श्रीमती मार्न खटाइएका बाटै मारिए श्रीमान !

श्रीमती मार्न खटाइएका बाटै मारिए श्रीमान !

- शंकर श्रेष्ठ 

चैत २४ गतेदेखि गाउँघरमा नदेखिएका धादिङको गजुरी गाउँपालिका-२ डुँडेठाँटीका चुडामणि कँडेल ३ दिनपछि घरभित्रैको शौचालयमा मृत भेटिए । 

चुडामणीले सम्बन्ध वर्षौदेखि राम्रो नभएको कारण श्रीमती सुस्मिता सिलवालको हत्या गर्ने योजनाअनुरुप आफ्नै घर जग्गा भाडामा लिएर बस्दै आएका मकवानपुर जिल्लाको राक्सिराङ–९ का ३६ वर्षीय अक्कलबहादुर प्रजालाई चार लाख रुपैँया बुझाएको र उक्त योजना सफल भएपछ प्रजाकै समूहले चुडामणीको हत्या गरेको रहस्य पत्ता लागेको छ । 

जिल्ला प्रहरी कार्यालय धादिङका एसपी दिपेन्द्र शाहीका अनुसार- सुस्मिता करिब १४ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा इजरायल बसिन् । चुडामणि डुँडेठाँटीकै घरमा बस्थे । बैदेशिक रोजगारीलाई विश्राम लगाएर सुस्मिता पाँच वर्षअघि घर फर्किइन्  । नेपाल फर्किएपछि पनि सम्बन्धमा सुधार आएन । छोरा क्यानाडामा,सुस्मिता छोरीसहित काठमाडौंको घरमा बस्न थालिन् , चुडामणि डुँडेठाँटीकै घरमा । त्यतिबेलासम्म बिदेशमा कमाएको पैसाले सुस्मिताले काठमाण्डौमा घर किनिसकेकी रहिछन् । सुस्मिता कहिलेकाहीं मात्रै डुँडेठाँटी आउँथिन् । 

२०८१ असोजमा मकवानपुरको राक्सिराङ गाउँपालिका–९ का ३६ वर्षीय अक्कलबहादुर प्रजा चुडामणिको घर तथा बारी वार्षिक एक लाख १५ हजार भाडामा लिएर बस्न आइपुगे । २०८१ मंसिरदेखि अक्कलबहादुरले श्रीमतीलाई पनि त्यहीँ ल्याए । अक्कलबहादुरको परिवार र चुडामणिबीचको सम्बन्ध निकै राम्रो बन्यो । एकआपसमा दुःख सुखका कुराकानी हुन थाले ।

"ट्वाइलेटभित्र थुनेर चुडामणिको मोबाइल लिई मलेखुतर्फ भागे । मलेखु पुगेपछि मृतक चुडामणिको मोबाइल फुटाएर फालिदिए र पूर्व जाने बस चढेर मनहरी पुगे । " 

२०८१ पुसमा चुडामणिले श्रीमती सुस्मितालाई मारिदिने योजना बनाए र अक्कलबहादुरलाई चार लाख रुपैयाँमा ड्युटी खटाए । योजना कार्यान्वयन गराउन अक्कलबहादुरले भान्जा भनी बोलाउने मकवानपुर राक्सिराङ–९ कै पृथलाल थिङसङ्ग सहयोग मागे । पृथलालले पनि ज्वाई पर्ने राक्सिराङ–९ कै सञ्चलाल मुक्तानलाई सहभागी गराए । यी तीन जना र चुडामणिको भेट भयो । सबैभन्दा पहिले पृथलालले आउजाउ खर्च १६ हजार छ सय रुपैयाँ  लिए । 

अक्कलबहादुरसहितसमूहले २०८१ फागुनमा सुस्मिताको हत्या गर्न दुई पटकसम्म कोशिश गर्दा पनि सफल भएनन् । सुस्मिता २०८१ चैतमा काठमाडौबाट आएको बेला चुडामणिले अक्कलबहादुरलाई सम्झौताअनुसार बाँकी तीन लाख ८२ हजार अग्रिम भुक्तानी दिएर सुस्मिताको हत्या गर्न भने । यसपटक दुई पटक योजना बन्यो तर सफलता हात लागेन । 

फागुन र चैतमा गरी चार पटकसम्मको कोशिश सफल नभएपछि चुडामणिबाट  बुझाएको सबै रकम फिर्ता माग्नेसम्मको दबाव आउने क्रममा २०८१ चैत २४ गते बिहान अक्कलबहादुरले पृथलाल थिङ र सञ्चलाल मुक्तानसंग भेट गरे । चुडामणिले धेरै नै दबाब दिएपछि रिसाएका उनीहरूले चुडामणिलाई नै मारिदिने योजना बनाए । योजनाअनुरुप चुडामणिको घरमा पुगेका उनीहरुले घरको भुइँतल्लामा रहेको बाथरुमसहितको शौचालय हेर्ने बहानामा चुडामणिलाई लगे । 

शौचालय छेउ पुग्नेबित्तिकै सञ्चलाल मुक्तानले दुई हातले चुडामणिको घाँटी अँठ्याए,पृथलाल थिङले मुक्कैमुक्काले कन्चटमा प्रहार गरे । चुडामणि ढलेपछि घाँटीमा डोरीले कसेर पुनः लात्ती र कोदालोले समेत हानेर हत्या गरे । त्यस समय अक्कलबहादुर प्रजा भने घर बाहिर बसेर निगरानी गरिरहेका थिए । उनी जिउँदै रहला जसरी भएपनि मारेर छोड्नै भन्दै पृथलाल र सञ्चलाललाई आदेश दिइरहेका थिए । चुडामणि जिउँदो नरहेको यकिन भएपछि शव ट्वाइलेटभित्र थुनेर चुडामणिको मोबाइल लिई मलेखुतर्फ भागे । मलेखु पुगेपछि मृतक चुडामणिको मोबाइल फुटाएर फालिदिए र पूर्व जाने बस चढेर मनहरी पुगे । 

तालिमप्राप्त कुकुरसहित बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको प्राविधिक टोली,धादिङ अस्पतालबाट चिकित्सकसहित सुक्ष्म अनुसन्धान गरिरहेको धादिङ प्रहरीले २०८२ बैशाख ३ गते घटनाका योजनाकार अक्कलबहादुर प्रजालाई डुँडेठाँटीबाटै पक्राउ गर्यो । त्यसपछि पृथलाल र सञ्चलाललाई बैशाख १६ गते मकवानपुरको मनहरी गाउँपालिका–७ मनहरीबाट समात्यो । 

चुडामणिले बुझाएको तीन लाख ८२ हजार रुपैयाँ चैत तेश्रो साता नै उनीहरुले भागबण्डा गरी लिइरहेको र अक्कलबहादुरले लुकाई राखेको अवस्थामा एक लाख भेटिएको छ । मृतक चुडामणिबाट लिएको पैसाले किनेको एकै किसिमको कपडा र जुत्ता पनि प्रहरीले बरामद गरेको छ ।

टिप्पणीहरू