प्रचण्डसँगको भेटमा प्रधानमन्त्रीको आसन परिवर्तन
प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्तामा प्रधानमन्त्रीको आसन विगतमा भन्दा फेरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको भेटवार्तामा उहाँले आसन फेर्नुभएको देखिन्छ ।
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्तिको विषयमा छलफल गर्न प्रधानमन्त्री ओली र प्रचण्ड जुट्नु भएको हो । भेटमा माओवादी उपमहासचिव वर्षमान पुन र प्रधानमन्त्रीका संक्रमणकालीन न्यायसम्बन्धी विज्ञ सल्लाहकार तथा एमाले नेता अग्नि खरेल पनि सहभागी हुनुभएको छ । प्रधानमन्त्री आफ्नो आसनलाई अगाडि ल्याएर प्रचण्ड बस्नुभएको सोफासँगै बस्नुभएको हो ।
भेटमा प्रधानमन्त्री ओलीले आसन परिवर्तन गर्नुभएको विषयलाई सत्ता र प्रतिपक्षबीच मनमुटाव चर्किएको समयमा हार्दिकतापूर्ण सम्बन्धको सन्देश प्रवाहका लागि उहाँ कुर्सी सारेर प्रचण्डको नजिकै बस्नुभएको कतिपयको अनुमान छ । सार्वजनिक फोटोमा ओली सँधैको भन्दा फरक कुर्सीमा त्यो पनि नजिकै बसेको देखिन्छ ।
सत्ता साझेदार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भने उहाँले छेउमै आफ्नैजस्तो कुर्सीमा राख्ने गर्नुभएको छ । टीआरसी आयोगमा पदाधिकारी छान्न पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सर्च कमिटीले खुला आवेदन माग गरेकोमा सयभन्दा बढी निवेदन परेको छ । सत्ता गठबन्धन दलबीच भागबण्डा हुन लागेको चर्चा चलिरहेको पृष्ठभूमिमा प्रचण्ड पारदर्शी नियुक्तिको मागसहित प्रधानमन्त्रीलाई भेट्न पुगेको स्रोतले जानकारी दियो ।
टिप्पणीहरू