विधेयक पारित भए प्रहरी अधिकृतहरुको बढुवामा उथलपुथल
अपराधका नयाँ आयामहरु थपिएको सन्दर्भमा अनुसन्धानको दायरालाई वैज्ञानिक ढंगले विस्तार गर्नुपर्नेमा गृहमन्त्री रमेश लेखकले जोड दिनुभएको छ । नेपाल प्रहरी स्टाफ कोर्सको उद्घाटन गर्दै उहाँले अपराध अनुसन्धानको दायरा फराकिलो पार्दै समयानुकूल बनाउन प्रहरीलाई निर्देशन दिनुभएको छ ।
नेपाल प्रहरीले गरिरहेको वर्तमान अपराध अनुसन्धानको प्रक्रिया पर्याप्त नभएको उहाँको ठहर छ । आफ्नै अनुभवसमेत सुनाउँदै गृहमन्त्रीले भन्नुभयो, ‘आजभन्दा २५—३० वर्ष पहिला म वकालत पनि गर्दथेँ । सो क्रममा अपराधिक मुद्दाहरुमा पनि धेरैमा वहस–पैरवी गरेको छु । त्यो बेलाको अनुसन्धान र आजको अनुसन्धानमा मैले धेरै फरक पाएको छु । त्यो बेलामा प्रहरीको अनुसन्धानमा धेरै ल्याप्सेसहरु हुने, अनुसन्धानमा मात्रै होइन प्रसिक्युसनमा पनि तमाम ल्याप्सेसहरु हुने अनि कहिलेकाहीँ डिफेन्स लयर्सका लागि त्यो अनुसन्धान त प्याराडाइज अफ लयर्स हो नि । तर अहिले त्यस्ता कमी कमजोरी कम हुँदै गएका छन् । तर अझ राम्रो गर्नुछ, यत्तिले पुगेन । यत्तिले पुगेको छैन । किनभने नयाँनयाँ कुराहरु आइरहेका छन् । नयाँ विषयहरु प्रवेश गरिरहेका छन् ।’
दुई दशकअघिको तुलनामा अहिले धेरै राम्रो भएपनि पछिल्लो समय अपराधका घटनाहरु नयाँ ढंगले आएकाले अनुसन्धानमा पनि नयाँ शैली र प्रविधिको प्रयोग बढाउनुपर्ने सुझाव गृहमन्त्रीको छ । नेपाल प्रहरी कानून कार्यान्वयनको महत्वपूर्ण माध्यम भएकाले समयानुसार अघि बढ्न सक्नुपर्नेमा उहाँको जोड छ ।
मन्त्रीका अनुसार सुरक्षामा देखिएका चुनौतीलाई सम्बोधन गर्न प्रहरी संगठन थप परिष्कृत हुनुपर्छ । समाज रुपान्तरण र प्रगतिको दिशामा अघि बढिरहेको भएपनि अपराधिक क्रियाकलापको संख्यासमेत बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न नयाँ तौर तरिकाहरु सिक्न जरुरी रहेको कार्यक्रममा बताइयो ।
सूचना प्रविधिको विकासले अपराध अनुसन्धानमा अवसर र सम्भवनासँगै चुनौती र जोखिमसमेत बढाएकोतर्फ प्रहरी सचेत हुनुपर्ने उहाँको सुझाव छ । ‘डिजिटलाइजेसनको युग छ । सबैले हातमा मोबाइल बोकेको छ । त्यही मोबाइलमा संसार बुझ्न सकिन्छ । त्यो प्रगतिको ठाउँमा हामी पुगेका छौँ । तर, त्यही मोबाइलबाटै तमाम अपराध भइरहेको स्थिति पनि छ’, गृहमन्त्रीले भने, ‘दिनानुदिनको परिवर्तनबाट उत्पन्न हुने चुनौतिलाई ठीक ढंगले सम्बोधन गर्नका लागि पनि यस्ता कोर्षहरु आवश्यक हुनेछन् । अनुसन्धानको क्षेत्रमा पनि धेरै कुरा हामीले गर्नुछ । धेरै राम्रा कुराहरु हुँदै गएको छ ।’
नेपाल प्रहरीमा पहिलो पटक लिडरसिप एण्ड स्टाफ कोर्स शुरु भएको हो । जसका लागि ३५ जना सहभागी गराउने भनिए पनि प्रवेश परीक्षामा १७ जना डिएसपीमात्रै उतीर्ण भए । २०७० सालमा प्रहरी निरीक्षकमा (इन्स्पेक्टर) भर्ना भएकाहरूको टोलीबाट शुरुवात गरिएको स्टाफ कोर्स अध्ययन गर्नेहरूले तीन सेमेस्टरमा परीक्षा दिनुपर्नेछ । कुनै सेमेस्टरमा अनुतीर्ण भए जुनमा हो, त्यसको जाँच अर्को वर्ष फेरि दिन पाइनेछ ।
प्रहरीमा पहिलोपटक शुरु भएको स्टाफ कोर्सले बढुवालाई व्यवस्थित बनाउने विश्वास गरिएको छ । प्रस्तावित प्रहरी विधेयक संसदबाट पारित भई कार्यान्वयनमा आए स्टाफ कलेज पास नगर्नेहरू डिआईजी बन्न पाउने छैनन् । एसपी र एसएसपीमा पनि स्टाफ कलेज गरेका र नगरेकाका लागि छुट्टै कोटा तोकिएको छ ।
टिप्पणीहरू