कुलका विद्यार्थी सुरेश सुनारले शिक्षक विशेष श्रेष्ठमाथि खुँडा प्रहार गरेका हुन् ।
प्रहरीका अनुसार घटना अस्ति शुक्रबार बिहान १० बजेतिरको हो । सुरेशले शिक्षक श्रेष्ठलाई खुँडा हानेर फरार भएको र हिजो साँझ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्रबाहदुर शाहले जानकारी दिए ।
उनका अनुसार सुरेशले प्रतिसोध साँध्न शिक्षकमाथि आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
‘दुई-तीन महिनाअघि शिक्षकले विद्यार्थी (सुरेश)लाई हानेका रहेछन्, त्यतिबेला साथीहरुकै अगाडि कुटाइ खाएपछि ती विद्यार्थीले ह्युमिलेट महशुस गरेका रहेछन्’, डिएसपी शाहले जनआस्थासँग भने, ‘त्यही इगोको कारण आफ्नै शिक्षकमाथि आक्रमणमा उत्रिए, हिजो साँझ नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका छौँ ।’
खुँडा आक्रमणबाट शिक्षक श्रेष्ठको दुवै पाखुरा र कुममा गम्भीर चोट लागेको बताइएकाे छ । डिएसपी शाहका अनुसार ती विद्यार्थी कक्षा १२ मा अध्ययनरत रहेको र आजदेखि सुरु भएको परिक्षा पनि छुटेको छ ।
कतिपय कैदीले कारागारभित्रैबाट परीक्षा दिइरहे पनि सुरेशले भने हिरासतमा रहेकाले जाँच दिन नपाएका हुन् ।
‘परीक्षा बोर्डले दुई चार दिनमात्रै हिरासत बस्नुपर्नेहरुले अर्को वर्ष दिन्छन् भन्ने निर्णय गरेको छ, कारागार नै चलान भएकाहरुलाई चाहिँ भित्रैबाट परीक्षा दिने व्यवस्था गरिएको हो’, डिएसपी शाहले थपे ।
टिप्पणीहरू